बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म छाडेर सिरियल निर्माणमा चर्चित निर्देशक

केही समयको सदुपयोग गर्न होमिए, कोही भन्छन् ‘पैसा यहीँ छ’
बुधबार, ०६ साउन २०७८, ११ : ०३
बुधबार, ०६ साउन २०७८

कोरोनाले नेपाली फिल्म क्षेत्र नराम्रोसँग थलिएको छ भने थुप्रैले काम गुमाएका कारण चरम आर्थिक अभावको सामाना गर्नु परिरहेको छ । यो अवस्थामा पनि कतिपय म्युजिक भिडियो लगायतका कामबाट राम्रो पैसा कमाउन सफल छन् । यद्यपि सबैको अवस्था त्यस्तो छैन ।

कतिपयले कोरोनाबाट पाठ सिक्दै वैकल्पिक बाटोतिर अग्रसर भएका छन् । त्यसका लागि रेस्टुरेन्ट, व्यापार व्यवसाय लगायत क्षेत्रमा लागेका देख्न सकिन्छ ।

नेपाली फिल्मका चर्चित निर्देशकहरूको कुरा गर्ने हो भने कोही फिल्म छायाङ्कनको माहोल पर्खंदैछन् भने कोही म्युजिक भिडियोमा अल्झिएका छन् । कतिपय निर्देशक भने सानो पर्दाका फिल्म अर्थात् सिरियलमा समय सदुयोग गर्दै राम्रो आम्दानी गर्न सफल छन् ।

फिल्म निर्देशक शोभित बस्नेत अहिले सिरियल निर्माणमा व्यस्त छन् । ३३ फिल्म निर्देशन गरेका बस्नेतले पहिलो कोरोना भेरियन्टपछि सिरियलमा हात हालेका हुन् । उनले ‘कुल खानदान’, ‘साथ सधैँको’, ‘हलो ब्रो’ लगायत एकैसाथ ५, ६ वटा सिरियल निर्माण गरिरहेका छन् । ‘कुल खानदान’, ‘साथ सधैँको’ नियमित रूपमा रमाइलो टेलिभिजनबाट प्रसारण भइरहेको छ भने ‘हलो ब्रो’ बीएम टीभीबाट आउने गरेका छ । यीबाहेक अन्य तीनवटा सिरियल केही दिनमा टेलिभिजन फाइनल गरेर प्रसारमा ल्याउने निर्देशक बस्नेतले बताए ।

छवटा सिरियलका निर्मातासमेत बनेका शोभितले पाँचवटा सिरियल अरूले र एउटा आफैँ निर्देशनसमेत गर्दै आएका छन् । शोभितको सिरियलमा फिल्ममा कलाकारदेखि नयाँ तथा पुराना थुप्रै कलाकारले काम पाउँदै आएका छन् । अहिले सिसियलको राम्रो आम्दानी भएको निर्देशक बस्नेत बताउँछन् ।

त्यस्तै मङ्गलम, भाग सानी भाग, श्रीमान् लगायत आधा दर्जनभन्दा बढी व्यावसायिक फिल्मका निर्देशक नवल नेपालसमेत सिरियल लिएर आउँदैछन् । उनले बीएम टीभीबाट ‘दिल चुप छ’ सिरियल दर्शक माझ ल्याउन लागेका हुन् । उनको सिरियल ९ साउनबाट प्रसारणमा आउनेछ । प्रेमकथामा आधारित रहेर निर्माण भएको सिरियलमा वैवाहिक जीवनपछि आउने सुखान्त र दुखान्त दुवै पक्ष समेटिएको नेपाल बताउँछन् ।

‘दिल चुप छ’मा सरोज खनाल, सूर्यमाला खनाल, एसराज गराच, रिस्ता अधिकारी, निर्मल न्यौपाने, विशाल पहाडी, नरेश पौडेल लगायतका कलाकार मुख्य भूमिकामा देखिँदैछन् ।

फिल्मका लागि राम्रो र फरक विषयवस्तु छान्न माहिर निर्देशक मनोज पण्डितले पनि सिरियल ‘जीवन चक्र’ बनाएका छन् । नेपाल टेलिभिजनका लागि उनले बनाएको सिरियल गत आइतबारबाट प्रसारणसमेत सुरु भएको छ । लेखन तथा निर्देशक समेत उनकै रहेको सिरियल स्वास्थ्य चेतनाको विषय समेटेर बनाएका हुन् ।

के तपाईं स्वस्थ हुनुहुन्छ ? भन्ने नारा रहेको सिरियल स्वास्थ्यकर्मीमा समर्पित छ । विशाल पोखरेल, गणबहादुर गुरुङ, निमा लामा, अमर बुढा लगायतको मुख्य अभिनय सिरियलमा छ । केही कलाकार उनले सुटिङ गरेको स्थानको पनि समेटेका छन् । ‘वधशाला’, ‘दास ढुङ्गा’ लगायतमा मनोजले फिल्म निर्देशन गरेका छन् ।

‘श्रीमान् श्रीमती’, ‘हाम्रो माया जुनी जुनीलाई’, ‘सरी ल’, ‘हवल्दार सुन्तली’, ‘किस्मत–२’ लगायत करिब दर्जन हाराहारीको फिल्म निर्देशन गरेका ऋषि लामिछाने पनि ‘दृष्टि ः जीवनका हेराई’ नामक सिरियल गरिरहेका छन् । रमाइलो टेलिभिजन र डिस होमले निर्माण गरेको यो सिरियल रमाइलो टेलिभिजनबाट नियमित आउने गर्छ । विगत २ वर्षदेखि उनले यो सिरियल गरिरहेका छन् । सामाजिक कथा समेटिएको सिरियलमा सरिता लामिछाने, मिथिला शर्मा, कविता घले, गोमा केसी, कमल बोहोरा, सरोज दाहाल लगायतको मुख्य भूमिका रहँदै आएको छ ।

दिलमाया, विन्दास लगायत अहिलेसम्म २२ फिल्म निर्देशन गरिसकेका छन् निर्देशक राजु गिरीले । अहिले भने उनी ‘आमा सबैकी’ सिरियल गरिरहेका छन् । यसअगाडि ७ सिरियल निर्देशन गरिसकेका गिरीको ‘आमा सबैकी’ छायाङ्कन भइरहेको छ । आगामी शुक्रबारदेखि मेघा टेलिभिजनबाट सिरियल प्रसारण हुँदैछ । आमाका थुुप्रै रूप सिरियलमा देख्न सकिने निर्देशक गिरीले बताए ।

सविन बाँस्तोला, सङ्गम भण्डारी, शुभेच्छा थापा, रचना पौडेललगायत कलाकार सिरियलको मुख्य भूमिकामा छानिएका छन् ।

चलचित्र निर्देशक समाजकी पूर्वअध्यक्ष तथा फिल्म निर्देशक सुचित्रा श्रेष्ठ पनि अहिले ‘खुलदुली’ नामक  सिरियल गरिरहेकी छन् । सामाजिक कथामा निर्माण भएको सिरियलको लेखक तथा निर्देशकसमेत उनी आफैँ हुन् । रश्मि भट्ट, रमेश बस्नेत, नवीन श्रेष्ठ, शाश्वत श्रेष्ठ, राजकुमार ठाकुर लगायतको सिरियलमा मुख्य भूमिका रहेको उनी बताउँछिन् ।

यी त उदाहरण मात्र हुन् निश्चल बस्नेत लगायत अन्य केही निर्देशकसमेत अहिलेको सिरियल लिएर आउँदै गरेका बताइन्छ ।

किन सिरियलमा ?

फिल्म निर्देशनमै भ्याइनभ्याइ हुने धेरै निर्देशक अहिले धमाधम सिरियल गर्दैछन् । तीमध्ये कोहीले एउटामै चित्त बुझाएका छन् भने कोही त ६ वटासम्म गर्दैछन् । फिल्मका निर्देशक सिरियलमा किन ? भन्ने प्रश्नमा अधिकांश भन्छन् ‘अल्झिने बाटो ।’ कतिपय त आम्दानी पनि राम्रो भएको बताउँछन् ।

निर्देशक नवल नेपाल आफूले सिरियल ‘दिल चुप छ’ अल्झिने बाटोका रूपमा काम गरेको बताउँछन् । सिरियल बनाउनुको उनको अर्काे उद्देश्य पनि रहेको छ । त्यो हो फिल्म हल बन्द भएको अवस्थामा नेपाली फिल्मका पारखीलाई केही हदसम्म फिल्मको प्यास मेटाउन राम्रो सिरियल दिनु ।

‘लामो समय फिल्मको काम नहुनेहुँदा समय त्यतिकै बस्नुभन्दा कुनै न कुनै रूपमा फिल्मसँग जोडिएर काम गर्दा राम्रो होला भन्ने मेरो सोच हो,’ निर्देशक नेपालले भने, ‘त्यसका पछाडि दर्शकका लागि राम्रो सिरियल दिने अर्काे उद्देश्य पनि लुकेको छ ।’ फिल्म र सिरियलमा काम गर्ने शैलीमा आफूले खासै भिन्न नदेखेको नेपालले सुनाए ।

नवलको जस्तै विचार निर्देशक राजु गिरी र सुचित्रा श्रेष्ठको पनि रहेको पाइन्छ । उनको एउटै स्वर अहिलेको समय कामका लागि सिरियल उपयुक्त भन्ने रहेको छ ।

‘अहिले फिल्म बनाउने माहोल छैन । त्यसैले आफूमा भएको कला जेमा देखाए पनि हुन्छ भनेर सिरियल थालेँ’ निर्देशक गिरीले भने ‘फिल्म बन्द भयो भन्दैमा गरिरहेको पेसा छोड्न नसकिने रहेछ ।’

‘अहिले फिल्म हलमा जाने माहोल नभए पनि टेलिभिजन र डिजिटल प्लेटफर्मको माहोल राम्रो छ,’ सुचित्राले भनिन् ‘आफूलाई अहिलेको माहोलमा सक्रिय राख्न सकिने हिसाबले पनि सिरियल रोजाइमा प¥यो ।’ जानेको कुरा यही भएकाले अहिले आएर पेसा परिवर्तन गर्न नमिल्ने उनीहरू सुनाउँछन् ।

निर्देशक मनोज पण्डितले सिरियल गर्नुको कथा भने अलि भिन्न पाइन्छ । ‘जबसम्म हामी सबै स्वस्थ हुन सक्दैनौँ तबसम्म समाजका कुनै पनि समस्या समाधान हुन सक्दैन भन्ने मेरो बुझाइ हो,’ निर्देशक पण्डितले भने, ‘स्वास्थ्य क्षेत्रमा केही गरौँ भन्ने चाहना छ । अर्काे कुरो मेरी आमाले मैले बनाएका फिल्महरू त हेर्नु हुँदैन ।’ आफ्नी बूढी भएकी आमाजस्तै सबै आमाबुबाले यो समय घरमै बसेर आफ्नो काम हेर्दै केही सन्देश पनि लिऊन् भन्ने उद्देश्यसमेत सिरियलको रहेको पण्डितले सुनाए ।

‘मेरो इच्छा सिरियल गर्नका लागि मात्र काम गर्ने थिएन । केही न केही कुरामा योगदान दिनुपर्छ भन्ने छ,’ पण्डितले थपे, ‘जहाँ राज्यको सत्ता सजिलै पुग्दैन त्यहाँ पुग्नुपर्छ र त्यहाँको समयस्या बाहिर ल्याउनुपर्छ भन्ने सोच पनि थियो ।’ सिरियल गर्नु फुर्सदको अवसर पनि हो ।

निर्देशक शोभित बस्नेत भने अहिलेको समयमा फिल्मभन्दा राम्रो आन्दानी सिरियलबाट गर्न सकिने बताउँछन् । आफूलाई बचाउन पनि अहिले सिरियल गरिरहेको उनको भनाइ रहेको छ ।

‘अहिलेको समय त्यतिकै बस्ने कुरो पनि भएन’, निर्देशक बस्नेतले भने, ‘सिरियलको आम्दानी पनि राम्रो छ ।’ २५ फिल्म आफ्नै लगानीमा निर्माण गरेका बस्नेत केही फिल्ममा नराम्रोसँग डुबेका छन् । सो पैसा उठाउन पनि आफूले अहिले धेरै सिरियल गरिरहेको बस्नेतले ठट्टाकै पारामा बुझाए ।

अब फिल्म नगर्ने हो र ?

यतिबेला सिरियलमा होमिएका फिल्म निर्देशकहरू फेरि फिल्ममा नफर्किने भने होइन । धेरैको चिन्ता र चासोको विषय बनेको छ । समय अनुकूल हेरेर सबैको फेरि फिल्ममा फर्किने इच्छा रहेको पाइन्छ । त्यसका लागि उनीहरू फिल्म लेखनदेखि प्रिप्रोडक्सनसम्मका विभिन्न काम गरिरहेका छन् ।

सबै कानुनमा बाँधिएकाले फिल्मका लागि आफूले नेपाल सरकारको अनुमति पर्खिएको निर्देशक नवल नेपाल बताउँछन् । ‘अब बन्ने मेरो फिल्म लेखनको अन्तिम चरणमा छ । सङ्गीत, कलाकार, प्राविधिक आदि छान्ने काम अहिले पनि गरिरहेको छु,’ नवलले भने ‘फिल्म त गर्ने हो ।’ कोरोनाले नेपाली दर्शकको मनोविज्ञान पनि परिवर्तन गरेको बुझेका नेपाल अबको दिनमा झनै सचेत भएर सिर्जनात्मक काम गर्नुपर्ने सुनाउँछन् ।

निर्देशक ऋषि लामिछानेसँग पनि अहिले हातमा चारवटा फिल्म छन् । अहिलेको अवस्थामा फिल्म के गर्ने गर्ने भनेर उनीहरू अलमल परिरहेका छन् । कोरोना नआएको भए एक वर्ष अगाडि नै उनी केही फिल्म गरिसक्थे ।

‘मसँग रहेका मध्ये एक फिल्म अहिले पनि तुरुन्तै गर्नुपर्ने छ,’ लामिछानेले भने, ‘माहोल बन्ने बित्तिकै फ्लोमा निस्किहाल्छु ।’

निर्देशक सुचित्रा श्रेष्ठले फिल्म ‘चिठी तिमीलाई’ गत वर्षकै वैशाखमै फ्लोरमा लान चाहन्थिन् । जसको तयारी पनि उनले गरेकी थिइन् । चैतबाट लकडाउन भएका कारण त्यो रोकिन पुग्यो । गीत रेकर्डिङ लगायत सबै कार्य सकिएको फिल्म माहोल उपयुक्त हुने बित्तिकै फ्लोरमा लाने उनी बताउँछिन् । उनले भनिन्, ‘यो मात्र होइन, अर्काे एउटा फिल्म पनि सँगै गर्नु पर्नेछ ।’

आफ्नै लगानीमा फिल्म एक वर्ष नगर्ने बताउने निर्देशक शोभित बस्नेत पनि फिल्म भने गर्ने बताउँछन् । ‘अझै केही वर्ष फिल्म क्षेत्रका लागि गाह्रो भएकाले लगानी गरेर फिल्म बनाउँदिन भन्ने छ,’ निर्देशक बस्नेतले भने, ‘बाहिरको निर्माताको फिल्म भने गर्छु ।’ अहिले फिल्म बनाउँदा ९९ प्रतिशत जोखिम भएको बताउने बस्नेत यो बुझाउँदा पनि लगानी गर्न तयार निर्माताको फिल्ममा काम गर्ने सुनाउँछन् । भन्छन् ‘आफू लगानी गरेर पैसा डुबाउँदिनँ । अरू तयार छन् भने म काम गर्न पछि हट्दिनँ ।

त्यस्तै ‘बिन्दास ४’ र ‘डिल्लीराम’ रिलिज गर्न बाँकी नै रहे पनि निर्देशक राजु गिरी केही फिल्मको अहिले पनि तयारी गरिरहेका छन् । फिल्म हल खुलेपछि फिल्मी गर्ने सोच उनमा पनि छ ।

निर्देशक मनोज पण्डित पनि फिल्मी माहोल कुरेर बसेका छन् । सुटिङको माहोल हुने वित्तिकै प्रोजेक्ट लिएर फ्लोरमा निस्किने उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप