शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डको प्रतिक्रिया : न्यायाधीशलाई धन्यवाद, जनताले स्वागत गर्ने प्रक्रिया शुरु भइसकेको छ

सोमबार, २८ असार २०७८, १४ : ५५
सोमबार, २८ असार २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् । फैसलालाई आम नेपाली जनताले स्वागत गर्ने प्रक्रिया शुरु भइसकेको बताउँदै प्रचण्डले यसको कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

संसद् पुनर्स्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सर्वोच्च अदालतको निर्णय स्वागतयोग्य भएको भन्दै प्रचण्डले न्यायाधीशहरूलाई धन्यवाद समेत दिएका छन् ।

प्रचण्डले रातोपाटीसँग भने, ‘सर्वोच्च अदालतबाट फैसला आइ नै सकेको छ । दुनियाँले यसलाई स्वीकार्ने कुरा हुन्छ । आम नेपाली जनताले स्वागत गर्ने प्रक्रिया शुरु भइ नै सकेको छ । यदि फैसला कार्यान्वयन नगर्नेतिर गइयो भने जनताले उनीहरूलाई बढार्नेछन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो ऐतिहासिक अवसर पाएर पनि त्यसलाई सदुपयोग गर्न नसकेको प्रचण्डले बताए ।

अब शेरबहादुर देउवाको नेतृत्वमा बन्ने गठबन्धन सरकारले जनताको पक्षमा काम गर्ने प्रचण्डले विश्वास व्यक्त गरे । साथै अब देशमा वामपन्थीहरूको एकता र राष्ट्रिय एकतासमेत हुने उनले दाबी गरे ।

सर्वोच्चको फैसलाबारे प्रचण्डको प्रतिक्रिया उनकै शब्दमा–

यो निर्णय संविधानको मर्म र भावनाअनुसार नेपाली जनताको आवश्यकता, नेपालको लोकतन्त्र र राष्ट्रिय हित अनुसार आएको छ । म सर्वोच्च अदालतको यो फैसलालाई हार्दिक स्वागत भन्न चाहन्छु । र, प्रधानन्यायाधीश लगायत सबै न्यायाधीशहरूलाई पार्टीको तर्फबाट, मेरो तर्फबाट र विपक्षी गठबन्धनको तर्फबाट पनि हार्दिक बधाई र धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

हामी निकै अप्ठ्यारो परिस्थितिबाट गुज्रेको अवस्थामा संविधानवादको रक्षा, लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र राष्ट्रिय हितको रक्षामा सर्वोच्च अदालतको यो फैसलाले दूरगामी र ऐतिहासिक महत्त्व राख्छ भन्ने म ठान्छु ।

आम नेपाली जनता पटक–पटक संसद् विघटन र संविधानमाथिको प्रहारबाट आजित भएका थिए । भ्रष्टाचार र कुशासनबाट आजित भएका जनतालाई मुक्त गर्ने एउटा सुरुवात भएको छ भन्ने मैले ठानेको छु ।

अब देउवाजीको गठबन्धनको नेतृत्वको सरकारले जनभावना अनुसार काम गर्नेछ भनेर म विश्वास पनि व्यक्त गर्न चाहन्छु ।

सर्वोच्च अदालतबाट फैसला आइ नै सकेको छ । दुनियाँले यसलाई स्वीकार्ने कुरा हुन्छ । आम नेपाली जनताले स्वागत गर्ने प्रक्रिया शुरु भइ नै सकेको छ । यदि फैसला कार्यान्वयन नगर्नेतिर गइयो भने जनताले उनीहरूलाई बढार्नेछन् । त्यो असम्भव छ, त्यस्तो होला भन्ने मैले ठान्दिनँ । संविधानवाद र लोकतन्त्रको पक्षमा आएको फैसलालाई अवज्ञा गर्ने भयो भने तिनीहरू इतिहासमा झन् बढी तिरस्कृत हुन्छन् । म आशा गर्छु, त्यस्तो हुनेछैन ।

नेपालको इतिहासमा केपी ओलीलाई ठुलो अवसर प्राप्त भएको थियो । तर, आफ्नै गलत सोच, शैली र चरित्रका कारणले त्यो ऐतिहासिक अवसर ओलीले गुमाए । यो बडो विचित्रको कुरा नेपाली जनताले हेरेकै छन् । भोलि पनि यसको हिसाब त भइ नै राख्ला, अहिले मैले यो विषयमा धेरै भन्नु भन्दा पनि आजको जुन फैसला भएको छ, यो ऐतिहासिक छ भन्न चाहन्छु । राष्ट्र र जनताको पक्षमा छ । संविधान र लोकतन्त्रको पक्षमा छ । म फेरि एकचोटि प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई हार्दिक बधाई भन्न चाहन्छु ।

सर्वोच्चको यो फैसलापछि अब यसले वामपन्थीहरूको ध्रुवीकरणलाई पनि सहयोग गर्छ । यसले राष्ट्रिय एकता र ध्रुवीकरणलाई पनि सहयोग गर्छ । वाम–लोकतान्त्रिक शक्तिको ध्रुवीकरण र एकतालाई पनि यसले सहयोग गर्छ । त्यस कारण यो फैसलाले सबैतिर सकारात्मक सन्देश दिएको छ र यसले सबै सकारात्मक प्रवृत्ति र शक्तिहरूलाई एकताबद्ध भएर अगाडि जाने आधार प्रदान गरेको म ठान्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप