बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रानी भन्सार नाकाबाट निर्यातको तुलनामा पाँच गुणा बढी मूल्यको सामान आयात

बिहीबार, ०७ साउन २०७८, १० : २४
बिहीबार, ०७ साउन २०७८

विराटनगर । विराटनगरको रानी भन्सार नाकाबाट आर्थिक वर्ष २०७७/०७८ मा एक खर्ब ८९ अर्ब ६५ करोड मूल्य बराबरका विभिन्न विदेशी उत्पादन नेपाल आयात भएको छ ।

विराटनगर भन्सार कार्यालयका अनुसार यो वर्ष नेपाली उत्पादन निर्यातको तुलनामा झण्डै ५ गुणा बढी मूल्यका सामान आयात भएको हो । भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले गत आर्थिक वर्ष ३६ अर्ब ९० करोड मूल्यका विभिन्न स्वदेशी उत्पादन रानी भन्सार नाकाबाट निर्यात भएको बताए ।

आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत वर्ष यो भन्सार नाकाबाट आयात र निर्यात दुवैको आकार बढेको छ । अघिल्लो आर्थिक वर्षमा विराटनगर भन्सारबाट १ खर्ब ३२ अर्ब ६ करोड मूल्य बराबरको विदेशी उत्पादन नेपाल आयात भएको थियो भने २८ अर्ब ५१ करोड ३१ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको थियो ।

विराटनगर भन्सार कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा विराटनगर भन्सारबाट सबैभन्दा बढी १२ अर्ब ७३ करोेड मूल्य बराबरको १ लाख ६ हजार मेट्रिक टन भटमासको कच्चा तेल आयात भएको छ ।

यस्तै, गत आर्थिक वर्षमा ९ अर्ब ३२ करोड मूल्यको एमएस विलेट, ८ अर्ब ५ करोड मूल्यको पोलीथिन दाना, ६ अर्ब ३१ करोड मूल्यको स्टिल वायर रड, ५ अर्ब ९७ करोड मूल्यको तयारी पोशाक, ५ अर्ब ६ करोड मूल्यको सुर्यमुखीको कच्चा तेल, ४ अर्ब ८२ करोड मूल्यको मकै र ४ अर्ब ५२ करोड मूल्यको लिक्विड पेट्रोलियम ग्यास लगायतका सामग्री नेपाल भित्रिएको सूचना अधिकारी यादवले बताए ।

रानी भन्सारबाट गत आर्थिक वर्ष १२ अर्ब ९ करोड मूल्यको भटमासको प्रशोधित तेल, ४ अर्ब ६८ करोड मूल्यको सेन्थेटिक यार्न, ३ अर्ब ७९ करोड मूल्यको जुटका बुनिएका कपडा, २ अर्ब २४ करोड मूल्यको जुटको बोरा तथा झोला, १ अर्ब १ करोड मूल्यको चाउचाउ, नुडल्स तथा पास्ता, ४३ करोड १९ लाख मूल्यको तामाको सिट, चादर तथा स्टिप र ४३ करोड ३ लाख मूल्य बराबरको सनपाटको धागो लगायतका नेपाली उत्पादनहरु भारत निर्यात भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउत विदेशी बजारमा नेपाली उत्पादनको ब्राण्ड बिल्डिङको अभाव हुँदा अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले स्थान नपाउने समस्याका कारण नेपालले बर्सेनि ठूलो व्यापार घाटा झेलिरहेको बताउँछन् ।

उनले भने, ‘उद्योग व्यवसाय क्षेत्रमा रहेका प्रक्रियागत जटिलतालाई अन्त्य गरिए सहजै आयात प्रतिस्थापन गर्न सकिन्छ ।’

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले भारतीय उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्दा नसक्दा धेरै उद्योग बन्द हुने अवस्थामा पुगेको तथा केही उद्योग बन्द भइसकेको बताए । उनका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरका कतिपय निर्यातमुखी उद्योग यसअघि नै बन्द भइसकेका छन् ।

२०४६ सालमा यस करिडोरमा निर्यातमुखी उद्योगहरुको संख्या १५० रहेकोमा हाल यो संख्या ४३ मात्र रहेको उनले बताए ।

अहिले पनि यस क्षेत्रमा सञ्चालित जुट, गार्मेन्ट, कपुर, वनस्पति घिउ र मैनबत्ती लगायतका ३० बढी उद्योगहरु बन्द हुने अवस्थामा रहेको अध्यक्ष प्याकुरेलले बताए ।

४० को दशकमा यस करिडोरमा सञ्चालित उद्योगबाट उत्पादित वस्तुमध्ये ५० प्रतिशतभन्दा बढी निर्यात हुँदै आएको थियो । तर ५० को दशक सुरु भएसँगै बढ्दो व्यापार घाटाका कारण ती उद्योगहरु बन्द हुने क्रम बढेको यस क्षेत्रका उद्योगी व्यापारीहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप