केन्द्रीय संस्करण

‘धर्तीकै कुरूप महिला’ को उपमा पाएकी मेरी एनको कथा

person explore access_timeसाउन १, २०७८ chat_bubble_outline0

चार छोराछोरीकी यी आमाले आफूलाई विधवा अवस्थामा पाइन् । त्यसैले उनीहरूको लालन–पालनका लागि जे गर्न पनि मेरी एन विभान तयार थिइन् । हुँदाहुँदा ‘विश्वकै कुरूप महिला’को उपमा पनि उनलाई स्वीकार्य भयो ।

सन् १८७४ डिसेम्बरमा जन्मिएकी मेरी एन युवा अवस्थामा अन्य सामान्य महिलाजस्तै थिइन् । पूर्वी लन्डनस्थित गरिब परिवारमा जन्मिएका आठ छोराछोरीमध्ये उनी एक थिइन् । तर यो गरिबीले उनलाई सपना पछ्याउँदै नर्स बन्न रोकेन ।

२९ वर्षमा उनले थोमस विभानसँग बिहे गरिन् । यो दम्पतीका चार छोराछोरी भए । तर एक्रोमेगुली डिसअर्डरबाट ग्रस्त भएपछि मेरी एनको शरीर अस्वाभाविक रूपमा परिवर्तन हुन थाल्यो । शरीरले धेरै मात्रामा ग्रोथ हार्मोन उत्पादन गर्न थालेपछि यो डिसअर्डर सिर्जना हुन्छ ।

यो कठोर अवस्थामा मानिसका हात र खुट्टा अस्वाभाविक रूपमा ठूला हुन्छन् । यसले अनुहारको आकार पनि परिवर्तन गरिदिन्छ । मेरी एनको अनुहार ठूलो र भद्दा देखिन थाल्यो । यो निकै पीडादायी अवस्था थियो । हड्डी र टिस्युहरू दुवै तीव्र रूपमा बढिरहेका थिए ।

आजका दिनमा एक्रोमेगुलीको उपचार वा नियन्त्रण गर्न सकिन्छ । तर २०औँ शताब्दीको सुरुवातमा यस्तो उपचार सम्भव थिएन ।

सडकमा मेरी एन उभिँदा मानिसहरूले नानाथरी टिप्पणी र मजाक गर्न थाले । कम्तीमा घरभित्र उनी त्यतिबेलासम्म सुरक्षित थिइन्, जतिबेलासम्म पति थोमस जीवित थिए । बिहेको ११ वर्षपछि थोमसको मृत्यु भयो र मेरी सहाराविहीन बनिन् ।

भद्दा शरीरकै कारण जागिरसमेत नपाउँदा छोराछोरी पाल्ने चिन्ताले सताइरहेको थियो ।

यही समय उनले पत्रिकामा एउटा विज्ञापन देखिन् । त्यसले उनको जीवन परिवर्तन गर्नेवाला थियो । ‘कुरूप महिला चाहियो, राम्रो रकम सुनिश्चित छ र सफल आवेदनका लागि तत्कालको फोटो पठाउनुस् ।’

अमेरिकन सर्कस बर्नम एन्ड बेलीका युरोपेली एजेन्ट क्लाउडे बाट्र्रामले यो विज्ञापन गरेका थिए । सर्कसमा देखाउने मानिस युरोपमा नभेटिएपछि उनको आशा मर्दै थियो । यो विज्ञापन त्यस्तो ‘नयाँ प्रतिभा’ खोज्ने उनको लगभग अन्तिम प्रयास थियो, जसलाई हेरेर बेलायत र अन्यत्र पनि मानिसहरू हाँस्न सकून् ।

मेरी एनले फोटो पठाइन् र बाट्र्रामको ध्यान खिचिन् ।

‘सुरुमा उनले प्रदर्शनीमा बस्ने उपाय आफूलाई मन नपरेको बताएकी थिइन् । उनी लजालु थिइन् र आफ्ना छोराछोरीसँग छुट्न चाहन्न थिइन्,’ एनबारे बाट्र्रामले भनेका थिए, ‘मैले प्रति साता १० पाउन्ड आम्दानी मिल्नेछ, भ्रमण खर्च मिल्नेछ र पोस्टकार्डहरू बेचेर आएको पैसा पनि तिमीलाई नै हुनेछ भनेको थिए । जसकारण उनले आफ्नो छोराछोरीलाई पढाउन सकून् । अन्ततः उनले मानिन् ।’

दक्षिण पूर्वी लन्डनस्थित ह्याम्पसायरमा उनको कार्यक्रम यति धेरै चल्यो कि त्यसबाट सर्कसका मालिक तथा चटके पिटी बार्नम निकै प्रभावित भए । द ग्रेटेस्ट सोम्यानमा हग ज्याकम्यानको भूमिका निभाएर चर्चामा आएका यी सो म्यानले एनीलाई पानीजहाजमा चढाएर १९२० मा अमेरिका लगे ।

अमेरिका पुग्नासाथ न्युयोर्कका हरेक पत्रिकाको कभरमा उनले आफ्नो फोटो छापिएको पाइन् । त्यसमा ‘धर्तीकै कुरूप महिला’ भनेर लेखिएको थियो ।

एनबारे धेरै प्रचार भइसकेको थियो र उनले अपेक्षालाई पनि मर्न दिइनन् । बरु सोको स्टार बनिन् । दाह्री भएका महिला, टाउको जोडिएका जुम्ल्याहा, होचा मानिस, अजङ्गका मानिस र अपाङ्गता भएका मानिसभन्दा उनले धेरैको ध्यान खिचिन् ।

उनलाई हेरेर हाँस्नेहरूको कमी थिएन । उनलाई त्यस्ता कपडाहरू लगाउन लगाइन्थ्यो जसले धेरैभन्दा धेरै भद्दा र कुरूप देखाओस् । त्यसले भीडमा बसेकाहरूलाई तर्साउन र मनोरञ्जन दिन सकोस् ।

दुई वर्षसम्म उनलाई धेरैले मजाकमा उडाए, अपमान र बेइज्जती गरे । यो कार्य गरेबापत उनले २० हजार पाउन्ड कमाइन् । आजको मितिमा यो ५ लाख  पाउन्ड बराबर हुन्छ ।

यो रकम छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन पर्याप्त थियो । आफ्ना छोराछोरीलाई अत्यन्तै मिस गर्ने यी महिलाले उनीहरूलाई पत्र भने लेखिरहन्थिन् ।

अन्ततः उनले छोराछोरीको जीवनका लागि जे आवश्यक थियो, त्यो हासिल गरिन् । सम्पत्ति कमाइन् र राम्रो जीवन दिइन् । यसैका लागि त बेइज्जती खप्न उनी तयार भएकी थिइन् ।

१९२५ मा उनी पेरिसमा एउटा कार्यक्रममा सहभागी हुन युरोप फर्किएकी थिइन् । त्यसपछि बाँकी समय कोनी आइल्यान्ड ड्रिमल्यान्ड सोमै व्यस्त भइन् । जीवनको उत्तराद्र्धमा यी महिलामा रक्सी पिउने आदत विकास भएको थियो पनि भनिन्छ ।

तत्कालीन समयका चर्चित न्युरो सर्जन हार्भे कुसिङले यी महिलालाई मजाकमा उडाउँदा आफू धेरै दुखित हुने गरेको गुनासो टाइम म्यागेजिनमार्फत गरेका थिए । १९२७ मा उनले म्यागेजिनमा लेखेको पत्रमा उल्लेख छ, ‘रिङलिङ ब्रदर्सको साइड सोमा हात नभएका व्यक्ति र मोटी महिलाको बीचमा सेतो ह्याट, उनीका पञ्जा र माथिसम्म तुना भएका (हाइलेस) जुत्ता लगाएर बस्ने यी महिलासँग त्यस्तो कथा छ, जो मजाकभन्दा परको विषय हो ।’

उनले लेखेका थिए, ‘उनी पहिले राम्रो देखिने महिला थिइन् र एक्रोमेगुली नामक रोगको शिकार भइन् । एउटा चिकित्सकका रूपमा रोगको वियोगमाथि समयले खेलेको यस्तो खेल मलाई राम्रो लागेन ।’

१९३३ मा ५९ वर्षको उमेरमा एनको निधन भयो । आफूलाई इङ्ल्यान्डमै अन्त्येष्टि गरियोस् भन्ने एनको इच्छा थियो । उनका छोराछोरीले दक्षिण लन्डनस्थित लेडीवेल एन्ड ब्रोक्ली चिहानमा शवको अन्त्येष्टि गरे ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.