मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

खोपको खुसी

सोमबार, ०४ साउन २०७८, १९ : ४९
सोमबार, ०४ साउन २०७८

सरकारले प्राथमिकता आधारमा कोरोनाविरुद्धको खोप दिइरहँदा खोप केन्द्रहरूमा मानिसहरूको ठूलो भिड छ । खोपको प्राथमिकतामा पर्दै नपरेका नागरिक खोप लगाउन भनसुन गर्न र पहुँचका आधारमा खोप लगाउन खोप केन्द्रमा पुग्ने जमातको पनि कमी छैन । खोप लगाउन इच्छुक मानिसको सङ्ख्या बढिरहँदा अत्तरखोलस्थित अर्थोपेडिक अस्पतालसँगै रहेको खगेन्द्र नवजीवन केन्द्रमा सोमबार सुरु भएको खोप केन्द्रको दृश्य भने फरक थियो । फरक क्षमता भएका धेरैजसो नागरिक खोप लगाउन नपरे हुन्थ्यो जस्तो गरिरहेका थिए । 

खोप लगाउने स्थानसँगै जोडिएको कोठामा बसिरहेकी नाम परिवर्तन भवानी थापालाई खोप लगाउन कर्मचारीले जाऊँ भनिरहेका थिए । खोप लगाउन पर्छ भनेर उनी खोप लगाउने प्रतीक्षामा भुइँमा बसेका अनि ह्वीलचेयरमा बसिरहेकाहरूलाई हेर्दै नहेरी कुल्चिँदै घरियताघरिउता गरिरहेकी थिइन् । ‘सुईले दुख्छ, म लगाउँदिन‘ भन्दै चर्को चर्को बोल्दै यताउता गरिरहेकी थिइन् । हेर्दा उनी २४/२५ वर्षकी देखिन्थन् तर, उनको व्यवहार साना नानी बाबुको जस्तो थियो । उनी जस्तै शरीरिक रूपमा पूर्ण विकास भएको तर व्यवहारमा बच्चापन हुनेलाई खोप लगाइदिन केन्द्रकी जनस्वास्थ्य अधिकृत निर्मला कार्की र अन्य कर्मचारीहरूले सम्झाइबुझाई गरेर खोप लगाइदिन व्यस्त थिए ।

कोरोनाविरुद्धको खोप लगाइसकेपछि पुनः खोप लगाउने भन्दै फरक क्षमता भएका ६५ वर्षीय सोलुखुम्बुका मोहन काफ्ले कार्ड लिएर बसिरहेका थिए । ‘धेरै खोप लगायो भने कोरोना लाग्दैन होला, फेरि पनि खोप लगाउने हो’ भन्दै भिडमा ह्वीलचेयरमा बसिरहेका थिए । विगत ९ वर्षदेखि ह्वीलचेयरको सहाराले गुड्ने उनीलाई एक डोज मात्रै खोप लगाएपछि पुनः खोप लगाउन पर्दैन भन्ने जानकारी थिएन ।

अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप लगाउने क्रममा खगेन्द्र नवजीवन केन्द्र फरक क्षमतासँगै मानिस रूप अपरिपक्व, वृद्धवृद्धालाई खोप लगाइदिन खोप बारे बुझाउन सहज थिएन ।

यद्यपि शरीरिक रूपमा अशक्तता हुनुका साथै मानसिक रुपमा पनि पूर्णरुपमा स्वस्थ व्यक्तिहरू  कोरोनाविरुद्धको खोप लगाउन पाउँदा निकै खुसी देखिन्थे ।

लामो समयदेखि कोरोनाको त्रासमा केन्द्र सीमित भएका फरक क्षमता भएका व्यक्ति कोरोनाविरुद्धको खोप लगाउन पाउँदा फरक क्षमता भए पनि बुझ्नेहरु धेरै खुसी भएको जनस्वास्थ्य प्रमुख रमा कार्कीले बताइन् ।

‘हातखुट्टा चल्दैन हिँड्डुल गर्न सक्दिन त्यसमाथि कोरोना सङ्क्रमित भएर झन् दुख पाउने त होइन भन्ने त्रासले हुन्थ्यो, अब त खोप लगाउन पाइयो मन ढुक्क भयो ।’ ब्याट्रीबाट स्वचालित ह्वीलचेयरमा बसिरहेकी खोटाङकी पुना राईको भनाइ हो । 

करिब ९ वर्षअघि रुखबाट लडेपछि उनको घाँटीबाट तलको शरीरको भाग चल्दैन । केन्द्रमा बसिरहँदा फरक क्षमता भएका साथीहरुसँग पनि सजगता अपनाउँदा, ह्वीलचेयरमै भए पनि ढुक्कसँग हिँड्न नसकेको सुनाउँदै उनले अब मन ढुक्क भएको सुनाइन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अत्तरखेलस्थित खगेन्द्र नवजीवन केन्द्रमा पुगे जोन्सन खोप लगाउने कार्यक्रमको शुभारम्भ गरेका थिए भने उनका साथमा अमेरिकी राजदूत र्यान्डी बेरी सहभागी  थिए ।   खोप केन्द्रमा पुगेर खोप लगाउन नसक्ने व्यक्तिलाई केन्द्र आएर लगाइदिएको भन्दै खोप लगाएका फरक क्षमता भएका खुसीका साथ भलाकुसारी गरिरहेका थिए ।

‘खोप केन्द्रमा पुगेर हामीले खोप लगाउन सक्थेनौं, सरकारले एक पटक मात्रै लगाए हुने खोप हामी बसिरहेको ठाउँ आएर लगाइदियो भन्दै खोप लगाइसकेका साथीहरूसँग खुसी हुँदै भलाकुसारी गर्न व्यस्त थिए, फरक क्षमता भएका सिन्धुपाल्चोकका गंगे तामाङ ।

वर्षअघि सवारी दुर्घटनामा परि स्पाइनल इन्जुरी हुँदा विगत साढे ६ वर्षदेखि ह्वीलचेयरमा बस्दै आएका तामाङलाई पहिलो लहरमा खासै कोरोनासँग त्रसित नभएको उनले सुनाए । तर, दोस्रो महामारीमा केन्द्र नै फरक क्षमता भएका व्यक्तिहरूमा कोरोना पुष्टि भएपछि धेरै अतालिएको उनले बताए । 

खगेन्द्र नवजीवन केन्द्रमा ३ सय २५ जना फरक क्षमता भएका व्यक्तिले कोरोनाविरुद्धको जोन्सोन एन्ड जोन्सोनको खोप लगाएका छन् । 

सरकारले  स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने सोमबार नै सरकारले निर्णय गरेको थियो ।

जोन्सन एन्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले खोप लगाउन पाउँछन् ।   साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप दिने निर्णय गरेको हो । 

अमेरिकाबाट जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो ।  नेपालमा यसअघि पनि विभिन्न उमेर समूह र क्षेत्रका आधारमा कोभिसिल्ड र चिनियाँ भेरोसेल खोप लगाए पनि फरक क्षमता भएका नागरिक खोपको प्राथमिकतामा परेका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप