शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जोन्सन एण्ड जोन्सनको खोप अभियान नरोकिने

ढुक्क भएर लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
शनिबार, ०२ साउन २०७८, ११ : ०१
शनिबार, ०२ साउन २०७८

अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको खोप लगाएकामध्ये केही अमेरिकीमा स्नायु प्रणालीसम्बन्धी समस्या देखिएको बताइएपछि यसलाई लिएर विभिन्न आशंकाहरु उत्पन्न भइरहेका छन् । अमेरिकामा १ करोड २८ लाख जनाले कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन् ।  जसमध्ये कम्तिमा १०० जनालाई यस्तो दुर्लभ साइड इफेक्ट देखिएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको छ । यसमध्ये ९५ प्रतिशतमा गम्भीर समस्या देखिएको र अस्पताल भर्ना भएका थिए । 

यद्यपी अमेरिकीकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले  अहिलेसम्म उपलब्ध प्रमाणले जोन्सन एण्ड जोन्सनको खोप र गीयाङबारे सिन्ड्रोम (स्नायु प्रणालीसम्बन्धी समस्या) को जोखिमबीच सम्बन्ध रहेको देखाए पनि प्रत्यक्ष सम्बन्ध रहेको स्थापित गर्ने आधार भने स्पष्ट नभएको बताएको छ । 

सोही खोप नेपाललाई अमेरिकाले १५ लाख बढी डोज उपलब्ध गराएको र  साउन ४ गतेदेखि लगाउने तयारी भइरहँदा केही अलमल देखिएको छ । 

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले एउटा मात्रा मात्रै लगाए पुग्ने जोन्सन खोपलाई विश्व स्वास्थ्य संगठनले नै ५५ देशमा आपत्कालीन प्रयोगको अनुमति दिएकाले ढुक्क भएर खोप लगाउन आग्रह गरे । 

बाहिर हल्ला भएजस्तो यो खोप लगाउँदा ठूलो जोखिम नभएको सहप्रवक्ता डा. अधिकारी बताउँछन् । ‘सबै खोपका केही न केही जोखिमहरु सार्वजनिक हुन्छन् तर, जोखिमभन्दा लाभ कयौँ गुणा बढी हुने भएकाले ढुक भएर खोप लगाउँदा हुन्छ’, उनले आग्रह गरे ।

 अध्ययन अनुसन्धान गरेर त्यसका आधारमा डब्ल्यूएचओले जोन्सन एण्ड जोन्सनको खोपलाई अनुमति दिएको भन्दै उनले अमेरिकामा मात्रै एक करोड २८ लाख नागरिकले सो खोप लगाइसकेकाले समस्या नहुने बताए । उनले नेपालले विश्व स्वास्थ्य संगठनको स्टेटमेन्टलाई विश्वास गर्नुपर्ने उनको भनाइ छ । 

नेपालमा एफडीएको चेतावनीले जोनसन एण्ड जोनसन खोपको वितरण नरोकिने स्वास्थ्य मन्त्रालयले बताएको छ । ‘एफडीएले जोन्सन एण्ड जोन्सनको खोप अध्ययन तथा अनुसन्धान बारे जानकार रहेकोले  खोप समितिले पनि अध्ययन गर्छ,’ उनले भने, ‘खोप लगाइसकेका नागरिकको रेकर्ड राख्छौँ, रेकर्डका आधारमा खोप समितिले पनि अध्ययन गर्छ ।’

खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई दिइने  
अमेरिकाले कोभ्याक्स सुविधामार्फत नेपाललाई उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई दिइने स्वास्थ्य  मन्त्रालयले जनाएको छ ।
अमेरिकाबाट सोमबार नेपालले प्राप्त गरेको एक जोड मात्रै लगाएको हुने जोन्सन एण्ड जोन्सन खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  काठमाडौँका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप दिने निर्णय गरेको हो ।

अमेरिकी सरकारको अनुदान सहयोगमा जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपालले प्राप्त गरेको हो । 

मन्त्रालयका अनुसार उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थी  र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत लगाइनेछ । 


वैदेशिक रोजगारीमा जानेलाई जोन्सन एण्ड जोन्सनको खाप माग
यसैगरी वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एन्ड जोन्सनको खोप दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ । विदेश जाने श्रमिकलाई एक जोड मात्रा लगाए हुने जोन्सन एन्ड जोन्सनको खोप दिन कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई वैदेशिक रोजगार मन्त्रालयले आग्रह गरेको हो । 

कोरोनाविरुद्धको खोप नलगाई साउदी अरब, कतार लगायतका खाडी र अन्य श्रम गन्तब्य मुलुक जाने नेपाली कामदारलाई सम्बन्धित मुलुक पुगे पश्चात अनिवार्य क्वारेन्टिन बस्नुपर्ने हुन्छ । 

यस्तै कोरोना परीक्षण गर्दा पीसीआर रिर्पोट नेगेटिभ आएमा पनि थप होम क्वारेन्टिन बस्नुपर्ने जस्ता प्रावधान रहेकाले क्वारेन्टिन बस्दा एक लाख रुपैयाँसम्म कामदार तिर्न बाध्य भएको सामाजिक सुरक्षा मन्त्रालयद्धारा कोभिड—१९ संकट व्यवस्थापन केन्द्रलाई लेखेको पत्रमा उल्लेख गरिएको छ । सरकारले यसअघि विदेश जाने श्रमिकलाई भेरोसेल खोप दिने निर्णय गरेको थियो ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप