शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुहार फेर्दै भक्तपुर अस्पताल

शनिबार, ०९ साउन २०७८, १० : ४२
शनिबार, ०९ साउन २०७८

भक्तपुर । केही समय यता भक्तपुर अस्पतालले आफ्नो परिचय फेर्दै लगेको छ । १ सय १६ वर्ष पुरानो यो अस्पताल आफैमा उमेर वृद्ध भए पनि परिपक्व छैन । अन्यत्रका सरकारी अस्पताल जति पुरानो भयो त्यहाँ सेवा सुविधा थपिए तर, भक्तपुरमा केही सुविधा विस्तार भएन । 

अहिले भने यो अस्पताल जनतालाई सेवा दिन न्यूनतम मापदण्ड पुरा गरेर आइसीयू सेवासम्म सञ्चालन गर्ने हैसियतमा पुगेको छ । अन्यत्र बिरामी पठाउने चलन बन्द जस्तै भएको छ बरु अरूबाट यसमा आउन थालेका छन् । 

अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुमित्रा गौतम पहिलो पटक विशेषज्ञको रूपमा अस्पतालमा हाजिर हुँदा अवस्था दयनीय भएको सम्झना गर्दछिन् । गौतम वि.स २०७६ साल मङ्सिर २० गते उनी अस्पतालमा आएकी थिइन् । 

विगत यस्तो 

विश्व स्वास्थ्य सङ्गठनको अस्पताल सञ्चालनको सामान्य मापदण्ड समेत पुरा गर्न नसक्ने अवस्थामा भक्तपुर अस्पताल थियो । रातोपाटीसँग कुरा गर्दै अस्पतालकी प्रमुख डाक्टर गौतम भन्छिन् ‘सेवा प्रवाहको बारेमा स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेको परीक्षणमा १ सय मा अस्पतालले ३८ प्रतिशत मात्र नम्बर पायो । ’

त्यसको ९ महिना पछि अस्पतालले १ सयमा ८२ प्रतिशत अङ्क प्राप्त गरेको उनले बताइन् । भौतिक पूर्वाधारको कमी, कर्मचारीको अभाव, राजनीतिक खिचातानी र व्यवस्थापकीय कमजोरीले अस्पतालले सेवा दिन सकिरहेको थिइन् । बागमती प्रदेश सरकार सामाजिक विकाश मन्त्रालय मातहतमा रहने यो नै उपत्यकाको एक मात्र अस्पताल हो । 

प्रसूति गराउन कोही महिला आएमा समेत दिनको २ बजे भन्दा उता बन्द जस्तै थियो । सामान्य ज्वरो आउँदा सिटामोल दिने काम बाहेक जटिल र अरू थप उपचार हुने थिएन । चिकित्सक तथा स्वास्थ्यकर्मी बिरामी लिएर आएका आफन्तलाई अन्यत्र निजी अस्पतालमा लान सुझाव दिने गर्दथे । 

कोरोनासँगै चुनौती र अवसर आयो 

२०७६ साल चैत महिनाबाट नेपालमा लकडाउन भयो । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न सरकारले अस्पतालहरूलाई तयारी अवस्थामा बस्न भन्यो । भक्तपुर अस्पतालमा भने थर्मल गन र एक सेट पीपीई समेत थिएन, प्रमुख डाक्टर गौतमले भनिन् । 

नेपालको पहिलो व्यवस्थित क्वारेन्टिन खरिपाटी हेर्ने जिम्मेवारी नेपाली सेनासँगै भक्तपुर अस्पतालले पनि प्राप्त ग¥यो । त्यसबाट कोरोना भाइरसको नियन्त्रणमा सिक्ने अवसर पाइयो, उनले भनिन् । त्यससँगै बिरामीको उपचार गर्ने तयारी अस्पतालले थाल्यो । 

कोरोना महामारीकै बीच भौतिक पूर्वाधार भएर पनि रोकिएको आइसीयू सञ्चालन कार्यले पूर्णता पायो । हाईकेयर युनिट समेत सञ्चालनमा आयो । सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, अस्पताल व्यवस्थापन पक्ष, कर्मचारी सबैको सहयोगमा भक्तपुर अस्पताल एक पाइला अगाडी बढ्यो ।

हाल दुई वटा अक्सिजन प्लान्ट समेत निर्माणाधीन अवस्थामा रहेको छ ।  १ हजार ३ सय जना कोरोना सङ्क्रमितको सफल उपचार अस्पतालमा भयो । ४७ जनाको मृत्यु उपचारको क्रममा भयो । 

दोस्रो लहर कोरोनाको चलिरहँदा अस्पतालले तीन भागमा बाँडेर बिरामीको उपचार गरेको थियो । अस्पतालकी प्रमुख डाक्टर गौतमका अनुसार इमरजेन्सी, हाईकेयर युनिट र आइसीयू सञ्चालन गरिएको थियो । शुक्रबारसम्म अस्पतालमा १४ हजार ७ सय ४४ जनाको पीसीआर गरिएको छ । ३ सय २९ जनाको आरडीटी परीक्षण गरेको जानकारी दिइयो । कोरोना सङ्क्रमण लक्षण देखिएकालाई निःशुल्क र विना लक्षण परीक्षण गर्ने प्रतिव्यक्तिलाई भने सरकारको नियम अनुसारको १ हजार शुल्क लिँदै आएको अस्पतालले जानकारी दिएको छ । 

हालको सेवा प्रवाह

१८ रोपनी ४ आना क्षेत्रफल जमिनभित्र भक्तपुर नगरपालिका वडा नम्बर १, दुधपाटीमा एकै स्थानमा तीन अस्पताल छन् । त्यही स्थानमा रेडक्रसको समेत भवन छ । ६ रोपनी क्यान्सर अस्पताल, ६ रोपनी सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र ७ आना क्षेत्रफल रेडक्रस सोसाइटी छन् । बाँकी क्षेत्रफलमा भक्तपुर अस्पतालका केही भवन छन् । 

पुराना भवन र २०७२ सालको भूकम्प अगाडी निर्माण भएकाले केहीको मर्मत भइरहेको छ । सबै सेवा प्रवाह गर्ने र उपत्यकामा रहेको प्रदेशको उत्कृष्ट अस्पताल सधैँ बनाउन ठाउँको अभाव देखिन्छ ।

यो साल भक्तपुर अस्पतालले ९४ हजार ३ सय ६३ जनालाई सेवा दिइएको अस्पताल प्रशासनले जानकारी दिएको छ । २०७५ सालमा ओपीडी सेवा मात्र लिनेको सङ्ख्या ७५ हजार ८ सय ९, २०७६ सालमा ८० हजार २ सय ७ र २०७७ सालमा ५५ हजार ९ सय ८३ जनाले सेवा लिएका छन् । 

कोरोना सङ्क्रमणको महामारीका बीच गत साउन यता मात्र ९ सय ६४ जना महिलाहरूले अस्पतालबाट प्रसूति सेवा लिएका छन् । 

दैनिक स्वास्थ्य बीमाका मात्रै २ सय ४७ जना अस्पतालबाट सेवा लिँदै आएका छन् । हाल अस्पतालमा २४ घण्टा प्रसूति सेवा, औषधी सेवा, एम्बुलेन्स सेवा, ओपडीमा बाल रोग, दाँत, नाक कान घाटी, आँखालगायतका सेवा विशेषज्ञ डाक्टर मार्फत दिँदै आएको प्रशासनले जानकारी दिएको छ । 

समस्या के ? 

हाल सेवा दिँदै आएका सबै रोगको सहज र छिटो छरितो उपचार गर्न अस्पतालमा अझै जनशक्तिको अभाव छ । हाल अस्पतालमा स्थायी ५८ जना र करारमा १ सय ४४ जना कार्यरत छन् । जसमा ३० जना डाक्टर र ८० जना नर्स रहेका छन् । सबै सेवा प्रवाह गर्न ४ सय दक्ष जनशक्ति चाहिने अस्पताल प्रमुख डाक्टर गौतमको भनाई छ । 

अस्पतालले निकट भविष्यमै १८ वर्ष मुनिका बालबालिकाहरूको उपचारकालागि १० शय्या को आइसीयु थप गर्ने तयारी गरेको छ । हाल अन्यका लागि ६ शय्याको रहेको आइसीयू समेत १० शय्या थप हुने तयारीमा रहेको छ । 

दुई वर्षभित्र सिटी स्क्यान, एमआरआई लगालयतका उपकरण थप गर्ने भनिए पनि भवनको अभाव र दक्ष जनशक्ति समेत छैनन् । पानीको अभाव, अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारी र आउने सेवाग्राहीको समेत सवारी साधन पार्किङ गर्ने स्थानको अभाव रहेको छ । विगतको भन्दा धेरै सुधार भए पनि सन्तोषजनक भने अझै नभएको स्वयम् अस्पताल प्रमुख डाक्टर सुमित्रा गौतमको भनाई छ । काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका जिल्लाबाट समेत  बिरामीहरू उपचार गर्न यस अस्पतालमा आउने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप