शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : ओलीले संसद बैठक छलेकोमा देउवा असन्तुष्ट, राष्ट्रपतिसँग ओलीको भेटवार्ता

शुक्रबार, ०८ साउन २०७८, २१ : १६
शुक्रबार, ०८ साउन २०७८

आज २०७८ साउन ८ गते शुक्रबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा ओलीले प्रतिनिधिसभा बैठक छलेकोमा देउवा असन्तुष्ट, ओलीलाई माधवकुमार नेपालको व्यङ्ग्य– महाराजधिराजले माफी दिनुभएछ, भदौ १६ मै महाधिवेशन गर्न देउवा प्रतिवद्ध, राष्ट्रपतिसँग ओलीको भेटवार्ता, कमल थापा र विप्लवको एकै स्वर– व्यवस्था फेल भयो, भीम रावलले फिर्ता लिए राजीनामा लगायत छन् ।

१. ओलीले प्रतिनिधिसभा बैठक छलेकोमा देउवा असन्तुष्ट
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा लगातार दुई पटक आफूले सम्बोधन गर्दा प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेता केपी शर्मा ओली अनुपस्थित भएकोमा असन्तुष्टि जनाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्षी नेता ओली अनुपस्थित थिए । शुक्रबारको बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरु रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
यसअघि देउवाले विश्वासको मत सम्बन्धी प्रस्ताव मन्तव्यसहित पेस गर्दा पनि ओली अनुपस्थित थिए । संसदीय परम्पराअनुसार प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दलका नेता उपस्थित हुनुपर्ने भन्दै देउवाले त्यतिबेला पनि असन्तुष्टि जनाएका थिए ।


२. ओलीलाई माधवकुमार नेपालको व्यङ्ग्य– महाराजधिराजले माफी दिनुभएछ
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई व्यङ्ग्य गर्दै ‘महाराजधिराज’को संज्ञा दिएका छन् । ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले ‘महाराजधिराजले माफी दिनुभएछ’ भन्दै ओलीप्रति व्यङ्ग्य गरेका हुन् । ओलीले बिहीबार ‘बाटो बिराएकाहरु’ लाई माफी दिने बताएका थिए । सो कार्यक्रममा सहभागी अन्य कम्युनिस्ट नेताहरुले पनि ओलीको कार्यशैलीको विरोध गरेका थिए ।


३. भदौ १६ मै महाधिवेशन गर्न देउवा प्रतिवद्ध
नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १६ मै पार्टीको महाधिवेशन गराउने प्रतिवद्धता जाहेर गरेका छन् । शुक्रबार पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा सभापति देउवाले भदौ १६ मै महाधिवेशन गर्नेगरी काम अघि बढाउन निर्देशन दिएका हुन् । उनले क्रियाशील सदस्यता विवादबारे पनि चासो राख्दै त्यसलाई तत्काल टुङ्ग्याउन निर्देशन दिएका छन् ।


४. निर्वाचन आयोग र उपेन्द्र यादवविरुद्ध महन्थ ठाकुर अदालतमा
निर्वाचन आयोग र उपेन्द्र यादवविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । आयोगले जसपा नेपालको आधिकारिकता सम्बन्धी विवादमा पार्टीको पुरानै राष्ट्रिय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि उपस्थित हुन आदेश दिएको विरोधमा ठाकुरले रिट निवेदन दिएका हुन् ।

५. राष्ट्रपतिसँग ओलीको भेटवार्ता
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई घण्टा भेटवार्ता गरेका छन् । सत्ताबाट बाहिरिएको दुई साता नपुग्दै ओलीले राष्ट्रपतिसँग भेट गरेका हुन् । भेटमा के विषयमा छलफल भयो भन्ने खुलेको छैन ।

६. कमल थापा र विप्लवको एकै स्वर– व्यवस्था फेल भयो

फरक राजनीतिक विचारका बाबजुद राप्रपा अध्यक्ष कमल थापा र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले व्यवस्था फेल भएको साझा निष्कर्ष प्रकट गरेका छन् । शुक्रबार थापालाई भेट्न विप्लव उनकै निवासमा पुगेका थिए । दुवै नेताले अहिलेको संसदीय व्यवस्था फेल भएको भन्दै विवादित विषयमा जनमत संग्रह गर्नुपर्नेमा एकमत बनाएका छन् । शुक्रबार नै विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले राजधानीमा आयोजित एक कार्यक्रममा संसदीय व्यवस्थाका कारण देश पछाडि परेको धारणा राखेका थिए ।

७. रावलले फिर्ता लिए राजीनामा
प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका एमाले नेता भीम रावलले शुक्रबार राजीनामा फिर्ता लिएका छन् । सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर उनले ‘सरी’ भन्दै राजीनामा फिर्ता लिएका हुन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आम जनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिने निर्णय गरेको रावलको भनाइ छ । तर कानुनविद् भने राजीनामा दिइसकेपछि फिर्ताको संवैधानिक व्यवस्था नरहेको भन्दै पद स्वतः रिक्त हुने तर्क गर्दछन् ।


८. गण्डकी प्रदेश मन्त्रिपरिषद विस्तार, सत्तारुढ गठबन्धनमा खटपट
गण्डकी प्रदेश मन्त्रिपरिषद विस्तार गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार ६ सदस्य थप गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् । आफूसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै सत्ता साझेदार दल जसपा नेपालले भने असन्तुष्टि जनाएको छ । 

९. दुई हजार ९७७ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ९७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने एक हजार ६७८ जना संक्रमणमुक्त भएका छन् । 


१०. आजदेखि सम्पूर्ण सार्वजनिक सवारी साधन सञ्चालनमा
शुक्रबारदेखि लामो तथा छोटो दुरीका सम्पूर्ण सवारी साधन सञ्चालनमा आएको छ । शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाहरुको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अधिकतम प्रयोग गरी सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।

११. र, यो पनि 
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसपाका ३२ सांसदको हस्ताक्षर बोकेर किन राष्ट्रपति कार्यालयमा गएको भनेर प्रतिनिधिसभामा प्रश्न गरेका छन् ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले गैरजिम्मेवारपूर्ण काम गरेका लोकतन्त्र र संघीयतालाई संस्थागत गर्न सरकारमा जान नेपाली काँग्रेस बाध्य भएको तर्क गरेका छन् ।


धादिङको नीलकण्ठ नगरपालिकामा अमेरिकाको जोन्सन एण्ड जोन्सन कम्पनीले निर्माण गरेको कोरोनाविरुद्धको खोप लगाएका एक वृद्धको मृत्यु भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप