बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘उपेन्द्र यादवले ‘अलग हुन्छौँ’ भन्ने पत्रमा बाध्य पारेर हस्ताक्षर गर्न लगाए’

हामी जसपामा नै छौँ, नागरिकता लिएर निर्वाचन आयोग जाँदैनौँ : अनिलकुमार झा
शुक्रबार, ०८ साउन २०७८, १८ : ०६
शुक्रबार, ०८ साउन २०७८

जनता समाजवादी पार्टी नेपालको आन्तरिक विवादको निराकरण यही साउन ११ गते हुँदैछ । गत साउन ३ गतेदेखि जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादबारे निर्वाचन आयोगमा बहस चलिरहेको छ । बहसका क्रममा आयोगले एकता हुँदाको समयका कार्यकारिणी समितिका सदस्यहरूलाई नागरिकतासहित निर्वाचन आयोगमा उपस्थिति हुन र उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षमा दस्तखत गर्न आदेश दिएको छ । पुरानो कार्यकारिणी समितिका आधारमा उपेन्द्र यादवले पार्टीको आधिकारिकता आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन् । तर महन्थ ठाकुरले उक्त समितिलाई हेरफेर गरी नयाँ कार्यकारिणी समिति बनाएका छन् । ठाकुरले सोही नयाँ समितिका आधारमा जसपा आधिकारिकता आफूले पाउनुपर्नेे दाबी गर्दै आएका छन् । तर निर्वाचन आयोगले भने पुरानै समितिलाई मान्यता दिँदै ‘हेड काउन्ट’का लागि सदस्यहरुलाई आयोगमा उपस्थिति हुनका लागि बोलाएको छ । आयोगले हेड काउन्टका लागि बोलाइसकेपछि पार्टीको अवस्था के हुन्छ, पार्टीको आधिकारिकता कसले पाउँला, महन्थ ठाकुर पक्षको आगामी कदम के हुन्छ लगायत विषयमा महन्थ ठाकुर पक्षका कार्यकारिणी समितिका सदस्य अनिलकुमार झासँग रातोपाटीले गरेको कुराकानीः

निर्वाचन आयोगले जसपामा रहेका कार्यकारिणी समिति सदस्यको हेड काउन्ट गर्ने आदेश दिएको छ, अब पार्टी कसरी अगाडि बढ्छ ?

–हामीले निर्वाचन आयोगसँग हेड काउन्टको माग गरेका थिएनौँ । तर त्यस्तो आदेश किन दियो, मलाई थाह छैन । हिजोसम्म महन्थ ठाकुरले हेरफेर गर्नुभएको कार्यसमितिलाई मान्यता दिने कि पुरानै कार्यकारिणी समितिलाई दिने भन्ने बहस थियो । त्यस बहसमा पुरानै कमिटीलाई मान्यता दिने निर्णय निर्वाचन आयोगले गरिसकेको छ । निर्वाचन आयोगले दिएको आदेशलाई हामीले मान्नैपर्ने हुन्छ । तर एउटा कुरा के स्पष्ट पार्न चाहन्छु भने आयोगमा पार्टीको आधिकारिकताको माग गर्दै हामीले निवेदन दिएका थिएनौँ । हामीले हेरफेर गरिएको कार्यसमितिलाई मान्यता दिनुपर्छ भनेका थियौँ । तर उपेन्द्र यादव पक्षले भने पुरानै कमिटी हुनुपर्ने माग गरेको थियो । आयोगले पुरानो कमिटीको मान्यता दियो । अब विवाद सकियो । यसमा कुनै आपत्ति छैन । पार्टी एकता हुँदा हामीले नै त्यो कमिटी बनाएका थियौँ । अब त्यही कमिटीलाई मानेर पार्टीमा बस्नुपर्छ । संवैधानिक निकायले दिएको आदेश हामीले मान्नैपर्ने हुन्छ । पुरानै कमिटीलाई मान्यता दिएकाले त्यसलाई स्वीकार गरिसेकेका छौँ । अब नागरिकता लिएर निर्वाचन आयोग किन जाने ? हामी जाँदैनौँ । त्यसको आवश्यकता पनि छैन ।

उपेन्द्र यादवले पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । तपाईं भन्नुहुन्छ पुरानो कार्यसमिति कि नयाँ कार्यसमितिलाई मान्यता दिने भन्ने विवाद समाधानका लागि आयोग गएका थियौँ, यस्तो फरक कुरा किन ?

–उपेन्द्र यादव कहिले अनधिकृत हुनुहुन्थ्यो र ? उहाँ हिजो पनि आधिकारिक हुनुहुन्थ्यो, आज पनि आधिकारिक नै हुनुहुन्छ । मुख्य कुरा पुरानो कार्यकारिणीलाई मान्यता दिने कि नयाँलाई भन्ने लफडा थियो । त्यो मिलिसक्यो । अब मिलेर जानुपर्छ भन्ने मेरो भनाइ हो । उहाँ निर्वाचन आयोगमा आधिकारिकता किन माग्न जानुभयो । त्यो कुरा उहाँलाई नै सोध्नुपर्छ । मलाई के थाह छ भने महन्थ ठाकुरले अधिकार पाएर कार्यकारिणी समितिमा हेरफेर गर्नुभएको थियो । त्यसमा महन्थ ठाकुर र उपेन्द्र यादव दुवैजना अध्यक्ष हुनुहुन्छ । डा. बाबुराम भट्टराई सङ्घीय परिषद्का अध्यक्ष, अशोक राई, राजेन्द्र महतो वरिष्ठ नेता, अरू बाँकी नेताहरु कार्यकारिणीमा सदस्यकै रूपमा हुनुहुन्छ । केही सदस्यलाई हेरफेर गरिएको छ । तर आयोगले त्यसलाई मान्यता दिएन । कुरा त्यहीँ सकियो अब पुरानै कमिटीलाई अगाडि बढाउनुपर्छ ।

उपेन्द्र यादवले आधिकारिकताका लागि आयोगमा निवेदन दिएपछि सहमतिका लागि आयोगले दुवै पक्षलाई बोलाएको हो, त्यहाँ सहमति नहुँदा दुवै पक्ष एकै ठाउँमा बस्न सकिँदैन, अलग हुन्छौँ भनेर हस्ताक्षर गरेका होइनन् र ?

–त्योबेला पनि महन्थ ठाकुरले हामी एउटै पार्टी हौँ । एउटै पार्टी रहनुपर्छ भनेकै हुन् । म पनि त्यो दिन आयोगमा उपस्थित थिएँ । हामी सबैको चाहना जसपा अलग हुनुहुँदैन, एउटै रहनुपर्छ भन्ने नै हो । तर उपेन्द्र यादवले अलग हुन्छौँ भनेको पत्रमा हस्ताक्षर गरेपछि बाध्य भएर हामीले पनि गरेका थियौँ । हाम्रो चाहना जसपा अलग नहोस् भन्ने पहिला पनि थियो र अहिले पनि छ । त्यो बेला हामीले एउटा कुरा बोल्यौँ र अहिले अर्कै कुरा बोल्दैछौँ भन्ने होइन । त्यो बेला हाम्रो जे धारणा थियो, अहिले पनि त्यही छ । उपेन्द्रजीहरुको धारणा के थियो, उहाँहरुले के चाहनु भएको थियो ? त्यो उहाँहरुलाई नै थाह होला ।

उपेन्द्र यादवहरुले हामी अलग बस्छौँ भन्दै हुनुहुन्छ, तपाईंहरु चाहिँ होइन, हामी सँगै बस्छौँ भन्दै हुनुहुन्छ, के अब पनि सँगै बस्ने अवस्था बाँकी छ र ?

–किन रहँदैन ? हामी विभाजन गर्न नगएपछि पार्टी एउटै रहने भयो । हामी पनि त्यहीँ रहने भयौँ । किनभने पार्टी विभाजन भएको छैन । अझै एकीकृत छ । अहिले पुरानो कार्यकारिणी समितिलाई मान्यता दिएको मात्र हो ।

साउन ११ गते निर्वाचन आयोगले उपेन्द्र यादवलाई आधिकारिकता दिएर तपाईंहरुलाई नयाँ पार्टी दर्ता गराउन आदेश ग¥यो भने के हुन्छ ?

–यो त्यतिबेलै गर्नेे कुरा हो । निर्वाचन आयोगले दिँदै आएको आदेश मान्दै आएका छौँ । भोलि फेरि मान्ने नै छौँ । तर म फेरि भन्छु, हाम्रो चाहना जसपा विभाजन होइन । आयोगले पनि विभाजनतिर लानु हुँदैन । हामी जसपाको विकल्प खोजेका छैनौँ र निर्वाचन आयोगलाई भन्न पनि गएका छैनौँ ।

तपाईंले राजपा नेपाल गठन हुँदा पनि यो पार्टी एकीकृत हुनुहुँदैन, बरु गठबन्धन वा मोर्चा बनाएर अगाडि बढ्नुपर्छ भन्नुभएको थियो । पछि साथीहरुको आग्रहमा पार्टीमा सम्मिलित हुनुभएको थियो । त्यस्तै जसपा गठन हुँदा पनि एकीकरण हुनुहुँदैन, गलत भइरहेको छ भन्नुभएको थियो । तर साथीहरुको आग्रहमा त्यसमा पनि संलग्न हुनुभयो । अनि अहिले आएर जसपामा नै बस्ने भन्दै हुनुहुन्छ, किन ?

–पहिले र अहिलेको मेरो धारणामा कुनै परिवर्तन आएको छैन । त्यतिबेला मैले जे भनेको थिएँ, अहिले पनि त्यही भनिरहेको छु । राजपा वा जसपा बन्नु हुँदैन भन्ने मेरो धारणा होइन । २० वर्षको उमेरदेखि नै मधेस र मधेसवादका लागि राजनीति गरेको मान्छे हुँ । नेपाल सद्भावना परिषद्देखि अहिलेसम्म क्रियाशील छु । मैले के बुझेको छु भने मधेसीहरुबीचमा एकता नभएसम्म उनीहरूले अधिकार पाउन सक्दैनन् । तर विभिन्न परिस्थितिले गर्दा हामी एक ठाउँमा रहन सक्दैनौँ भन्ने पहिलादेखि नै लागेको थियो । राजपा बनाउँदै पनि मैले भनेको थिएँ, पार्टी बनाए पनि एक ठाउँमा बस्न सक्दैनन् भने त्यो पार्टी किन बनाउने ? यो कुरा मैले त्यतिबेला पनि भनेको थिएँ र जसपा गठन हुँदा पनि धारणा त्यही नै थियो । मन नमिल्ने, मन मिले पनि एक ठाउँमा बस्न नसक्ने अवस्था आउन सक्छ,  त्यही भएर एकीकरण नगरी पनि सँगै बस्न सकिन्छ भनेको हुँ । जसपा बन्ने वित्तिकै पूर्व राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव हामीविरुद्ध लाग्नुभयो । अहिले पनि उहाँ उपेन्द्र यादवको पक्षमा लागेर उपेन्द्र, राजेन्द्र श्रेष्ठ, डा. बाबुराम भट्टराई, अशोक राई भन्दा एक कदम अगाडि बढेर अक्रमक ढङ्गले लाग्नुभएको छ । अरू पनि यस्ता उदाहरण छन् । राजपा एकीकरण भए पनि पार्टी एकीकृत रूपमा सञ्चालन भएको थिएन । रातारात जसपा बनाइयो । पूर्व राजपावालाहरुले उपेन्द्र यादवलाई जुन गुण लगाउनुभएको छ, त्यो उहाँले विर्सनु हुँदैनथियो । तर अब अहिले त्यो अवस्था पनि रहेन । मैले त्यतिबेला पनि भनेको थिएँ, एउटा घरमा सुत्दा एकजना एकातिर फर्किने, अर्कोजना अर्कोतिर फर्किने गर्नुहुँदैन । बरु अलग अलग बस्ने तर एकअर्कासँग राम्रो सम्बन्ध बनाउनुपर्छ । जसपा त कस्तो पार्टी भयो भने प्रदेश २ का मुख्यमन्त्रीले आफ्नै क्याबिनेटका एक राज्यमन्त्रीलाई क्यान्सर लाग्दासमेत सोधखोज गर्नुभएन । झलनाथ खनालका लागि शेरबहादुर देउवाले स्वास्थ्य उपचारका लागि खर्चको व्यवस्था गर्नुभयो नि । घोषणा त प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । त्यसको कार्यान्वयन देउवाले गर्नुभयो । तर एउटै पार्टीका मुख्यमन्त्री र त्यही पार्टीको राज्यमन्त्री क्यान्सर पीडित भएर दिल्लीमा उपचार गराउँदा पनि कुनै मतलब नराख्ने ! तर त्यही मुख्यमन्त्रीले अन्य पार्टीका व्यक्तिलाई लाखौँ लाख सहयोग गर्नुभएको छ । यसको मतलब मैले सहयोग मागेको भने होइन, प्रवृत्ति मात्र देखाएको हुँ एउटै पार्टी हुँदाको अवस्था कस्तो थियो भनेर । गजेन्द्रनारायण स्मृति अस्पतालका लागि एक रुपियाँ सहयोग गर्नुभएन । यी सबै भन्नुको अर्थ यो कस्तो पार्टी हो ? न गजेन्द्रनारायण सिंहलाई नेता मान्न तयार हुन्छ, न उनका नाममा केही काम गर्दा सहयोग गर्छ । बरु त्यहाँ चन्द्रनारायण यादव अस्पताललाई सहयोग ग¥यो । त्यसैले मैले भन्न खोजेको के हो भने एकै ठाउँमा बसेको अर्थ के भयो र ? हामीले एक ठाउँमा बसेर एकअर्कालाई सहयोग गर्दैनौँ, एक अर्काको दुःखसुख बुझ्दैनौँ भने एक ठाउँमा बस्नुको अर्थ के रहन्छ र ?

तर अहिले तपाईं जसपामै बस्छौँ, अलग हुँदैनौँ किन भन्नुहुन्छ त ?

–मैले विगतका प्रवृत्तिहरु देखाएको हुँ । तर यसको मतलब बनिसकेको घरलाई भत्काऔँ भन्ने होइन । एक ठाउँमा बसेपछि अलिकति ठासठुस भइहाल्छ । त्यसको रिसमा पूरै घर भत्काउनु हुँदैन । जसपा वैकल्पिक शक्ति हो, यो विभाजन हुनुहुँदैन । यो एकीकृत भएर सञ्चालित हुनुपर्छ भन्नेमा म छु । यो कुरा आदरणीय अध्यक्ष महन्थ ठाकुरलाई पनि भन्न चाहन्छु । सायद उहाँ पनि यही चाहनुहुन्छ । अलग हुनेबारेमा सोच्नै सक्दैनौँ ।

त्यसो भए साउन ११ गते नागरिकता लिएर निर्वाचन आयोग जानुहुन्न ?

–त्यसको आवश्यकता नै छैन । हामी जाँदैनौँ । किनभने कार्यसमितिको विवाद सल्टिसकेको छ । अब टाउको गन्नुको अर्थ छैन । इच्छा हुने साथीहरु जानुहुन्छ ।

साउन ११ गते आयोगले एउटा पक्षलाई आधिकारिता र अर्को पक्षलाई नयाँ पार्टी दर्ता गराउन आदेश दियो भने त्यो बेला के गर्नुहुन्छ ?

–यो विषयमा त्यतिबेलै सल्लाह गर्छौं । अहिले नै त्यसको जवाफ दिनु आवश्यक छैन । तर आयोगले त्यस्तो गर्ला भन्ने लाग्दैन । हामी जसपामा थियौँ, जसपमा छौैँ र रहिरहनेछौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप