शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी नेपाली सेलिब्रेटी, जसले रोजे आत्महत्याको बाटो

मङ्गलबार, २९ असार २०७८, १३ : २५
मङ्गलबार, २९ असार २०७८

तनाव, मानसिक रोग, डिप्रेसन जस्ता समस्याले विश्वमा बर्सेनि आत्महत्या गर्नेको सङ्ख्या बढ्दो छ । सामान्य अर्थमा आफ्नो जीवन आफैँले समाप्त गर्नुलाई आत्महत्या भनिन्छ ।  प्रत्येक वर्ष विश्वमा ८ लाखभन्दा बढी मानिसले आत्महत्या गर्ने विभिन्न तथ्याङ्कले देखाउँछ ।

मानिस अक्सर बाँच्ने उपाय खोजिरहेको हुन्छ । मृत्युदेखि सधैँ भयभीत रहेर सकेसम्म धकेल्ने कोसिस गर्दछ । रोगसँग लड्दा पनि ऊ मृत्युसँग हार्न चाहँदैन । तर त्यही मानिस कहिलेकाहीँ सानो सानो कुरामा पनि जीवन समाप्त गर्न पछि पर्दैन ।

विश्वमा धेरै सेलिब्रिटीले आत्महत्याको बाटो रोजेर आफ्ना प्रशंसकलाई स्तब्ध तुल्याएका छन् । नेपालका पनि केही कलाकारले त्यस्तो कदम उठाएर आफन्त, प्रशंसक तथा सहकर्मीलाई रुवाएका छन् । केही दिन अगाडि मात्र अभिनेत्री तथा निर्माता जेनी कुँवरले आत्महत्या गरेर सबैलाई दुखी बनाएकी छन् । जेनीजस्तै आत्महत्या रोज्ने अन्य थुप्रै सेलिब्रेटी छन् । जसको मृत्युलाई कलाक्षेत्रले भुल्न सकेको छैन ।

जेनी कुवँर (अभिनेत्री तथा निर्माता)

जेनीले गत बिहीबार आत्महत्या गरेकी हुन् । प्रहरीले उनलाई थापागाउँस्थित सनराइज अपार्टमेन्टको आफ्नै निवासमा झुण्डिएको अवस्थामा फेला पारेको थियो । सुसाइट नोट लेखेर उनले आफू ‘डिप्रेसनको सिकार’ भएको र मृत्युमा कसैलाई दोष नदिनू भनेकी थिइन् । २०५७ सालको ‘अदृश्य श्रम’ नामक सिरियलबाट अभिनय यात्रा सुरु गरेकी उनले ‘जिन्दगानी’ फिल्म ठूलो पर्दामा पाइला राखेकी थिइन् । त्यसपछि मैदान, जीवनदाता, कानुन, अभिमन्यु, मलाई माफ गरिदेऊ, हलचल लगायत करिब दर्जनभन्दा बढी फिल्मकी हिरोइन उनले ‘हलचल’ र ‘घायल’ आफैँले बनाएकी हुन् । सिरियल र म्युजिक भिडियो अभिनयका अतिरिक्त निर्देशनसमेत गरेकी उनी गीत पनि गाउँथिन् । केही समय यता उनी अध्यात्ममा रमाउँदै आएकी थिइन् ।

गीताञ्जली सुनुवार (अभिनेत्री)

गीताञ्जली सुनुवारले २०५६ सालमा आत्महत्या गरेकी थिइन् । आफ्नै घरको ट्वाइलेटमा पासो लगाएर आत्महत्या रोजेकी उनी निर्माता छविराज ओझाकी दोस्री पत्नी हुन् । ‘अन्याय’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी उनले ‘नाता’, ‘जन्मभूमि’ लगायत आधा दर्जनभन्दा बढी फिल्म अभिनय गरेकी छिन् । म्युजिक भिडियोसमेत अभिनय गरेकी उनको छविसँगै रहँदा डिस्कोका एक बाउन्सरसँग प्रेम रहेको समेत चर्चा चलेको थियो ।

श्रीषा कार्की (अभिनेत्री)

अभिनेत्री श्रीषा कार्कीले २०५९ सालमा आत्महत्या गरेकी थिइन् । उनको आत्महत्याको कारण एक साप्ताहिक पत्रिकामा छापिएको नग्न तस्बिर बनेको थियो । श्रीषाले भैँसेपाटीस्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । २४ वर्षमा आत्महत्या रोजेकी उनले ‘सुख दुःख’, ‘वाचा बन्धन’, ‘सोल्टिनी’, ‘अंशवण्डा’, ‘आवारा’ लगायतका करिब दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छन् । उनको आत्महत्यापछि कलाकारहरूको ठूलै आन्दोलनसमेत भएको थियो ।

नवीना केसी (अभिनेत्री)

अभिनेत्री नवीना केसीको पनि मृत्यु आगोमा जलेर भएको थियो । उनको मृत्यु आत्महत्या हो वा हत्या त्यो गर्भमै रह्यो । तर आत्महत्या भनिएको थियो । उनले शिलु, पछ्यौरी लगायत केही फिल्म अभिनय गरेकी छन् ।

यमबुद्ध (गायक)

नेपाली साङ्गीतिक क्षेत्रमा ‘यमबुद्ध’ नामले परिचित गायक तथा ¥यापर अनिल अधिकारीले विसं २०७३ मा लन्डनमा आत्महत्या गरेका हुन् । उनको शव लन्डनस्थित उनी बस्ने घरको ट्वाइटमा झुन्डिएको अवस्थामा भेटिएको थियो । पुख्र्यौली घर धनकुटा भए पनि पछिल्लो समय उनी काठमाडौँ घट्टेकुलोमा बस्दै आएका र पछि लन्डन गएका थिए । २९ वर्षको उमेरमा आत्महत्या गरेका यमबुद्धका साथी, फुटपाथ मेरो घर, एकादेशमा, आउँदैछु म, यो प्रसङ्ग, जुत्तामा लगायत गीत श्रोता–दर्शकले निकै रुचाएका छन् ।

सन् २००७ देखि गायन क्षेत्रमा लागेका उनले सन् २०११ मा ‘मिक्सटेप’ नामको एल्बम बजारमा ल्याएका थिए । नयाँ एल्बम ‘खतरा’ रिलिज गर्ने तयारीमा रहेका उनी नेपाली हिपहप र ¥यापमा समकालीन अन्य ¥यापरभन्दा चर्चित मानिन्थे । विश्वका विभिन्न मुलुकमा नेपाली गायनकला प्रस्तुत गर्न उनी सफल थिए ।

आलोक नेम्वाङ (निर्देशक)

नेपाली चलचित्र तथा म्युजिक भिडियोका चर्चित निर्देशक आलोक नेम्वाङले २०७१ सालमा धापासीस्थित आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका थिए । प्रहरीले उनलाई अपार्टमेन्टको भ¥याङमा झुन्डिएको अवस्थामा फेला पारेको थियो । अमेरिकामा अध्ययन गरी नेपाल फर्किएका उनले इमेज च्यानलबाट आफ्नो करियर सुरुवात गरेका थिए ।

लाखौँ पटक मैले कोसिस गरेँ’ बोलको  म्युजिक भिडियो निर्देशन गरेर निर्देशनमा होमिएका उनले ‘सानो संसार’बाट फिल्म निर्देशन थालेका थिए । सानो संसारपछि उनले ‘कोही मेरो’, ‘अझै पनि’ लगायत चलचित्र र थुप्रै म्युजिक भिडियो निर्देशन गरेका थिए ।

कुल पोखरेल (गायक)

गायक कुल पोख्रेलले पनि आत्महत्या गरेका थिए । लागूपदार्थ दुव्र्यसन र मानसिक तनावका कारण उनले २०६१ सालमा आत्महत्या गरेका थिए । गायन कलाका कारण सानैदेखि चर्चामा रहन सफल उनले २३ वर्षमै आत्महत्या गरी जीवन सकाए । सो समय कुलले मानसिक सन्तुलन गुमाएर आत्महत्या गरेको बताइन्थ्यो । ‘बोलाउँदा नि बोल्दिनौ’ बोलको गीतबाट कुलले निकै चर्चा पाएका थिए । उनका आमा, यसपालिको दशैंलगायतका गीत चर्चित थिए ।

योगिता मोक्तान (गायिका)

गायिका योगिता मोक्तान पनि आत्महत्या गरेर यो संसारबाट सदासदाका लागि बिदा भएकी हुन् । व्यक्तिगत सम्बन्ध सन्तुलन गर्न नसक्दा मानसिक तनावमा रहेकी उनले २०११ मा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

केदार श्रेष्ठ (फिल्म निर्माता) 

सङ्कल्प’ फिल्मका निर्माता केदार श्रेष्ठले २०५१, ०५२ तिर आत्महत्या गरेको फिल्मकर्मी बताउँछन् । खासाका व्यवसायीसमेत रहेका उनले विष सेवन गरेर प्राण त्यागेका थिए । सो समय उनको ५, ६ वटा समान सहितका ट्रक समातिएकाले तनावमा परेर आत्महत्या गरेको बताइन्छ ।

जेशिका खड्का


नायिका तथा मोडल जेशिका खड्काले सन् २०१२ मा आत्महत्या गरेकी थिइन् । खड्काको एकाएक गायक प्रकाश ओझासँगको नग्न भिडियो सार्वजनिक भएपछि उनी तनावमा थिइन् । त्यो घटनापछि पनि उनी अभिनय क्षेत्रमा फर्किएकी त थिइन् तर सन् २०१२ मा उनले अन्ततः आत्महत्याको बाटो रोजेर जीवन सकिन् । 
 

कलाकार सङ्घले अब काउन्सिलिङ गर्छ 

मोहन निरौला (उपाध्यक्ष तथा प्रवक्ता, कलाकार सङ्घ)

आत्महत्या मानसिक सोचाइ कमजोर हुनेले गर्छन् । आत्महत्या कुनै पनि समस्याको समाधान होइन । आत्महत्याले समाजमा नकारात्मक प्रभाव पार्ने गरेको छ । समाजमा डिप्रेसनमा भएका, तनावमा रहेका मानिसका लागि काउन्सिलिङको आवश्यकता पर्छ ।

आत्महत्या कलाकारले मात्र होइन, समाजमा रहेका सबै वर्गका मानिसले गरेको देखिन्छ । कलाकार मिडिया फेम भएकाले समाचारमा उनीहरूको आत्महत्याले प्रथामिकता पाउने गर्छ । अहिलेसम्म नेपालमा जति पनि कलाकारले आत्महत्या रोजेका छन् ती नियाल्ने हो भने धेरै हदसम्म मानसिक तनाव नै देखिन्छ । कलाकारमा रहेको त्यो मानसिक तनावका कारण पत्ता लगाएर त्यो हटाउन उनीहरूसँग नजिक रहेका साथीहरूले गर्नुपर्छ ।

मोहन निरौला

सर्वसाधारणभन्दा कलाकारको आत्महत्याले समाजमा धेरै अर्थ राख्छ । यसबाट सर्वसाधारणले सिको गर्ने सम्भावना त रहन्छ नै समग्र कलाक्षेत्रलाई समेत विभिन्न किसिमले नकारात्मक प्रभावसमेत पर्ने गरेको छ ।

त्यसैले अबका दिनमा कलाकार सङ्घले डिप्रेसनमा रहेका, मानसिक अवस्था कमजोर भएका कलाकारको पहिचान गरेर उनीहरूलाई बाँच्न प्रेरित गर्नेतर्फ पहल गर्नुपर्ने देखिन्छ । यस्तो पहलमा सङ्घले आगामी दिनमा ध्यान दिनेछ ।

आत्महत्याको मुख्य कारण ‘डिप्रेसन’: डा. सरोज ओझा

पछिल्लो समय सर्वसाधारणदेखि कलाकार, चिकित्सक तथा विभिन्न पेसा व्यवसायमा आबद्ध मानिसले आत्महत्या अँगाल्ने धेरै देख्न सकिन्छ । आत्महत्या गर्नेमध्ये अपवादमा बाहेक धेरैको मानसिक तनाव, डिप्रेसन हुने गरेको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका मानसिक रोग विभागका प्रमुख एवं मानसिक रोग विशेषज्ञ डा. सरोज ओझा बताउँछन् ।

यदि कडा खालको मानसिक रोग लागेमा, लागूपदार्थ अर्थात् ड्रग्स अल्हकोलहल लत बसेका, नियमित रूपमा औषधि सेवन गर्ने दीर्घरोगी लगायतका धेरै कारणले आत्महत्या गर्ने गरेको डा. ओझा बताउँछन् ।

मानसिक समस्या भएको सरुवाती चरणमा परिवार तथा नजिकका आफन्त साथीभाइले पत्तो नपाउँदा पनि मानसिक रोग कडा हुँदै गएपछि आत्महत्याको सोच बनाउने र आत्महत्या गर्ने पाइएको उनले बताए ।

तर कोरोना महामारीका कारण नियमित रूपमा गर्दै आएका कार्य र व्यवहार रोकिँदा रोजगारी, व्यापार व्यवसाय बन्द हुँदा मानसिक र शारीरिक रूपमा अस्वस्थ, तनाव, चिन्ता, त्रास, एन्जाइटी, डिप्रेसन देखिएको छ ।

गाह्रो परिस्थितिमा मनमा कुरा सुनाउने, साट्ने र समस्यामा परेका व्यक्तिलाई बुझ्न सक्दा धेरै मानसिक समस्या झेल्न बाध्य भएको उनले सुनाए । ‘आत्महत्या गर्ने मानसिक रूपमा पूर्ण विक्षिप्त भएका हुन्छन्, उनले भने, ‘आत्महत्या गर्नेमध्ये सबैमा सोच, व्यवहार, समस्या प्रायः सबैलाई एउटै हुने भएकाले को कलाकार, को आर्थिक रूपमा सम्पन्न, विपन्न भन्ने हुँदैन ।’

विश्वमा आत्महत्या गर्नेमध्ये महिलाभन्दा पुरुष बढी रहेका उनले सुनाए । तर नेपाल र भारतमा भने आत्महत्या गर्न महिला र पुरुषको सङ्ख्या तुलनात्मक रूपमा समान रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप