शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा सबै क्षेत्र खुकुलो बनाउँदै निषेधाज्ञा थप

शुक्रबार, ०८ साउन २०७८, २३ : ०८
शुक्रबार, ०८ साउन २०७८

सबै क्षेत्र खुकुलो बनाउँदै तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नवौं पटक निषेधाज्ञा थप गर्दै साउन २० गतेसम्म लम्ब्याएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा साउन १० गतेसम्म कायम छ । 

छिमेकी जिल्लामा डेल्टा भेरियन्टको सङ्क्रमण देखिएको र तनहुँमा पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । निषेधाज्ञा थपिए पनि सबै क्षेत्र खुकुलो बनाइएको छ । यसअघि बिहान ०९ बजेदेखि ३ बजेसम्म खुल्दै आएका सबै सेवा र व्यवसाय बिहान ०५ बजेदेखि साँझ ४ बजेसम्म खोल्ने निर्णय भएको छ । साथै लामो तथा मध्यम दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधन बिहान ०६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय बैठकले गरेको छ । 

स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरेर रेष्टुरेन्ट तथा खाजा घर बिहान ०५ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने र स्वास्थ्य र सुरक्षाको पर्याप्त प्रबन्ध गरेर होटलमा ५० प्रतिशत क्षमतासम्म पाहुना राख्न दिने निर्णयसमेत भएको बरालले बताए ।

सबै परीक्षा सञ्चालन 

यस्तै कोरोना कहरले रोकिएका सबै परीक्षा सञ्चालन गर्न दिने निर्णय भएको छ । परीक्षा सञ्चालन गर्दा कम्तीमा दुई मिटरको दूरी कायम गरी ‘जेड’ आकारमा परीक्षार्थी राख्ने गरी सिट व्यवस्थापन गर्नुपर्ने छ । परीक्षा केन्द्रमा परीक्षा सञ्चालन समयभन्दा एक घण्टा ३० मिनेट अगाडि प्रवेश शुरु गराई लाइनमा हुनसक्ने भीड न्यूनीकरण गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

कोभिड सङ्क्रमित परीक्षार्थीको सहजताका लागि प्रत्येक परीक्षार्थीलाई पहिलो दिनको परीक्षा शुरु हुन बिरामी सिआइसिटी परीक्षा फारम भर्न लगाई सङ्क्रमित फारम समितिलाई उपलब्ध गराउनुपर्नेछ । 

कोभिड–१९ सङ्क्रमित परीक्षार्थीको हकमा अरु सामान्य परीक्षार्थीको परीक्षा शुरु भएको ३० मिनेट पछि मात्र प्रवेश गराई अरुको परीक्षा सकिएको ३० मिनेटपछि परीक्षाबाट निस्कने व्यवस्था मिलाउने निर्णय भएको बरालले बताए । “त्यस्ता परीक्षार्थीलाई बेग्लै कोठा तथा बेग्लै शौचालयको व्यवस्थापन गर्ने र सङ्क्रमित परीक्षार्थीले प्रयोग गरेको सामग्री स्वास्थ्य कार्यालयको समन्वयमा सावधानीका साथ सङ्कलनको व्यवस्था मिलाउनेछ,” उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप