शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डले भने : केपी घेरामा परिसके, हामी बलियो बन्दैछौँ

बुधबार, २३ असार २०७८, १८ : ००
बुधबार, २३ असार २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका पक्षमा दृढ रहेर नेताहरूलाई आन्दोलित गराइराख्न युवा विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।

बुधबार पाँच दलीय गठबन्धन निकट विद्यार्थी सङ्गठनका अध्यक्षहरूसँगको ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्डले विद्यार्थीहरूले परिस्थितिको सही मूल्याङ्कन गर्दा सही सूचना सम्प्रेषण हुने समेत बताए । सो अवसरमा प्रचण्डले केपी शर्मा ओली र आफूहरू कुनै पनि कोणबाट उस्तै नभएको स्पष्ट पार्दै विगतदेखिका नेपाली इतिहासका तथ्य र प्रमाणहरूले प्रस्ट गरेको बताए ।

‘सम्पूर्ण रूपमा आत्मसमर्पण गर्ने केपी शर्मा ओलीका विरुद्ध विद्रोह गर्ने हामी र उनी उस्तै हुनै सक्दैन । २०१७ सालतिर केशरजंग रायमाझीले सामन्तका पक्षमा लागे भने पुष्पलाल जनताको अधिकारका लागि लडे । दुबैलाई उस्तै भन्ने त ?’, प्रचण्डको प्रश्न थियो । उनले विद्यार्थीको प्रतिगमन विरोधी आन्दोलनमा आफूहरूको पूर्ण समर्थन रहेको भन्दै नेपाली जनतालाई आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न नदिने डिजाइनको खलपात्र केपी ओली बनाइएको बताए ।

उनले ओली चारैतिर घेरामा परिसकेको भन्दै आफूहरू बलियो बन्दै गएको स्पष्ट पारे ।

प्रचण्डसँगको भेटमा विद्यार्थी नेताहरूले केपी ओलीको कुशासनको ठाउँमा सुशासनको अपेक्षा गरेको बताएका थिए । त्यसका लागि विद्यार्थीहरुले गर्ने अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भइदिन अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।

जनतामा छाएको निराशालाई आशामा परिणत गर्न नेताहरूले सार्वजनिक प्रतिबद्धता जनाउनुपर्ने विद्यार्थीहरूको आग्रह थियो ।

विद्यार्थी नेताहरूले प्रचण्डलाई बुझाएको ज्ञापन पत्रमा नेपालको संविधान को धारा ३१,३३ र ३५ ले क्रमशः शिक्षा, रोजगार र स्वास्थ्यको हकलाई मौलिक हकका रूपमा किटानी गरिएको जनताको संविधान प्रदत्त मौलिक हक कार्यान्वयन गर्नुको सट्टा ओली सरकार उल्टो दलाल, कमिशनखोर र माफियाहरूको चङ्गुलमा डुबेर अधिकार कुण्ठित पार्न उद्धत रहेको उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप