शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा हालसम्म कहाँ-कहाँबाट आयो कोभ्याक्स ?

शनिबार, ०२ साउन २०७८, २० : ५२
शनिबार, ०२ साउन २०७८

कोभ्याक्सले नेपालका ६० लाख जनसङ्ख्यालाई पुग्ने कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सोहीअनुसार अहिले विभिन्न देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइरहेका छन् । 

अहिलेसम्म भारत, चीन, अमेरिका, जापानलगायत देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइसकेका छन् ।  

सरकारलाई यही असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रा सहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको थियो । यसअघि कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड खोप तीन लाख ४८ हजार खोप प्राप्त भएको थियो । 

यस्तै जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । 

स्वास्थ्य सेवा विभागका खोप तथा बालस्वास्थ्य शाखाका प्रमुख डा झलक शर्मा गौतमले कोभ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिए । कोभ्याक्समार्फत तीन लाख ५० हजार खोप आउन थालेको हो । मन्त्रालयले चीन र अमेरिकाले उपलब्ध गराएको खोप प्राथमिकताका आधारमा लगाएको छ । 

चीन र अमेरिकाबाट प्राप्त भएको खोप यही असार २९ देखि साउन १ गतेसम्म लगाइएको थियो । भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूह र जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई लगाइएको छ । नेपालमा अहिलेसम्म पहिलो मात्रा २७ लाख ६५ हजार ७०९ र दोस्रो मात्रा ११ लाख २० हजार २८२ जनाले लगाइसकेका छन् । सरकारले १८ वर्षभन्दा माथिका कूल दुई करोड २० लाख जनसङ्ख्यालाई निःशुल्क खोप लगाउने लक्ष्य लिएको छ । 

यसैबीच मन्त्रालयले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई दोस्रो मात्राको खोप दिने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई दोस्रो मात्रा छिटै नै दिइने बताए ।

यसैगरी सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ ल्याउने तय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप