शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गर्भवती, स्तनपान र तत्काल परिवार योजना बनाएका महिलाले पनि ढुक्क भएर खोप लगाउन चिकित्सकहरूको सुझाव

सोमबार, ०४ साउन २०७८, ११ : ०८
सोमबार, ०४ साउन २०७८


निजामती सेवामा कार्यरत अनामनगरकी कमला खत्री कोरोनाविरुद्धको खोप लगाउने कि नलगाउने भन्नेबारे अन्योलमा छिन् । तीन महिनाकी छोरीलाई स्तनपान गराउँदै आएकाले पनि खोप लगाउँदा कतै छोरीलाई असर पर्ने त होइन भनेर उनी अन्योलमा परेकी हुन् ।

उनी कार्यरत कार्यालयमा प्रायः सबैले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । उनलाई कोरोनाविरुद्धको खोप लगाउने इच्छा भएर पनि काखे छोरीका कारण असमञ्जसमा परेकी हुन् ।

कमला एक प्रतिनिधि पात्रमात्र हुन्, उनीजस्तै स्तनपान गराउने धेरै आमाहरू खोप नलगाइकन जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका छन् ।

सरकारले प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्दै आएको छ । तर, गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई खोपको प्राथमिकतामा राखिएको छैन । तत्काल सन्तान जन्माउने योजना बनाएका महिलाहरूले समेत कोरोनाविरुद्धको खोप नलगाएको पाइएको चिकित्सकहरू बताउँछन् ।

जोखिम समूह तथा प्राथमिकताको आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप अभियान सञ्चालन गरे पनि उच्च जोखिममा रहेका गर्भवती, सुत्केरी, तथा तत्काल परिवार विस्तारको योजना बनाएका महिलाहरू खोप लगाउनबाट वञ्चित भएको स्त्रीरोग विशेषज्ञहरूको भनाइ छ ।

कतिपय देशले स्तनपान गराइरहेका आमा र गर्भवतीलाई समेत खोप अभियानमा सहभागी गराएका छन् । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी निर्देशक डा. सङ्गीता मिश्र गर्भवती महिला जोखिम समूहमा पर्ने भएकाले उनीहरूलाई खोपको व्यवस्था मिलाउन अति आवश्यक रहेको बताउँछिन् ।

नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज नेपाल (नेसोग)ले गर्भवती र स्तनपान गराइरहेका महिलाहरूलाई पनि तत्काल कोरोना खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

नेपालमा पछिल्लो समय गर्भवती महिलाहरूमा समेत कोरोना सङ्क्रमणले गम्भीर असर गरिरहेको दाबी गर्दै नेसोगले तत्काल कोरोना खोप उपलब्ध गराउन माग गरेको हो ।

स्त्री रोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदी गर्भवती महिलाहरूलाई कोरोनाविरुद्धको खोप लगाउनेबारे कुनै निर्देशिका नबनाइए पनि विभिन्न रूपमा गरिएका स—साना अध्ययनहरूले गर्भवती महिलाले खोप प्रयोग गर्न सक्ने देखाएको बताउँछन् ।

हालसम्म गरिएका अध्ययनहरूले कोरोना खोपले गर्भमा रहेका शिशुलाई कुनै असर नगर्ने नदेखिएकाले गर्भवतीका लागि समेत सरकारले खोपको व्यवस्था मिलाउनु पर्ने उनको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले पनि अन्तर्राष्ट्रिय स्तरमा यसबारे ठुलो अध्ययन नभए पनि हालसम्म गरिएका अध्ययनहरूले खोपले गर्भमा रहेको शिशुलाई कुनै असर नगर्ने देखाएको बताए ।

कोरोना सङ्क्रमणको जोखिममा सबै उमेर समूहका नागरिक परेझैँ गर्भवती, स्तनपान गराइरहेका आमा, तत्काल परिवार विस्तारको योजना बनाएका महिला पनि उच्च जोखिममा रहेको भन्दै उनले त्यस्ता महिलालाई पनि कोरोनाविरुद्धको खोप दिन उपयुक्त हुने बताए ।

आजको दिनसम्म उपलब्ध भएका कोरोनाविरुद्धको खोप गर्भवती, स्तनपान गराइरहेका महिलाहरूले समेत लगाउन मिल्ने विभिन्न अध्ययनहरूले देखाएको डा. पुन बताउँछन् ।

भारत, अमेरिका र बेलायतमा पनि प्रसूति सम्बन्धी चिकित्सकहरूका विभिन्न संस्थाले गर्भवती महिलालाई खोप दिन माग गर्दै आएका छन् । गर्भवती महिलाहरूको जीवन रक्षाका लागि खोप अपरिहार्य रहेकोले उनीहरूलाई खोपको प्राथमिकतामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरूले माग गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप