बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमालेमा २४ घण्टे स्पष्टीकरण : काउन्टडाउन कहिलेबाट हुन्छ सुरु ?

मेटमणि चौधरी भन्छन् – पत्र नै पाएनाैँ
बुधबार, ०६ साउन २०७८, १५ : ०४
बुधबार, ०६ साउन २०७८

नेकपा एमालेको जारी १० औँ केन्द्रीय समिति बैठकको पहिलो दिन अर्थात् सोमबारको बैठकले फ्लोर क्रस गर्ने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिए पार्टी सदस्य नै नरहने गरी कारबाही गर्ने तयारीअनुसार ओली पक्षले स्पष्टीकरण सोधेको थियो । यो हिसाबले गणना गर्दा मंगलबार नै २४ घण्टाको समय व्यतीत भैसकेको हुन्छ ।

तर, मंगलबार अपराह्न दोस्रो दिन बसेको बैठकले पनि उनीहरूको स्पष्टीकरण बारे ठोस निर्णय गर्न सकेन । मंगलबारको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका माधवकुमार नेपालसहित २२ एमाले सांसदमाथिको कारबाहीबारे कुनै निर्णय नभएको जानकारी दिएका थिए ।

​सोमबारको बैठकले पार्टीका २२ सांसदसँग २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरे पनि मंगलबार उक्त समय गुज्रिनसकेकाले थप निर्णय हुन नसकेको भन्ने जवाफ दिएका ज्ञवालीले २४ घण्टे स्पष्टीकरणको समय कहिलेबाट सुरु हुने र कहिले सकिने हो भन्नेबारे आफै अलमलमा परेका थिए ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले फ्लोर क्रस गर्ने २२ जना सांसदहरू सबैलाई पत्र पठाइसकेको दाबी गरे । ‘स्पष्टीकरण सबैलाई पठाइसकिएको छ पत्र पठाएपछि स्पष्टीकरणको समय सुरु भएको मानिन्छ ’, बुधबार दिउँसो तामाङले रातोपाटीसँग भने । तर उनले पनि स्पष्टीकरणको समय कहिलेबाट सुरु भएको र कहिले सकिने हो ? भन्ने प्रश्नको ठोस जवाफ दिएनन् ।

यता, फ्लोर क्रस गर्ने माधव पक्षका सांसद मेटमणि चौधरीलाई बुधबार दिउँसो रातोपाटीले स्पष्टीकरण पत्र कहिले पाउनुभयो ? भन्ने प्रश्न गर्दा उनले आफूले त्यस्तो पत्र नपाएको जवाफ फर्काए । ‘मैले अहिलेसम्म स्पष्टीकरण पत्र पाएको छैन’, चौधरीको जवाफ छ ।

गत असार ३ गते बसेको प्रतिनिधि सभा बैठकमा एमालेका २२ सांसदले पार्टीको ह्वीप विपरीत शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए भने ११ जना तटस्थ बसेका थिए । यसअघि एमालेले देउवाको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिए पनि २२ जनालाई मात्रै स्पष्टीकरण सोधेको थियो ।

पत्र पठाउनै अलमल

नेकपा एमालेमा अध्यक्ष ओली र माधव नेपाल समुहबीचको खटपट जारी नै छ । यो खटपटमा एक पक्षले अर्को पक्षमाथि कारबाहीको चेतावनी, आरोप प्रत्यारोप र गालीका वर्षा खन्याइरहेको छ । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालका अभिव्यक्तिले पनि अव एमाले एकता कायम रहन्छ भन्न सक्ने अवस्था छैन । तर ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरू अझै पार्टी एकता गर्न सकिन्छ भन्दै प्रयासरत छन् । सोही नीति अनुसार उनीहरूले स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने काम नगर्न दबाब समेत दिँदै आएका छन् भने अर्कोतर्फ कारबाहीको त्रास देखाएपछि माधव समूहमा लागेका नेताहरू ओली समूहमा आउँछन् भन्ने आशा पनि रहेकाले स्पष्टीकरण सोध्नेबारेमा समेत अलमल गरेको बताइन्छ । त्यसै कारण एमालेमा सोध्ने भनिएको स्पष्टीकरणको सीमारेखा समेत अस्पष्ट भएको एक नेताको भनाई छ । तर, एमाले केन्द्रीय कार्यालयका सचिव तामाङ आज बस्ने बैठकले स्पष्टीकरण सोधिएका नेताहरुबारे थप कारबाही हुने दाबी गर्छन् । ‘सम्भव त आज निर्णय हुन्छ’, तामाङको छोटो. जवाफ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप