शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा कोरोना सङ्क्रमण दर बढ्दै, निषेधाज्ञामा कडाइ गरिँदै

शुक्रबार, ०८ साउन २०७८, १२ : २५
शुक्रबार, ०८ साउन २०७८

प्रदेश १ का स्थानीय प्रशासन र स्थानीय तहले कोरोना सङ्क्रमणको दर बढेको भन्दै जिल्ला र स्थानीय तहमा फेरि निषेधाज्ञाको समयमा परिवर्तन गरी कडाइ गर्न थालेका छन् । मोरङ, सुनसरी र झापा प्रशासनले केही दिन यता कोरोना सङ्क्रमण दर बढ्दै गएको भन्दै भिडभाड हुने स्थानमा कडाइ गर्न थालेका हुन् । स्थानीय तहले पनि भिडभाड हुने स्थानमा अनुगमन गर्न थालेका छन् ।

स्थानीय प्रशासनले कोरोना सङ्क्रमणको दरमा कमी आएको भन्दै असारको तेश्रो साताबाट निषेधाज्ञा खुकुलो बनाएका थिए तर सङ्क्रमण दर बढी देखिएका मोरङ, सुनसरी, झापा जिल्ला प्रशासनले सार्वजनिक सूचना जारी गर्दै निषेधाज्ञालाई कडा गर्ने बताएका छन् ।

उनीहरूले यसअघिको निषेधाज्ञाको समयमा फेरबदल गरी समय तालिका भने घटाएका छन् । मोरङ प्रशासनको बिहीबार बसेको बैठकले शुक्रबारदेखि लागू हुने गरी बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । त्यसैगरी पूर्ववतरूपमा सञ्चालन हुँदै आएका अति आवश्यकबाहेक पसल, व्यवसायहरु बिहान ५ देखि बेलुकी ६ बजेसम्म मात्र खोल्न दिने निर्णय गरेको छ ।

मोरङ प्रशासनले मानिसको विशेष भिडभाड हुने गुन्द्री बजार, हाट बजार, सब्जीमण्डी, पार्टी प्यालेस सञ्चालनमा रोक लगाएको छ । त्यसैगरी जिम खाना, स्वीमिङ पुल, सिनेमा हल, रंगशाला, ट्युशन सेन्टर, धार्मिक तथा सांस्कृतिक कार्यहरु, सभा सम्मेलन, अन्तर्राष्ट्रिय सीमा नाकाबाट विदेशीलाई प्रवेशमा रोक लगाएको छ ।

यसअघि मोरङ प्रशासनले कोरोनाको सङ्क्रमण दर घटेको निष्कर्ष निकाल्दै बजार लगायतका क्षेत्र बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म निर्वाध रुपमा सञ्चालन गर्न अनुमति दिएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले केही दिन यता कोरोना सङ्क्रमितको संख्या जिल्लाभित्र बढेको भन्दै निषेधाज्ञालाई थप कडाइ गर्दै लैजाने तयारी भइरहेको बताए ।

उनले अस्पतालहरूमा संक्रमितको संख्या बढ्दै गएको र सरकारी कार्यालयमा पनि दैनिक पाँच÷सात जनाको दरले कर्मचारी संक्रमित हुने क्रम बढेको जानकारी दिए ।

नागरिकलाई कोरोना सङ्क्रमण दर बढ्दै गएकोमा सचेत गराएर सङ्क्रमण दर न्यूनीकरण गर्ने उद्देश्यमा स्थानीय प्रशासन लागेको भन्दै उनले यदि सङ्क्रमण दर बढ्ने क्रम नरोकिए पूर्ण लकडाउन गर्नेतर्फ अघि बढ्ने बताए ।

सुनसरी प्रशासनले पनि कोरोनाको सङ्क्रमण दर बढ्न थालेपछि मानिसको विशेष भिडभाड हुने गतिविधिमा रोक लगाएको छ । 

धरान उपमहानगरपालिकाले कोरोना संक्रमण दर बढेको भन्दै त्यसको रोकथाम र नियन्त्रणका लागि पुनः लकडाउन गर्ने तयारी गरेको छ । उपमहानगरले संक्रमणबाट बढी प्रभावित हुने स्थान, बजार लगायतका क्षेत्रमा अनुगमन तथा कन्ट्याक्ट ट्रेसिङ गर्ने काम थालेको छ ।

उपमहानगरपालिकाका मेयर तिलक राईको अध्यक्षतामा बिहीबार बसेको बैठकले  बिहीबारदेखि नै मास्क अनिवार्य लगाउन सचेतना गर्दै माइकिङ गर्ने निर्णय गरेको छ । त्यसैगरी भानुचोक लगायत धरानको मुख्य चोकमा निजी सवारी साधनहरुलाई यात्रु बोक्ने उद्देश्यले पार्किङ गर्न रोक लगाइएको छ ।

मेयर तिलक राईले कोरोनाको संक्रमण केही दिनदेखि बढेकाले त्यसको रोकथाम र नियन्त्रणका लागि शुक्रबारदेखि धरानको भिडभाड हुने बजार तथा मुख्य चोकहरुमा अनुगमन कार्य हुने बताए । उनले सङ्क्रमण दर क्रमिक रुपमा नियन्त्रण बाहिर जाने देखिएमा थप कडाइका साथ लकडाउन गर्न बाध्य हुने बताए ।

झापा प्रशासनले पनि कोरोना सङ्क्रमणको दर बढेपछि निषेधाज्ञामा थप कडाइ गर्न थालेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले संक्रमण बढेको भन्दै निषेधाज्ञालाई थप कडाइ गरी लैजाने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालले बताए ।

उनले संक्रमण रोकथाम र नियन्त्रणका लागि साविकको निषेधाज्ञाको समयावधिलाई घटाइएको र त्यो समयलाई पूर्णरुपमा कार्यान्वयन गर्न गराउनेतर्फ स्थानीय प्रशासन लाग्ने बताए ।

उनका अनुसार जिल्लामा शुक्रबारदेखि लागू हुनेगरी बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म मात्र पसल व्यवसाय सञ्चालन गर्न दिने नियम लगाइएको छ ।

प्रदेश १ मा निषेधाज्ञा खुकुलो भएसँगै संक्रमित हुनेको दर ह्वात्तै बढेको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा कोरोना संक्रमणका कारण दैनिक १० जनाभन्दा बढीको मृत्यु हुने गरेको छ भने सरदर ४ सयभन्दा बढी संक्रमित हुने गरेका छन् ।

प्रदेश १ मा बिहीबारमात्र संक्रमणका कारण १४ सङ्क्रमितको मृत्यु भएको छ । त्यसैगरी बिहीबार ४५८ जना कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा अहिले सक्रिय सङ्क्रमितको संख्या ६ हजार ११५ छ । तीमध्ये झापा जिल्लामा मात्र सबैभन्दा बढी २ हजार ६ जना, मोरङमा १ हजार ८७० र सुनसरीमा १ हजार ७९५ रहेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप