बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादव समूह संसदमा सत्तापक्षको कुर्सीमा बस्ने, आफ्नो पक्षमा बहुमत पुगेको दावी

शनिबार, ०२ साउन २०७८, १९ : ४९
शनिबार, ०२ साउन २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षका केही सांसदले कित्ता परिवर्तन गरेका छन् । यससँगै पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलमा बहुमत पुगेको दावी गरिएको छ । 

यसअघि उपेन्द्र यादव कार्यकारिणी समिति र राष्ट्रियसभामा बहुमतमा भएपनि संसदीय संसदीय दलमा ठाकुरको पक्षमा बहुमत देखिएको थियो । ओली सरकार ढल्नु अघिसम्म ३२ जना सांसदमध्ये महन्थ ठाकुरको पक्षमा २० जना सांसद थिए भने उपेन्द्र यादवको पक्षमा १२ जना मात्र थिए । अहिले उनको पक्षमा १९ जना सांसद पुगेको दावी गरिएको छ।  

सो पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले महन्थ ठाकुरको पक्षमा रहेका प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाललगायतका सांसदहरु उपेन्द्र यादवको पक्षमा आएको बताए । उनले अझै केही सांसदहरु उपत्यका बाहिर रहेको कारण बैठकमा आउन नसकेको र चारजना सांसद अझै सम्पर्कमा रहेको दावी गरे ।

अरु चारजना सांसद को को हुन् भन्नेबारे उनले बताउन चाहेनन् । यसअघि उपेन्द्र यादवको साथ छाडेर विमल श्रीवास्तव, उमाशंकर अरगरिया, रेणुका गुरुङ, राम दुलारी खत्वे महन्थ ठाकुरको पक्षमा लागेका थिए । त्यसले गर्दा महन्थ ठाकुरले बहुमत प्राप्त गरेका थिए । 

उपेन्द्र यादव पक्षको आज बसेको संसदीय दलको बैठकले भोलिदेखि सुरु हुने संसदको बैठकमा सत्तापक्षमा बस्ने निर्णय गरेको छ । यसअघि जसपा विपक्षीको बेन्चमा बस्दै आएको थियो । यद्यपी महन्थ ठाकुर पक्षका सांसदहरु विपक्षमा बस्ने निर्णय हिजै गरेको थियो ।

एमालेका साथमा विपक्षमा बस्ने निर्णय गरेसँगै संसदमा कसरी प्रस्तुत हुने विषयमा आजै महन्थ ठाकुर समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवासमा छलफल गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप