शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री भन्छन्– महामारीमा खटिने सुरक्षाकर्मीलाई भत्ता दिन्छौँ (भिडियो वार्ता)

‘सरकार जनताको सुख–दुःखमा साथ छ भन्ने अनुभूति दिलाउने गरी काम गर्छु’
बुधबार, ३० असार २०७८, २३ : ४३
बुधबार, ३० असार २०७८

गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताएका छन् । साथै उनले कोरोना महामारीमा खटिएर भत्ता नपाएका सुरक्षाकर्मीहरूलाई भत्ता दिइने बताएका छन् ।

गृहमन्त्री नियुक्त भएको दोस्रो दिन रातोपाटीसहित केही सञ्चार माध्यमसँग कुरा गर्दै मन्त्री खाँणले संसारका जुनसुकै सरकारको पहिलो प्राथमिकता आफ्ना नागरिकको जीवन रक्षा गर्नु रहेको बताउँदै कुनै पनि नागरिकले अकालमा मृत्युवरण गर्ने स्थिति आउन नहुने बताए ।

उनले भने–‘विभिन्न घटना वा परिघटनाबाट मान्छेको ज्यान कुरा होस वा कोरोना महामारीका कारण व्यक्तिको ज्यान जाने कुरा होस, नागरिकलाई जोगाउने कुरालाई प्राथमिकताका साथ हामीले लाने हो । गृह मन्त्रालय अन्तर्गत विभिन्न कार्यक्षेत्रहरू छन्, त्यसलाई परिष्कृत गर्दै लैजाने हो ।’

आफूले पद बहाली गरे लगतै मन्त्रालयका सचिव लगायतका कर्मचारीसँग ब्रिफिङ लिएको खाँणले बताए । मन्त्रालयका सचिवले साङ्गठनिक ढाँचा, काम, कर्तव्य र अधिकार क्षेत्रका बारेमा ब्रिफिङ गरेका छन् । साथै सुरक्षा क्षेत्रका समस्या र चुनौतीका बारेमा पनि जानकारी गराएका थिए ।

मन्त्री खाँणले आफूले नागरिकको आँखाबाट हेर्दा गृह मन्त्रालय र प्रहरीको बारेमा जे धारणा राख्छन् त्यही आधारमा आफ्नो धारणा राखेका छन् । उनले लोकतान्त्रिक व्यवस्थामा जनता मालिक भएको र सरकार सेवक भएकोले सोही अनुसार हातेमाले गरेर जनतालाई मालिक भएको अनुभूति गराउनुपर्नेमा जोड दिएको बताए ।

उनले भने, ‘संविधानमा कानुनमा जनतालाई मालिक त बनायौँ तर अनुभूतिमा मनमा जनतालाई साँच्चैको मालिक भएको अनुभूति गराउनुपर्ने छ । सरकार साँच्चै जनताको सेवक भएछ भन्ने अनुभूति गराउन लागौँ भनेर कर्मचारीहरूलाई भनेको छु । मैले म तपाईहरुको मित्रको रूपमा आएको छु भनेर उहाँहरूलाई भनेको छु ।’

उनले गृह मन्त्रालयलाई एउटा जनताको आँखाबाट हेरेको र एक जना जनप्रतिनिधिले निर्वाह गर्नुपर्ने भूमिकाअनुसार काम गर्ने उल्लेख गरे । उनले सरकारका बारेमा पहिलो अनुभूति दिने मन्त्रालयका रूपमा गृह मन्त्रालय रहेको बताउँदै जनतालाई सरकार सुख–दुखमा साथ छ भन्ने अनुभूति दिलाउने काम गर्ने उल्लेख गरे ।

उनले आफू मातहत रहेका सुरक्षाकर्मीहरुले आवश्यकता अनुसार २४ सै घण्टा खटेर काम गर्नुपर्ने बताउँदै उनीहरूलाई आवश्यक सामग्री दिन नसकेको उल्लेख गरे । सुरक्षाकर्मीहरूलाई यो राष्ट्र हाम्रो हो, आफ्नो परिवारका सदस्यप्रति उनीहरूको जुन जिम्मेवारी छ, देशका प्रत्येक नागरिकप्रति पनि त्यस्तै जिम्मेवारी रहेको दायित्वबोधका साथ काम गरिरहेको बताउँदै सुरक्षाकर्मीलाई प्रोत्साहित गर्ने, उत्साहित गर्ने र मनोबल बढाउने काम गर्ने मन्त्री खाँणले उल्लेख गरे ।

मन्त्री खाँणले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न भत्ता नपाएका सुरक्षाकर्मीलाई भत्ता दिने उल्लेख गरे । त्यसका लागि अर्थ मन्त्रालयसँग छलफल गर्ने उल्लेख गरे ।

उनले नेपालको भूमिको रक्षा गर्ने जिम्मा सरकारको रहेको बताउँदै चीन र भारतको सिमानामा स्थापना गरेका बिओपीले देशको जमिन र जनताको सुरक्षा गरेको बताउँदै त्यसलाई निरन्तरता दिने बताए ।

यस्तै मन्त्री खाँणले प्रहरीको सरुवा बढुवा गर्दा कार्यक्षमतालाई प्राथमिकता दिने उल्लेख गरे । उनले कुनै जिल्लामा प्रहरीलाई स्थानीयले फूल माला खादा लगाएर बिदा गर्ने गरेको र कतै लुसुक्क कार्यस्थलबाट बिदा हुने अवस्था रहेको बताउँदै उनीहरूको कार्यकुशलता हेरेर सन्तुलित ढङ्गले काम गर्ने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप