शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आइपुग्यो आठ लाख मात्रा ‘भेरोसेल’ खोप

शुक्रबार, २५ असार २०७८, १२ : ५०
शुक्रबार, २५ असार २०७८

कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ ।  चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले सरकारले खरिद गरेको खोप आज बिहान आइपुगेको जानकारी दिए । उनले पहिलो चरणमा आज आठ लाख मात्रा अर्थात् १३ हजार किलो खोप आइपुगेको जानकारी दिए । सरकार र खोप कम्पनीबीच नन डिस्क्लोजर सम्झौताअनुसार कति परिमाणमा खोप नेपाल ल्याउने भन्ने कुरा खुलाइएको छैन ।  

अब आगामी साउन ८ गतेसम्म तीन उडानमार्फत नियमितरुपमा खोप आउन थालेको हो । यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते र साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ । उनले अहिले टेकुस्थित चिस्यान केन्द्रमा खोप भण्डारण गरिरहेको जानकारी दिए । मन्त्रालयले खोप लगाउने कार्यलाई विशेष प्राथमिकतामा राखेपछि यो खोप देशभरि नै पठाउने तयारी गरेको छ । 

खोप ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ । कूल जनसङ्ख्याको दुई करोड २० लाखलाई खोप लगाउने सरकारको लक्ष्य छ । नेपालमा अहिलेसम्म २६ लाख ११ हजार ८०७ लाई पहिलो मात्रा र नौ लाख ३३ हजार ८६८ लाई दोस्रो मात्राको खोप लगाइसकिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप