शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

६ अर्ब लगानी थप्दै नर्भिक, दुहबी र भैरहवामा पनि अस्पताल बन्ने

बिहीबार, ०७ साउन २०७८, १३ : ०२
बिहीबार, ०७ साउन २०७८

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई बिस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ । 

पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि बनेको नयाँ संचालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि इन्डक्सन प्रोग्राम(परिचयात्मक कार्यक्रम) आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय बिस्तार रणनीति सार्वजनिक गरेको हो । 

ठमेलस्थित होटल अलफ्टमा आयोजित कार्यक्रमका बीच नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले ५ वर्षे रणनीति सार्वजनिक गरिन् । उनले अबको पाँच वर्षभित्र नर्भिक अस्पतालले आफ्नो सेवालाई व्यापक रुपमा बिस्तार गर्ने योजनाको बिषयमा जानकारी दिइन् । 

सन् २०२२ देखि २०२६ भित्रमा थापाथलीमा रहेको नर्भिक अस्पतालको सेवा अझ बिस्तार गरिनेछ । थापाथलीमा २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई बिस्तार गरिनेछ । सेवा बिस्तारसँगै नर्भिक अस्पताल ‘सुपर स्पेसियालिटी अस्पताल’को रुपमा रुपान्तरण हुनेछ । थापाथलीमा अर्को भवन समेत बनेपछि नर्भिकले २ सय शैयाको भव्य अस्पतालबाट सेवा संचालन गर्नेछ । 

यस्तै, आगामी पाँच वर्षपभित्र नर्भिकले भैरहवामा १०० शैया तथा सुनसरीको दुहबीमा पनि १०० शैयाको दुईवटा स्याटेलाइट अस्पताल निर्माण गरी संचालनमा ल्याउनेछ । यी दुवै अस्पताल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुनेछ । 

यो अवधिमा नर्भिकको अत्याधुनिक कर्पोरेट अफिस समेत बन्ने कार्ययोजनामा उल्लेख छ । पाँच वर्षे योजनामा नर्भिकले आफ्नो सेवा बिस्तारका लागि ६ अर्ब बढी लगानी थप्ने र २ हजारभन्दा बढीका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने योजना बनाएको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिइन् । 

नर्भिक अस्पतालका निवर्तमान अध्यक्ष  तथा संरक्षक बसन्त चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरुले अस्पतालको स्तरीय सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजना बनाएको उल्लेख गरे । उनले भने–‘संभवत हामी देशका विभिन्न क्षेत्रमा स्याटेलाइट अस्पताल निर्माण गर्ने पहिलो कम्पनी बन्नेछौं ।’ 

उनले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन, पारदर्शी सोंच र कार्यशैलीका साथ अगाडि बढ्न, अहिलेभन्दा धेरै काम गर्ने उद्देश्यले हालै नर्भिकलाई प्राइभेट लिमीटेड कम्पनीबाट पब्लिकमा रुपान्तरण गरिएको प्रष्ट पारे । ‘मेरो सपना अझ ठूलो हुँदैछ ।’ उनले थपे–‘अब हामीसँग पब्लिक डाइरेक्टर हुनेछन् । हामीसँग विभिन्न क्षेत्रका विज्ञ हुनेछन् । हिजोको दिनमा एकजनाको भिजन मात्र हुन्थ्यो भने अब हामीसँग एउटा टिमको भिजन हुनेछ ।’ 

सो अवसरमा नर्भिक अस्पतालका नवनियुक्त अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले समेत बोलेका थिए । 

सो अवसरमा नर्भिकको नयाँ संचालक समितिको परिचय निवर्तमान अध्यक्ष बसन्त चौधरीले गराएका थिए भने व्यवस्थापनको उच्च तहको विभिन्न जिम्मेवारीमा आएकाहरुको परिचय प्रबन्ध निर्देशक मेघा चौधरीले गराएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप