शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोप्य विवाहदेखि नाकको शल्यक्रियासम्म : नायिका माहिराले खोलिन् राज

मङ्गलबार, २९ असार २०७८, १४ : ३१
मङ्गलबार, २९ असार २०७८

पाकिस्तानी नायिका माहिरा खानले सन् २०१७ मा रिलिज भएको बलिउड फिल्म रईसमा शाहरुख खानसँग काम गरेर चर्चा बटुलेकी थिइन् । पाकिस्तानमा माहिरा खानको ठूलो नाम छ । माहिरा त्यहाँकी शीर्ष नायिकामध्ये पर्छिन् । पछिल्ला केही वर्षमा माहिराका विषयमा विभिन्न प्रकारको अफवाह आए जसमा उनको गोप्य विवाहदेखि नाकको शल्यक्रिया गराएको भन्नेसमेत समावेश छ । अब माहिराले यसबारे जवाफ फर्काएकी छिन् ।

माहिराले आफ्नो डिजिटल भेन्चर म्यासनका लागि भिडियो सुट गरिन्, जहाँ उनले आफूसँग सम्बन्धित सबैकुरा खुलासा गरिन् । गोप्य विवाह गरेको अड्कलबाजीलाई माहिराले विराम लगाइदिइन् । नायिकाले यी खबर गलत बताइन् ।

गोप्य विवाहबारे माहिराले भनिन्, ‘होइन, मैले गोप्य विवाह गरेको छैन ।’ त्यसपछि माहिराले प्रशंसकलाई ‘तपाईंहरुले मेरो औंलामा कुनै औंठी देख्नुभएको छ ?’ भनेर प्रश्न सोध्छिन् । यो प्रश्न सोध्ने बेला माहिराले आफ्नो हातका औंलालाई क्यामरातर्फ देखाउँछिन् र पुनः सोध्छिन्, ‘तपाईंहरुले कुनै औंठी देख्नुभएको छ ?’

माहिराले थपिन्, ‘यदि मैले विवाह गरेँ भने तपाईंहरु सबैलाई यसबारे भन्नेछु । न त म विवाहित हुँ, न मेरो इन्गेजमेन्ट नै भएको छ । ’ माहिराले ठट्टा गर्दै आफ्नो गोप्य श्रीमानलाई फोन गर्न पनि भनेकी छिन् ।

माहिराले अली अक्सारीसँग विवाह गरेकी थिइन् । सन् २०१५ मा दुबैको सम्बन्धविच्छेद भएको थियो । यो विवाहबाट माहिरा खानका ११ वर्षका छोरा अजलान पनि छन् । माहिरा खान सिंगल मदर हुन् र आफ्नो छोरासँग निकै खुसी छिन् ।

माहिरा खानले हलिउड अभिनेता टम क्रुजसँग फिल्म साइन गरेको भन्ने बारे पनि हल्ला फैलिएको छ । यसको जवाफ दिँदै नायिकाले भनिन्, ‘टम, मेरो प्रेम, मलाई खेद छ कि यो खबर चुहियो । मैले लामो समयदेखि यसलाई लुकाउने कोसिस गरेकी थिएँ । मलाई थाहा छ तिमीहरु उत्साहित भयौ होला र तिम्रो समूहले यसलाई लिक गरेका होलान् । तर केही छैन, चाँडै नै भेटौंला ।’

एक प्रशंसकले माहिरा खान हेर्दा जति धनी देखिन्छिन्, त्यति छैनन् भनेर कमेन्ट गर्छन् । यसको जवाफमा माहिराले भनिन्, ‘तपाईं पूर्ण रुपमा सही हुनुहुन्छ । मलाई थाहा छैन कि म कसरी धनी देखिन्छु । तर मलाई मानिसहरुले जति धनी देख्छन्, त्यति भने छैन । मसँग धेरै गाडी छैनन्, नीजि जेट, लामो टिम छैन  । मेरो जीवन यस्तो छैन । तर मसँग जे जति छ, त्यसका लागि म आभारी छु ।’

माहिरा खानले नाकको शल्यक्रिया गराएकी हुन् कि भनेर एक प्रशंसकले प्रश्न सोधे । यसको जवाफमा उनले भनिन्, ‘तपाईंले मेरो नाकमा जूम गर्नुपर्नेछ । मैले नाकको शल्यक्रिया गराएको छैन । यदि मैले यसो गरेको भए म उनीहरु जस्तै देखिन्थेँ र मेरो नाकलाई शेप दिनका लागि अत्यधिक कोन्ट्युर प्रयोग गर्नुपर्ने थिएन ।’

माहिरा खानले भिडियोमा तनावको सामना गरेको बारे पनि कुराकानी गरिन् । माहिराले नीजि र व्यावसायिक जीवनको विषयमा साना–ठूला कुरा साझा गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप