शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

शनिबार, ०२ साउन २०७८, १९ : ४६
शनिबार, ०२ साउन २०७८

बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदलाई कोरोना संक्रमण पुष्टि भएको छ । इङ्ग्ल्यान्डमा जारी लकडाउन पूर्ण रुपमा खोल्न दुई दिन मात्र बाँकी रहँदा स्वास्थ्यमन्त्रीमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पोजिटिभ भएपछि उनी घरमै आइसोलेशनमा बसेको समाचारमा जनाइएको छ । यसअघिका स्वास्थ्यमन्त्री  म्याट ह्यान्ककको स्थानमा उनी भर्खरै मात्र  स्वास्थ्यमन्त्री नियुक्त भएका हुन् ।

आफूलाई कोरोना पोजिटिभ भएको उनले भिडियो मार्फत सन्देश दिएका छन् । कोरोनाविरुद्धको दुवै डोज  खोप लगाइसकेका कारण उनको अवस्था सामान्य रहेको बताइएको छ । बेलायतमा हाल कोरोना संक्रमणको तेस्रो लहर शुरु भएको छ । शुक्रबार एकैदिन करिब ५२ हजार जना संक्रमित भएका थिए । संक्रमित संख्या दैनिक एक लाखसम्म पुग्नसक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।

आउँदो सोमबारबाट इङ्ग्ल्यान्डमा हाल लागू गरिएका लकडाउन सम्बन्धी सम्पूर्ण कानूनी प्रावधान अन्त्य गरिने प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरिसकेका छन् । यद्यपि सार्वजनिक यातायातलगायतका स्थानहरुमा भने मास्क अनिवार्य गरिने भएको छ ।

बेलायतमा दुई तिहाइभन्दा बढी अर्थात ६७.५ प्रतिशत वयस्कहरुले कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेका छन् भने ८७.६ प्रतिशतले खोपको पहिलो डोज लिएका छन् । खोपका कारण संक्रमणदर बढेपनि मृत्युदरमा भने खासै बृद्धि भएको छैन ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को पछिल्लो तथ्याङ्क अनुसार बेलायतमा ८ करोड १७ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ। जसमध्ये चार करोड ६१ लाख ५९ हजार १४५ जनाले पहिलो र तीन करोड ५५ लाख ४३ हजार ३२१ जनाले दोस्रो डोज लगाएको तथ्याङ्कमा उल्लेख छ । कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या पनि सामान्य बृद्धि हुँदै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप