बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बुबा, अर्थात् पोष्टबहादुर बोगटीको सम्झना

आइतबार, ०३ साउन २०७८, ०९ : २६
आइतबार, ०३ साउन २०७८


 

आज बुवा (पोष्टबहादुर बोगटी) को जन्मदिन । बुवा हामीमाझ नहुँदाको सात वर्ष हामीले कटाइसकेका छौँ । आजको दिन मेरा लागि विशेष छ । बुवा जनयुद्धले जन्माएको एउटा आदर्श निष्ठावान् चरित्र, विचार र नेतृत्वप्रतिको समर्पण फिल्डमा खटिने तथा नेतृत्व र कार्यकर्ताबीचको संवादको पुल हुनुहुन्थ्यो ।

‘मेरो राजनीतिक जीवनलाई यति सम्मानित बनाउन परिवारको ठुलो भूमिका छ । पढ्नमा तीक्ष्ण हुँदाहुँदै पनि छोराले स्कुल जीवनदेखि राजनीति गरी भूमिगत जीवनमा पार्टीको जिम्मेवारी निर्वाह गर्दागर्दै सहिद भयो । जेठी छोरी स्कुल पढ्दापढ्दै भूमिगत भएर भूगोलमै काम गरेर अघि बढिन् । तिमीले लखनउमै पढ्छु भनेको भए मलाई पढाउनैपर्ने बाध्यता हुन्थ्यो । तर, तिमीले पनि मेरो सहयोगीका रूपमा काम गरेर मलाई सहज बनाइदियौ,’ बुवाले हाम्रो पारिवारिक छलफलमा प्रायः दोर्याइरहने विषय यही थियो ।

बुवासँग बिताएको बाल्यकालको त्यति धेरै सम्झना छैन । म नजन्मिँदै बुवाले राजनीतिको बाटो समाउनु भइसकेको थियो । बुवा राजनीतिमा समर्पित हुनु भएपछि आमाले हामी तीन छोराछोरीलाई हुर्काउने, पढाउने जिम्मेवारी लिनुभयो । तर, आमा पनि २०५३ को अन्तिमतिर राजनीतिमा लाग्नुभयो । आमा राजनीतिमा लाग्नुभएपछि वर्षको एक पटक हामीले बुवालाई भेट्ने अवसर पाउँथ्यौँ । स्कुलको बर्खे (असार–साउन) बिदामा करिब दुई महिना हामी बुवा आमासँगै बस्थ्यौँ ।

२०५५ सालदेखि २०५८ सालसम्म हामीले निरन्तर यसरी नै बुवा आमालाई भेट्यौँ । सुरुको वर्ष नेपालगञ्ज र त्यसपछि भारतको बहराइच र लखनउमा हामीले बुवाआमालाई भेट्थ्यौँ । बुवा आमासँगै बस्न चाहे पनि त्यतिबेलाको राजनीतिक परिस्थितिले त्यो अवसर हामीले पाएनौँ । आमा बुवाबिनाको बाल्यकाल र प्रशासन धरपकडले बाल्यकालको मनोविज्ञान नराम्रोसँग गिजोलेको थियो ।

२०५८ सालको सङ्कटकालपछि म पनि घरमा बस्न सम्भव भएन । दिनहुँ सेना प्रहरीले घरमा आएर दिने दुःख उल्लेख गरेर पनि सकिन्न होला । दाइदिदी दुवैले आफ्नो स्कुलको अध्ययनको बीचमै बुवा आमाको जस्तै भूमिगत राजनीति गर्नु भयो । दाइ त जेल पनि बस्नुभयो । म सानै भएको केही नगर्ला कि भनेर घरमा नै हजुरआमासँग बस्थे“ ।

राजनीतिप्रति रुचि, माओवादी जनयुद्धप्रतिको लगाव र बुवा आमाले रोज्नुभएको राजनीतिप्रति सम्मान भए पनि हामीले पढ्ने इच्छा जाहेर गरेका थियौँ । एसएलसीपछि पढ्दै विद्यार्थी राजनीतिमा जोडिएर काम गर्छौँ भनेका थियौँ । तर सङ्कटकालले निम्त्याएको कठिन परिस्थितिले म पनि घरमा बस्न सम्भव भएन । बुवाले सङ्कटकालको विकसित घटनाक्रमको अध्ययन गर्नु भएरै होला, मलाई फोन गरेर अब घरमा नबस्नू, म भएको ठाउँमा आऊ भन्नुभयो । बुवासँग भेट भइसकेपछि बुवाले घरै बसेको भए बाँच्ने सम्भावना कम थियो छोरी भन्नु भयो । सेना पुलिसले माओवादी र उनीहरूका परिवारहरूमाथि धरपकड, यातना र मार्नेक्रम बढाएपछि हाम्रा लागि घर पनि सुरक्षित भएन ।

२०५९ को वैशाखबाट म बुवा आमासँगै भारतको लखनउमा बस्न थालेँ । मेरा लागि यो कति प्रिय अवसर थियो, जुन मेरो दाइ र दिदीले पाउनुभएको थिएन । भूमिगत राजनीति सुरु गरिसक्नुभएकाले दाइ र दिदी आफ्नो कार्यक्षेत्र धादिङमा हुनुहुन्थ्यो ।

बुवासँगै बस्न थालेपछि माओवादी जनयुद्धलाई नजिकबाट बुझ्न पाएँ । योजना कसरी बन्छ, त्यसलाई कसरी लागू गरिन्छ र, परिणाम कसरी निकालिन्छ भन्ने कुराको नजिकबाट साक्षी हुने अवसर पाएँ ।

बुवाको अध्ययनप्रतिको लगाव धेरै थियो । फुर्सदमा हातमा किताब र चिया अनिवार्यजस्तै थियो । कोठाहरू सबैमा किताब नै किताब हुन्थे । बुवाको सम्पत्ति नै किताब थियो । जताततै किताब मात्र देखेर म बुवालाई प्रश्न गर्थेँ यति धेरै किताब कहिले पढेर भ्याइन्छ भनेर । बुवा भन्नुहुन्थ्यो– परिस्थितिअनुसार कुन किताब पढ्ने भनेर पनि तय गर्न सकिन्छ । जस्तै– पार्टीका बैठक र अन्तर्सङ्घर्षहरूमा बढी वैचारिक किताबको अध्ययन गरिन्छ र सामान्य परिस्थितिमा आफूलाई इच्छा लागेको अध्ययन गर्ने हो भन्नुहुन्थ्यो । साहित्य, जीवनी, दर्शनशास्त्र, वैचारिक राजनीतिक हरेक पुस्तकमा बुवाको आकर्षण र लगाव थियो ।

बुवाआमाको हुनुभएको ठाउँमा जाँदा मैले कक्षा १० को २० दिनको अध्ययन गरेको थिएँ । बुवाले अध्ययन कसरी अघि बढाउने भनेर सल्लाह गर्नुभयो । मैले पढ्छु भन्न सकिनँ । किनकि दाइले भन्नुहुन्थ्यो हाम्रो बुवा जनयुद्ध गर्ने शीर्ष पाँच नेतामध्येको एक हुनुहुन्छ । अझै भावनात्मक र वैचारिक हरेक हिसाबले पार्टी नेतृत्वको निकट हुनुहुन्छ । दाइले भन्नुभएको यही कुराको सम्झना गर्दै मैले म स्कुल गएर पढ्छु बुवा भन्न सकिनँ । युद्धको मार्ने र मर्ने, जित्ने र अघि बढ्ने सन्दर्भमा नेतृत्व र उसले लिने नीतिहरूले तल्लो तहसम्म धेरै नै प्रभाव पार्ने हुन्थ्यो । बुवाले आफ्नो राजनीतिक जीवनमा आदर्श, निष्ठा र नैतिकताको बलियो खम्बा उभ्याउनुभएको थियो ।

औपचारिक शिक्षा अघि नबढाउने बुवा छोरीको सल्लाहपछि बुवाले मलाई आफ्नो किताबको दराजबाट मार्क्सवादको सामान्य ज्ञान, लेखक सुरेन्द्र केसीको नेपालको कम्युनिस्ट पार्टीको इतिहास, नेपालको इतिहाससम्बन्धी केही पुस्तक निकालिदिनुभयो । म पनि बुवासँगै हरेक बिहान केही घण्टा पुस्तक पढ्ने भए । सानै भएकाले यी किताबका केही विषयवस्तु बुझ्थेँ भने केही बुझ्दिन्थेँ ।

बुवा काम विशेषले नेपाल आउने जाने गर्नुहुन्थ्यो । जनयुद्ध आफ्नो उत्कर्षमा थियो । दिनहुँ भिडन्त, सहादतका खबरहरू आइरहन्थे । म बुवाआमा भएको ठाउँमा पुगेको केही समयमा बुवाले दिदीलाई पनि बोलाउनुभयो । दाइ तिहारमा आउने सल्लाह भयो ।

बुवा नेपाल आउनुभएको बेला २०५९ साल असार ७ गते दाइको सहादत भएको रहेछ । आमा, दिदी र म यो खबरबाट पर थियौँ । बुवा आफ्नो काम सकेर फर्कनुभएपछि दाइको सहादत भएको खबर हामीले दुई महिनापछि भदौमा बुवाको मुखबाट सुन्यौँ । भावनाको उत्कर्षबाट हामीले सामूहिकरूपमा दाइको सहादतलाई आत्मसाथ गरेको अहिले झैँ लाग्छ ।

मैले पनि दाइदिदीले जस्तै भूगोलमै जोडिएर काम गर्छु नभनेको होइन । तर, उमेर सानै भएकाले १८ वर्ष पूरा भएपछि जनमुक्ति सेनामा जाने सर्तमा बुवाको सहयोगीको रूपमा काम गरेको थिएँ । म हरेक बिहान १० बजे साइबर गएर बुवाका लागि नेपालबाट प्रकाशित हुने समाचार डाउनलोड गरी बुवालाई देखाउने र चिठीपत्र, दस्तावेजहरू टाइप गरी मेल गर्ने, कम्प्युटरसँग सम्बन्धित काममा सहयोग गर्थेँ ।

दुई वर्ष भारत बसेपछि शीर्ष नेतृत्वहरू नेपाल बस्ने नीतिअनुसार म पनि बुवाआमासँगै नेपाल आएँ । नेपाल आएको केही समयपछि म जनमुक्ति सेनामा जोडिएँ । बुवा पश्चिम कमान्डमै हुनुभएकाले समय समयमा भेट भइरहन्थ्यो । बुवालाई आफ्ना दुवै छोरी भूगोलमा जोडिएर काम गरेकामा गर्व थियो ।

२०६३ सालमा शान्ति प्रक्रिया सुरु भएपछि बुवा काठमाडौँ बस्न थाल्नुभयो । म रोल्पाको दहवन क्याम्पमा थिएँ । मेरो पढाइ अधुरै रहेकाले मैले पढ्ने इच्छा व्यक्त गरेपछि बुवाले कमिटीमा छलफल गर्न सुझाव दिनुभयो । कमिटीले अनुमति दिएपछि म पढ्नका लागि बुवाहरू भएको ठाउँमा आएँ ।

औपचारिक शिक्षाबारे समग्र माओवादी आन्दोलनको धारणा सकारात्मक थिएन । बुर्जुवा शिक्षामा सुधार गरी जीवनोपयोगी शिक्षा आवश्यक छ भन्ने माओवादीको धारणा थियो ।  शान्ति प्रक्रियाको केही वर्षसम्म औपचारिक शिक्षालाई लिएर एक खालको अप्ठ्यारोको स्थिति थियो । मैले भने यही अप्ठ्यारोका बीच पढ्ने रहरलाई अघि बढाएँ ।

२०६४ सालमा अधुरो रहेको पढाइलाई पूरा गर्न पढाइ छोडेको ६ वर्षपछि म स्कुल गएर एसएलसीको तयारीमा लागे । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएपछि बुवा धेरै खुसी हुनुभयो । मेरा छोरीहरू हरेक परीक्षामा उत्कृष्ट हुँदै उत्तीर्ण हुन्छ भनेर हौसला दिनुभयो । बुवाको औपचारिक अध्ययन नभए पनि स्वअध्ययन धेरै थियो । तर, पनि हाम्रो समाजमा कहिलेकाहीँ औपचारिक अध्ययनलाई लिएर प्रश्न उठाइदिने गरिन्छ । त्यसले बुवालाई केही खल्लो लाग्ने गथ्र्याे ।

दिन, महिना र वर्ष हिसाब गर्ने हो भने बुवासँग १२ वर्षसँगै बसिएछ । बुवासँग बस्ने रहर नमेटिँदै बुवा हामीबाट टाढा हुनुभयो । २०७१ साल भदौ २५ गते साँझ बुवालाई हृदयाघात र मष्तिस्कघात भयो । दोहोरो कुरा गर्दै अस्पताल पुगिएको थियो । अस्पतालको बेडमा हात समाएर बुवासँग कुरा गरेको पनि आजझैँ लाग्छ । बुवासँग दोहोरो कुराकानी भइरहेकाले उपचारपछि ठीक हुन्छ भन्ने विश्वास थियो । तर, हृदयाघातको सर्जरीपछि बुवाको स्वास्थ्यमा सुधार हुन सकेन । परिवार र पार्टीले पनि बुवाको उपचारका लागि जस्तोसुकै व्यवस्था गर्ने तयारी गरेका थियाैँ । तर, बुवाको स्वास्थ्यमा सुधार हुन सकेन । अस्पताल बसाइको पाँच दिनपछि बुवा बित्नुभयो ।

हजारौँ शुभचिन्तकको अगाडि हामीले बुवालाई बिदा ग¥यौँ । बुवा हुनुहुन्न भन्ने सोचेपछि मुटु भारी हुन्छ र अत्यासपूर्ण अँध्यारोमा पुगिन्छ । आफूले आफैलाई सम्हाल्न पनि बुवा हामी माझ नै हुनुहुन्छ भनेर कल्पना गर्ने गरेको छु । साँच्चै भन्ने हो भने बुवा तपाईं बित्नुभएपछि मैले रुन पाएको छैन ।

एक कप चिया पकाएर दिँदा कति खुसी हुनुहुन्थ्यो बुवा । अहिले म खाना पकाउन जान्ने भएकी छु । मेरो परीक्षाको रिजल्ट सुनेर कति खुसी हुनुहुन्थ्यो, अहिले मैले राजनीतिशास्त्रमा स्नातकोत्तर सकेकी छु बुवा । तिम्रा सन्तान होस् भन्नु हुन्थ्यो, अहिले तपाईंका दुई नातिनी भएका छन् र उनीहरूले तपाईंलाई बुवा भनेर चिन्न र बोलाउन सक्ने भएका छन् बुवा ।

सबै छ बुवा, तर यी सबै खुसी सुन्न तपाईं हुनुहुन्न । कहिलेकाहीँ बेसरी रुन मन लाग्छ । तर, रुन पनि सकेको छैन । घरका भित्ताभरी तपाईंको फोटो छ र त्यही फोटोसँग हरेक सुख दुःखमा संवाद गरिरहेको हुन्छु बुवा ।

तपाईं भएको ठाउँमा एक दिन नजाँदा किन आइनौ, न्यास्रो लाग्ने रहेछ भन्नुहुन्थ्यो । तपाईंबिना हामीले सात वर्ष बितायौँभन्दा नि आत्तिन्छौँ । तर, थाहा पनि छ, अब यस्ता धेरै वर्षहरू थपिँदै जान्छन् ।

बुवा आज जन्मदिन, बुवालाई जन्मदिनको अवसरमा धेरै धेरै सम्झना । बुवा जीवित हुनुहुँदा म बुवाको जन्मदिनका लागि भनेर केही उपहार छानिरहेकी हुन्थेँ । तपाईंको भौतिक उपस्थित नभएर उपहार किन्न सकिनँ । तर, बाँचुन्जेल तपाईंको पदचापलाई पछ्याउने कोसिस गरि नै रहनेछु बुवा । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रभा बोगटी
प्रभा बोगटी
लेखकबाट थप