देउवाले ठाकुरलाई भने, ‘संसदमा सहयोग गर्नुभयो, अब सरकारमा पनि आउनुस्’

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
बुधबार बिहान आफ्नो मागबारे देउवालाई जानकारी गराउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका ठाकुरलाई देउवाले यस्तो आग्रह गरेका हुन् ।
सो क्रममा देउवाले विश्वासको मत दिएर सहयोग गरेकोमा धन्यवाद दिँदै सरकारमा पनि सहभागी भएर सहयोग पुर्याउन आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । ‘सरकार विस्तार हुँदैछ, त्यसमा तपाईंको पार्टीबाट पनि सहयोग हुनुपर्यो’, देउवाको भनाइ उदृत गर्दै ठाकुर पक्षका कार्यकारिणी सदस्य मुकेश झाले बताए ।
उनले थपे, ‘प्रधानमन्त्री देउवाले नै हाम्रा पार्टीका अध्यक्षलाई बोलाउनु भएको थियो । संसदमा लिएको विश्वासको मतमा समर्थन गरेको कारण धन्यवाद दिनका लागि ठाकुरलाई आफ्नो निवासमा बोलाउनु भएको हो ।’
जवाफमा अध्यक्ष ठाकुरले आफूहरुको माग सम्बोधन गर्ने प्रकृया अगाडि बढाए मात्र सरकारमा आउने भनेको झाले बताए ।
‘सरकारमा जाने–आउने, जाने भइनै रहेको छ, तपाईंले हामीले राखेको माग पुरा गर्ने प्रक्रिया सुरु गर्नुहोस्, हामी त्यसबारेमा विचार गर्छौँ,’ ठाकुरको भनाइ उद्धृत गर्दै जसपाका एकजना कार्यकारिणी सदस्यले बताए ।
अध्यक्ष ठाकुरले देउवा समक्ष आठ बुँदे प्रस्तुत गरेका छन् । नागरिकताको विषय, संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरीलगायत राजबन्दीको रिहाइ लगायतका माग अघि सारिएको छ ।
जसपाका कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले आफूहरुको मुख्य बटमलाइन मधेसको माग नै भएको बताए । ‘हाम्रो बटमलाइन मधेशको माग नै हो, माग पुरा गरेपछि हामी सरकारमा जान्छौं,’ उनले भने ।
हिजो पार्टीमा पनि त्यही छलफल भएको बताउँदै उनले मधेशको माग पूरा गरेपछि मात्र सरकार कुरा गर्ने नत्र बाहिरबाट समर्थन गर्ने बताए । जसपामा उपेन्द्र यादव समूहले देउवालाई विश्वासको मत दिने भएपछि ठाकुर समूहले पनि अन्तिममा देउवाको पक्षमा निर्णय गरेको थियो । यद्यपी जसपाको विवाद कायमै रहेको छ ।