बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्षतिपूर्ति दिन विपत्बाट क्षति बेहोरेका किसानहरूको लगत सङ्कलन गरिदै

शुक्रबार, २५ असार २०७८, १४ : २७
शुक्रबार, २५ असार २०७८

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्षको मनसुनजन्य विपत्बाट क्षति बेहोरेका किसानहरूलाई आगामी आर्थिक वर्षमा क्षतिपूर्ति दिने गरी लगत सङ्कलन गरिरहेको बताएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले यस वर्षको मनसुनका कारण आएको बाढी तथा पहिरोका कारण कृषकहरूलाई परेको क्षतिको सम्बन्धमा मन्त्रालयले लगत सङ्कलन गरिरहेको बताए । मन्त्रालयले कृषि विभाग, पशु सेवा विभाग लगायत प्रदेश सरकारमार्फत् के–कति क्षति भएको छ त्यसको तथ्याङ्क सङ्कलन गरिरहेको उनले जानकारी दिए । एक हप्ता भित्र लगत सङ्कलन भइसक्ने र असार २० गते सम्मको प्रारम्भिक रिपोर्ट तयार पारेपछि किसानहरूलाई आगामी आर्थिक वर्षमा क्षतिपूर्ति मार्फत् सम्बोधन गरिने उनले बताए । उनले भने – ‘एक हप्ताभित्र डाटा सबै ठाउँबाट सङ्कलन हुन्छ । यो असारको २० गते सम्मको प्रारम्भिक रिपोर्ट तयार गर्न लागिरहेका छौँ । रिपोर्ट आइसकेपछि किसानलाई अर्को वर्षको कार्यक्रममा कसरी सम्बोधन गर्न सकिन्छ ? खास गरी बिउ, मल, प्रविधिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा हामी छलफललाई व्यापकता बनाइरहेका छौँ । सङ्घीय सरकारबाट हाम्रो दायित्व मुख्य रूपमा प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्ने हो । त्यो समन्वय हाम्रो शाखा, महाशाखाहरूले गरिरहनुभएको छ । यो क्षतिबाट मुक्त हुन र अब बढी क्षति नहोस् भन्नका लागि सर्तकताका लागि म्यासेजहरू एफएम मार्फत्, एप्सहरुमार्फत् दिइरहेका छौँ । आगामी आर्थिक वर्षको कार्यक्रममा हामीले केही पैसाहरू क्षतिपूर्तिमा दिने र केही बजेटको व्यवस्था पनि पहिलो पटक गरेका छौँ, सङ्घीय मन्त्रालयको बजेटमा । भौगोलिक बनोटको आधारमा, बालीको आधारमा, नोक्सानीको आधारमा जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भएको समितिको सिफारिसको आधारमा यसलाई अगाडी बढाउँछौँ ।’

सचिव कार्कीले यस वर्ष औसत रूपमा धान रोप्न ढिलाइ भइरहेको बताए । हालसम्म ५६ प्रतिशत धान रोपाई भएको उनले जानकारी दिए । यस वर्ष १५ लाख हेक्टरमा ६० लाख मेट्रिक टन धान फलाउने लक्ष्य लिइएको उनले बताए । निरन्तर भेल बाढी आइरहेमा सरकारको लक्ष्य प्राप्तिमा समस्या पैदा हुने उनको भनाइ छ । बाढी, पहिरोबाट किसानलाई क्षति हुन नदिनका लागि मन्त्रालयको ध्यान केन्द्रित रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप