शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल सकिँदै, यी हुन् अबका प्रधानसेनापति

बिहीबार, ०७ साउन २०७८, १२ : ५८
बिहीबार, ०७ साउन २०७८

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा साउन २४ गतेबाट बिदामा बस्दैछन् । कार्यकाल सकिनुभन्दा एक महिनाअघि बिदामा बसेर आफ्ना उत्तराधिकारीलाई कार्यवाहक जिम्मेवारी दिने सैन्य परम्पराअनुसार थापा बिदामा बस्न लागेका हुन् ।

४३ औं प्रधानसेनापति पूर्णचन्द्र थापाले जेठ २३ मै पत्रकारहरुलाई साक्षी राखेर नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए । त्यसको करिब दुई महिनापछि अर्थात् साउन २४ बाट उनी बिदामा बस्दैछन् ।

नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रुपमा रथी प्रभुराम शर्माले नेतृत्व लिँदैछन् । युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा सेनाभित्र ‘मिलनसार’ अधिकारीको रुपमा चिनिन्छन् । शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् ।

भारत र अमेरिकामा उच्चशिक्षा एवं सैन्य कला हासिल गरेका शर्मा सेनाभित्र मिलनसार मात्रै नभई ‘एक्सन म्यान’का रुपमा पनि परिचित छन् ।

प्रधानसेनापति थापाले आफ्नो कार्यकालमा आन्तरिक सुधारतर्फ बढी ध्यान केन्द्रित गरे । उनले पद तथा आचरण विपरीत काम गर्ने धेरै सैन्य अधिकारीलाई कारवाही गरे । उनले सुरुवात गरेका आन्तरिक सुधारतर्फका कामलाई निरन्तरता दिँदै संगठनलाई थप सुदृढ र जनपक्षीय बनाउने चुनौती नयाँ नेतृत्व सामु देखिन्छ ।

४३ औं प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने क्रममा थापाले ‘आन्तरिक सुधार’ आफ्नो पहिलो जिम्मेवारी रहने प्रण गरेका थिए । सोही अनुसार उनले आँटका साथ काम पनि गरे । जर्नेललाई समेत बर्खास्त गरेर घरको बाटो देखाएका उनले सैनिक अनुशासन, नैतिकता र आचरणको सवालमा कठोर निर्णयहरु लिए ।

थापाले आफ्नो कार्यकालको अधिकांश समय आन्तरिक व्यवस्थापनमा बिताउनु पर्दा राष्ट्रिय चुनौतीमा ध्यान दिन नसकेको अवकाश प्राप्त उपरथी विनोज बस्नेत बताउँछन् ।

‘राष्ट्रिय चुनौतीमा चाहिँ वर्तमान प्रधानसेनापतिको समय नपुगेको देखिन्छ,’ उनले भने, ‘भावी प्रधानसेनापति शर्माले सरकार प्रमुख र राष्ट्र प्रमुखलाई राष्ट्रिय सुरक्षा र सामरिक सुरक्षाको महत्वबारे कन्भिन्स गर्न ठुलो भूमिका खेल्नुपर्छ ।’

चीन र भारतमा सैनिक मुभमेन्ट गर्नसक्ने क्षमता धेरै भएकाले नेपालको पनि डिफेन्स बलियो बनाउनुपर्ने उनको भनाइ छ ।

उनका अनुसार भावी प्रधानसेनापति शर्मा सैन्य कुटनीतिमा दक्ष मानिन्छन् । ‘सेनालाई राम्रोसँग म्यानेज गर्न सक्ने क्षमता पनि उहाँमा देख्छु,’ उनले भने ।

नेपाली सेनाको संगठन ८ पृतनाबाट ‘३ जोड १’को संरचनामा गइसकेको छ । सो संरचना अपर्याप्त भएको हुनाले त्यसलाई पूर्णता दिनुपर्ने चुनौती पनि शर्माको काँधमा छ ।

प्रधानसेनापति थापाले नक्कली शैक्षिक प्रमाणपत्र, नागरिकता किर्ते र भर्नामा हुने चलखेल नियन्त्रणमा पनि प्रभावकारी ढङ्गले काम गरे । यसलाई पनि आगामी नेतृत्वले निरन्तरता दिनुपर्ने देखिन्छ ।

राष्ट्रिय सुरक्षामा थपिएका चुनौतीको मुकाबिला गर्नुपर्ने दायित्व पनि अब शर्माको काँध सर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप