बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव

आइतबार, २७ असार २०७८, १६ : ५४
आइतबार, २७ असार २०७८

जुम्लाको हिमा गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि चिकित्सकविहीन छ । चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ ।  चार वर्षदेखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द भण्डारीले बताए । उनले भने, “२०७५ जेठ महिनादेखि डा.रत्नवीर सुनार अध्ययन बिदामा गएदेखि दरबन्दी रिक्त छ ।” स्वास्थ्य केन्द्रमा औषधि प्रयाप्त मात्रामा छ । आकस्मिक सेवा पनि २४ सै घण्टा प्रवाह हुने गरेको छ । स्वास्थ्य केन्द्रको उन्नति र प्रगतिका लागि सबै कर्मचारीको साथ सहयोग रहेको भण्डारीले बताए ।

सिनियर अनमी मेनुका देवकोटाले दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा प्रवाह नभएको बताइन् । गर्भपतन गराउने आएपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गर्ने गरिएको देवकोटाले जानकारी दिइन् ।
अघिल्लो वर्ष ८४ सुत्केरीले स्वास्थ्य संस्थाबाट सेवा लिएका छन् । यस वर्ष ७८ ले सेवा लिएका छन् । यहाँ एक दिनमा १५ देखि २५ को हाराहारीमा बिरामी सेवा लिन आउँछन् । सबैभन्दा बढी झाडापखाला, सामान्य रुघाखोकीका बिरामी छन् । अहिले प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा ११ कर्मचारी छन् । 

पूर्वाधार अभाव

हिमा– ६ महाबैपातर खोलामा रहेको स्वास्थ्य चौकीमा खानेपानीको अभाव रहेको छ । उक्त स्वास्थ्य चाकीमा बिजुली र इन्टरनेट सेवाको समेत अभाव छ । स्वास्थ्य चौकी इञ्चार्ज टेकबहादुर बुढाले दुर्गमका स्वास्थ्य चौकीमा पूर्वाधार अभावले सेवा दिन कठिनाइ हुने गरेको बताए ।

स्वास्थ्य चौकीमा ओपिडी सेवा, गर्भजाँच र बर्थिङ सेन्टरको सेवा दिइरहेका बुढाले जानकारी दिए । स्थानीयले पाउने सेवा सरल, सहज बनाइएको छ । यहाँ औषधि अभाव हुन दिइएको छैन । स्वास्थ्य चौकीमा पूर्वाधार अभावका कारण सोचेअनुसारको सेवा उपलब्ध गराउन सकिएको छैन ।    

विद्युत् नहुँदा सुत्केरी गराउने बेला मोबाइलको टर्च बालेर सेवा दिनुपर्ने अवस्था रहेको सिनियर अनमी जयलक्ष्मी रावतले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप