बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नीतिकथा : कपास

मङ्गलबार, २९ असार २०७८, १० : २६
मङ्गलबार, २९ असार २०७८

पाखाभरि कपासका बिरुवा लगाइएको थियो । कपासका ती बिरुवा फुलेर फक्रँदै थिए । तिनीहरूमध्ये एउटा सानो भर्खरै फक्रँदै गरेको कपास असाध्यै सुन्दर थियो । आफ्नो सुन्दरतामा मख्ख थियो । अत्यन्तै खुसी र गौरव महसुस गथ्र्याे । रातको शीतको थोपा बिहानीको उषासँगै तिनै कपासमाथि बर्सिंदा कपासमा नयाँ रौनक छाउँथ्यो । त्यसले कपास अझै सुन्दर देखिन्थ्यो ।

प्रकृतिको नियम पनि कति सारै निष्ठुरी रहेछ । कुनैकुनै वनस्पतिको आयु निकै छोटो हुन्छ । भर्खर मात्र फूलबाट बडो सङ्घर्ष गरी बोक्रालाई छिचोल्दै कपासका रूपमा जन्म लिएको थियो । त्यो सुन्दर कपास फक्रेको केही दिनमा किसानले टपक्क टिपेर मुठीभरी पैसा लिएर व्यापारीको हातमा बेचिदियो । व्यापारीले कारखानामा लगेर अर्को व्यापारीलाई बेच्यो । ती सुन्दर, सेता कपासलाई मेसिनभित्र राखियो । जब मेसिन चल्यो कपास पेलिए । कतै थिचिए, कतै लामो समयको सङ्घर्ष धेरैबेरको दुखाइको सामना गरेर कपास धागोमा रूपान्तरण भए । मेसिनबाट बाहिर निकालिए । त्यही धागोलाई फेरि अर्काे मेसिनमा राखियो । अब त्यो धागो पनि कपास राम्रो राम्रो कपडामा परिणत भए ।

मेसिन बाहिर निस्किए । यतिबेला भने कपास खुसी थिए । किनभने उनीहरू कपडाको माध्यमबाट व्यक्तिको लाज ढाक्न, न्यानोपन दिन घामपानीबाट जोगाउन सकिने वस्त्रका रूपमा रूपान्तरण थिए । आफू दुःख र पीडाको चपेटाबाट निस्केर अरूको काम लाग्ने उपयोगी वस्तु बन्न सकेकोमा कपासलाई गौरव लागेको थियो । केही बेरमै ती कपडा फेरि दर्जी कहाँ पुगे । दर्जीले काट्यो, च्यात्यो, टुक्रा टुक्रा पा¥यो । चरम दुखाइको सामना पुनः गर्नुप¥यो ती सुन्दर कपासलाई । टुक्रिए सिलाइए, क्षणिक खुसी तुरुन्तै आसुँमा, दुखाइमा मिसिन पुग्यो । कपासलाई नैराश्यता नछाएको त कहाँ थियो र ? दर्जीले सुन्दर सुन्दर पाइजामा बनाएर ससाना बालकलाई लगाइदियो । ती बालक खुसीले गद्गद् भए । बालकहरू फुर्केको देखेर कपासले आफ्नो सारा दुखाइ बिस्र्यो र बालकको खुसीमा आफ्नो खुसी मिसायो । आफूलाई कपास हुनुमा गौरव ग¥यो ।

पाइजामा पुरानो भयो । पुराना कपडा जम्मा गर्ने ठाउमा पु¥याइयो अर्काे मेसिनमा राखिए । फेरि पिसिएर पुराना कपडाले अब कागजको रूप लिएको थियो । तिनै कागजमा दर्शनशास्त्र लेखिए ज्ञानमूलक पुस्तकहरू बने । कुनै धार्मिक पुस्तक बनेर मन्दिरमा सजिए, पुजिए अब फेरि अर्को मिसिनमा पेलिन दर्जीकोमा सिलाइन आवश्यक ठाउँमा राखिए । त्यहाँबाट कहिल्यै हट्नुपरेन । कपास मन्दिरमा पुजिन पाउँदा निकै खुसी भए ।

तिनै दर्शनशास्त्र पढेर कैयौँ दार्शनिक बने । विश्वभरि ज्ञानको सन्देश बाँढे राजनीतिज्ञ बने । मन्त्री र प्रधानमन्त्री बनेर संसारलाई परिवर्तन गरी विकासका मूल फुटाले । अब तिनै पटक पटक थिचिएका मिचिएका पिसिएका टुक्रिएका कपासले विगतका चोट, पीडा, सङ्घर्ष सबै भुलेर आफू अमर बन्न सकेकोमा कपास हुनुमा गौरव गर्दै सुख र खुसीको अनुभूति गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप