बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीका यौनिक अल्पसंख्यकलाई आत्मनिर्भर बनाइने

बिहीबार, ०७ साउन २०७८, १९ : ५०
बिहीबार, ०७ साउन २०७८

कर्णालीका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेशका यौनिक अल्पसंख्यकहरुलाई सीपका आधारमा आत्मनिर्भर बनाइने बताएका छन् ।  उनले यौनिक अल्पसंख्यकको सुरक्षा र रोजगारमा प्रदेश सरकार गम्भीर रहेको पनि बताए । बिहीबार यौनिक अल्पसंख्यकहरुसँगको छलफलमा उनले भने,‘सीप सिकाएर आत्मनिर्भर बनाउने हामीले कार्यक्रम ल्याएका छौँ ।’ 

यौनिक अल्पसंख्यकहरु अहिले पनि खुल्न सकिरहेका छैनन् । कतिपय खुलेकाहरू पनि असुरक्षित छन् । त्यसैले तपाईंहरुको सुरक्षा र रोजगारको विषयमा हामी गम्भीर छौँ ।’  मन्त्री बुढाक्षेत्रीले कर्णाली प्रदेशभर रहेका यौनिक अल्पसंख्यकको तथ्याङ्क उपलब्ध गराउन सरोकारवालाहरुसँग आग्रह गरे । अहिलेसम्म कर्णालीका यौनिक अल्पसंख्यकहरुको एकिन तथ्याङ्क नै छैन् ।  

‘एकिन तथ्याङ्क भए सीप सिकाउन, क्षमता अनुसारको काम दिन र स्वरोजगार बनाउन सहज हुन्थ्यो’ मन्त्री श्रेष्ठले भने,‘तथ्याङ्क उपलब्ध गराउने काममा सरोकारवाला संघ–संस्थाको सहयोग मन्त्रालयलाई आवश्यक छ ।’ सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले यौनिक अल्पसंख्यकहरुका लागि चालू आर्थिक वर्षमा सीपमूलक तालिमको व्यवस्था गरिएको बताए । उनले यौनिक अल्पसंख्यकहरुको तथ्याङ्क नहुँदा काम गर्न मन्त्रालयलाई असहज भइरहेको बताए । 

सचिव काप्रीले यौनिक अल्पसंख्यकहरुका बारेमा विद्यालय तहको पाठ्यक्रममा समेट्नुपर्ने आवश्यकता औंल्याए । निलहिरा समाजका भूमिका श्रेष्ठले विद्यालय तह देखिनै यौनिक अल्पसंख्यकहरुको बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताइन् । घर,परिवार र समाजको डरले यौनिक अल्पसंख्यकहरु अझै पनि खुल्न सकिरहेका छैनन् । त्यसका लागि सचेतना कार्यक्रम फैलाउन जरुरी छ ।

ब्लुडाइमण्ड सोसाइटीका मनिषा ढकालले गृह मन्त्रालयले नागरिकताको विषयमा परिपत्र गर्दा पनि अहिलेसम्म आफ्नो पहिचानसहितको नागरिकता आफूहरुले पाउन नसकेको बताइन् । उनले कोरोनाविरुद्धको खोपमा यौनिक अल्पसंख्यकहरुलाई प्राथमिकता दिन आग्रह गरिन् । प्रदेश सरकारले भने आफ्नै बार्षिक बजेटमा यौनिक अल्पसंख्यक भनेर कतै उल्लेख गरेको छैन । 

लोपोन्मुख तथा सीमान्तकृत समुदायको जीवनस्तरमा टेवा पुग्ने भन्दै आय–आर्जन सम्बन्धी कार्यक्रम सञ्चालनका लागि भन्दै ५ करोड रकम विनियोजन गरेको छ । यद्यपि, यौनिक अल्पसंख्यक भनेर कतै नभेटिएको उनीहरुको भनाई छ ।  ‘प्रदेश सरकारले अरु सबै समुदायको भनेर नाम तोकेको छ । तर, हाम्रो बारेको नाम उल्लेख गरेको भेटिएन’ उनीहरुले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप