शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साढे ३२ अर्ब वैदेशिक लगानी भित्रियो, भारतलाई पछि पार्दै चिनियाँ लगानी अग्रस्थानमा

लगानीको मुख्य आकर्षणको क्षेत्र होटल तथा पर्यटन
शुक्रबार, ०८ साउन २०७८, १३ : १३
शुक्रबार, ०८ साउन २०७८

आर्थिक वर्ष २०७७/७८ मा नेपालमा साढे ३२ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । उद्योग विभागका अनुसार यस्तो लगानी मुलुकको उद्योग, व्यापार कृषि तथा सेवा क्षेत्रमा गरी कुल १०९ मूलकहरूबाट ३२ अर्ब ५० करोड २० लाख रुपैयाँ एफडीआई भित्रिएको हो ।

सोमध्ये सबैभन्दा बढी भारतलाई समेत पछि पार्दै आर्थिक वर्ष २०७७/७८ मा कुल २२ अर्ब ५० करोड २० लाख रुपैयाँ चिनियाँ लगानी नेपाल भित्रिएको उद्योग विभागले जनाएको छ । जबकि गत वर्ष भारतबाट जम्मा ७२ करोड ६० लाखको मात्र लगानी भित्रिएको विभागको तथ्याङ्कले देखाएको छ । त्यसो त यो भन्दा अघिल्लो वर्षमा समेत भारतलाई पछि पार्दै चीनले नै अधिकतम २५ अर्ब ६५ करोड माथिको लगानी नेपालमा ल्याएको विभागको तथ्याङ्कले देखाएको छ । 

यस्तै, गत वर्षमा सिंगापुरबाट १ अर्ब ९१ करोड, हङकङबाट १ अर्ब २७ करोड, ब्रिटिस भर्जिन आइल्याण्डबाट ३० करोड, मलेसियाबाट ४ करोड ९० लाख, जापानबाट ५ करोड, म्याक्सिकोबाट १५ करोड, नेदरल्याण्डबाट १५ करोड ६५ लाख, दक्षिण कोरियाबाट ९ करोड, जर्मनबाट २१ करोड र अमेरिकाबाट अधिकतम १ अर्ब ६२ करोडको लगानी भित्रिएको विभागले जनाएको छ । 

तर, तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्ष २०७७/७८ मा अधिकांश मुलुकहरूबाट कम वैदेशिक लगानी आएको विभागले जनाएको छ ।

१५ प्रतिशतले घट्यो वैदेशिक लगानी

समग्रमा आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ को कुल वैदेशिक लगानी अधिकतम १५.३० प्रतिशतको घटेको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कुल ३७ अर्ब ८० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिरहँदा गत आर्थिक वर्षको अन्तसम्मका जम्मा ३२ अर्ब २ करोड मात्र भित्रियो । अर्थात् अघिल्लो वर्षको तुलनामा यो ५ अर्ब ७८ करोड माथिको कमी हो । 

त्यसो त सबैभन्दा ठूलो लगानी ल्याउने मध्येको एक चीनले समेत अघिल्लो वर्षको तुलनामा गत वर्ष अधिकतम १२.२८ प्रतिशतले लगानी घटाउँदै २२ अर्ब ५० करोडको मात्र लगानी ल्याएको विभागले जनाएको छ । 

यस्तै, भारतले अघिल्लो वर्ष कोभिड–१९ कै बीच पनि ३ अर्ब २३ करोड लगानी ल्याएकोमा गत आर्थिक वर्षमा ७ करोड २६ लाख मात्र ल्याएको र अमेरिकाले समेत अघिल्लो आर्थिक वर्षको तुलनामा अधिकतम २ अर्ब ६० करोडले घटाएर गत आर्थिक वर्षमा कुल १ अर्ब ६२ करोड मात्र लगानी ल्याएको विभागले जनाएको छ ।

लगानीको मुख्य आकर्षणको क्षेत्र ‘होटल तथा पर्यटन’

विभागको तथ्याङ्क अनुसार वैदेशिक लगानीको मुख्य आकर्षणको क्षेत्र मुलुकको होटल तथा पर्यटन क्षेत्र देखिएको छ । विभागका अनुसार आर्थिक वर्षको कुल ३२ अर्ब २ करोड वैदेशिक लगानी मध्ये अधिकतम १८ अर्ब ३१ करोड माथिको लगानी होटल तथा पर्यटन क्षेत्रमा आएको छ । वर्षभरी आएको लगानी मध्ये अधिकतम २ हजार ७१४ जनालाई रोजगारी दिने समेत उल्लेख गर्दै १०१ पर्यटन परियोजनामा विदेशी लगानीकर्ताले लगानी गर्न चाहेको विभागले जनाएको छ ।

यस्तै, उद्योग क्षेत्रमा १९ वटा प्रोजेक्टका लागि २ अर्ब ६८ करोड, कृषि तथा वन पैदावार क्षेत्रको ३ वटा प्रोजेक्टका लागि ५ करोड २९ लाख, ऊर्जा क्षेत्रमा ४ वटा प्रोजेक्टका लागि १ अर्ब ५४ करोड, सूचना तथा प्रविधि क्षेत्रको १५ वटा प्रोजेक्टका लागि २ अर्ब ९५ करोड र सेवा क्षेत्रमा अधिकतम ४१ वटा प्रोजेक्टका लागि ५ अर्ब ९८ करोड माथिको वैदेशिक लगानी आएको विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप