शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा कोरोना : २१–३० वर्ष उमेर समूह सबैभन्दा बढी प्रभावित

२९ हजार संक्रमितमध्ये सुर्खेतका मात्रै १० हजार ८७२ जना
आइतबार, २७ असार २०७८, १२ : ३५
आइतबार, २७ असार २०७८

सुर्खेत । गत वैशाख महिनामा कोरोनाभाइरस (कोभिड–१९)को दोस्रो लहर सुरु भएसँगै कर्णालीमा दैनिक सयौँको संख्यामा कोरोनाका बिरामी भेटिने गरेका थिए । यो क्रम वैशाखदेखि र जेठ महिनाको दोस्रो सातासम्म कायमै रह्यो ।

यो अवधिमा दैनिक सरदर पाँच सयको हाराहारीमा कोरोना संक्रमित भेटिने गरेका थिए भने दिनमा बढीमा १० जनाको कोरोनाबाट मृत्यु भएको थियो । सुरुमा प्रदेश राजधानी सुर्खेतमा कोरोना संक्रमणको दर उकालो लाग्न थालेपछि वैशाख १४ गतेदेखि निषेधाज्ञा जारी गरियो । विस्तारै अन्य जिल्लामा समेत कोरोना फैलियो ।

वैशाख २५ सम्ममा प्रदेशका १० वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागु गरिसकेका थिए । त्यस बीचमा अस्पतालमा बिरामीको चाप निकै बढेपछि अस्पतालहरुले भर्ना लिनसमेत छाडेका थिए । प्रदेश अस्पताल सुर्खेतमा कोरोनाबाट एकैदिन १० जनाको मृत्यु भएको थियो ।

बिरामीको चाप बढेसँगै अक्सिजन अभाव भयो । निषेधाज्ञा र रोकथाम तथा प्रतिकार्यपश्चात जेठ तेस्रो सातादेखि कोरोनाको संक्रमण दर ओरालो लाग्यो । संक्रमितहरु डिस्चार्ज हुने क्रम बढ्यो । असार १ गतेदेखि संक्रमण दर ओरालो लाग्न थाल्यो । तर, असार महिना लागेसँगै कृषकहरु खेतीपातीका काममा व्यस्त भए । आवश्यक स्वास्थ्यका मापदण्ड नअपनाइँदा केही दिनदेखि संक्रमण दर पुनः बढ्न थालेको छ ।

असार १५ सम्म बिरामीको संख्या न्युन रहेको प्रदेश अस्पतालमा केही दिनदेखि बिरामीको चाप बढ्न थालेको छ । शून्यमा झरेको मृत्युदर पछिल्ला दिनमा फेरि माथि उठ्न थालेको छ ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार शनिबार प्रदेशमा एकजनाको मृत्यु भएको छ भने ३९ जनामा कोरोना पुष्टि भएको छ । सोमबार, मंगलबार, बुधबार, बिहीबार र शुक्रबारको तथ्याङ्क पनि विगतभन्दा केही बढी देखिन्छ । केही समय अघिसम्म न्युन संक्रमणदर रहेको सुर्खेतमा हिजो आज संक्रमण बढेको देखिन्छ ।

जनस्वास्थ्यविद्हरुले कोरोनाको जोखिम अझै कायम रहेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिरहेका छन् । कर्णालीमा पहिलो र दोस्रो लहरको कोरोना संक्रमणबाट युवा समूह बढी प्रभावित पाइन्छ भने सबैभन्दा बढी सुर्खेत जिल्ला प्रभावित बनेको छ ।

२१–३० वर्ष उमेर समूहमा संक्रमण बढी

झण्डै साढे १७ लाख जनसंख्या रहेको कर्णालीमा २८ हजार ९४१ जना कोरोनाभाइरसको संक्रमणबाट प्रभावित बनेका छन्, जसमा युवा उमेर समूहका व्यक्तिमा कोरोना संक्रमण धेरै देखिएको स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । त्यसमा पनि २१ देखि ३० वर्ष उमेर समूहका ३६ प्रतिशत युवा प्रभावित  भएका छन् ।  त्यसपछि ३०–४० वर्ष उमेर समूहका २५ प्रतिशत रहेका छन् । यस्तै ०–१० वर्ष उमेर समूहका ४ प्रतिशत, १०–२० वर्ष उमेर समूहका १४ प्रतिशत छन् ।

निर्देशनालयका अनुसार ४१–५० वर्ष उमेर समूहका १२ प्रतिशत, ६१–६९ वर्ष उमेर समूहका ६ प्रतिशत र त्योभन्दा माथिका सबैभन्दा कम ३ प्रतिशत मानिस संक्रमणबाट प्रभावित भएका छन् ।

कोरोनाको पहिलो लहरमा वृद्धवृद्धामा बढी प्रभाव देखिन्छ भनिएको थियो । तर, दोस्रो लहरमा सबै उमेर समूहका व्यक्तिमा कोरोना संक्रमण देखिएको जनस्वास्थ्यविद्हरुले बताएका छन् । यस्तै लैङ्गिक आधारमा हेर्ने हो भने महिलाको तुलनामा पुरुष बढी संक्रमित छन् । कुल संक्रमितमध्ये ३६ प्रतिशत महिला छन् भने ५४ प्रतिशत पुरुष छन् । कुल संक्रमितमध्ये २६ हजार ५९५ जनाले कोरोनालाई परास्त पार्न सकेका छन् भने ३३९ जनाले ज्यान गुमाएका छन् । यस्तै ९२५ जना अहिले प्रदेशका विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

प्रदेशमा कोरोनाबाट सुर्खेत बढी प्रभावित 

१० जिल्लामध्ये कोरोना भाइरसबाट सुर्खेत बढी प्रभावित भएको छ । अन्य जिल्लाको तुलनामा ८० प्रतिशत बढी कोरोना संक्रमित सुर्खेतका छन् । झण्डै २९ हजार संक्रमितमध्ये सुर्खेतका मात्रै १० हजार ८७२ जना कोरोनाबाट प्रभावित बनेका छन् ।

यस्तै, दोस्रोमा दैलेख २ हजार ८६४, सल्यानमा १६३४ छन् । त्यसपछि चौथो नम्बरमा जुम्ला, पाँचौँमा रुकुमपश्चिम छन् भने त्यसपछि क्रमशः जाजरकोट, हुम्ला, डोल्पा र मुगु छन् । यस्तै, अन्यमा ९२६ जना छन् ।

३३९ जनाले गुमाए कोरोनाबाट ज्यान

प्रदेशमा कुल संक्रमितमध्ये ३३९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । ज्यान गुमाउने जिल्लामध्ये अग्र स्थानमा सुर्खेत नै छ । स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काका अनुसार सुर्खेतमा १९९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने सबैभन्दा कम मुगुमा ३ जना छन् । यसपछि क्रमशः सल्यानमा ५१, रुकुम पश्चिममा ३१, दैलेखमा २३, जुम्लामा ११ जनाको मृत्यु भएको छ । यस्तै जाजरकोटमा पनि ३ जनाले ज्यान गुमाएका छन् भने कालिकोट र डोल्पामा ५÷५ जनाले ज्यान गुमाएका छन् । हुम्लामा र अन्य गरी ४÷४ जनाले ज्यान गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप