शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई पटक प्रतिनिधिसभा विघटन गरेका ओली भन्छन्– संविधान कार्यान्वयनमा महत्त्वपूर्ण काम गरियो

मङ्गलबार, २९ असार २०७८, १५ : ००
मङ्गलबार, २९ असार २०७८

काठमाडौँ । दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकारले संविधान कार्यान्वयनमा निकै महत्त्वपूर्ण काम गरेको बताएका छन् ।

मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले सरकारबाट बाहिरिनु पर्दा आफूलाई रत्तीभर चिन्ता नरहेको बताए । उनले ‘जनादेशले होइन, परमादेशका कारण आफू सरकारको जिम्मेवारीबाट बाहिरिनुपरेको’ टिप्पणीसमेत गरे ।

ओलीले देश र जनताप्रति सम्पूर्ण निष्ठा र इमानदारिताका साथ समृद्धि, सुशासन, विकास, जनतामा सेवा सुविधा पु¥याउने कुरालाई ध्यानमा राखेर काम गरेको पनि दाबी गरे ।

३ वर्ष ५ महिना हाराहारीको आफ्नो कार्यकालमा संविधान कार्यान्वयन, सङ्घीय प्रणालीको संस्थागत विकास, मुलुकको सामाजिक आर्थिक रूपान्तरण र विकास, सामाजिक न्याय, सुरक्षा, राष्ट्रियताको रक्षा र सुशासनका क्षेत्रमा दूरगामी महत्त्वका काम गरिएको पनि उनले बताए ।

राजनीतिलाई सुविधा, भागबन्डाको विषयका रूपमा बुझ्ने र बुझाउने गरिएको परिस्थितिमा आफूले राजनीतिका नाममा विकास, सुशासनको पहल गर्दा आफ्नै पार्टीभित्रबाट घेराबन्दी र आक्रमणको सिकार हुनु परेको दुखेसो पनि उनले पोखे ।

आफ्नो कार्यकालमा संविधान पूर्ण रूपमा कार्यान्वयनमा आएको दाबी गर्दै उनले सङ्घीयता पनि संस्थागत भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप