बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इमाडोल–लामाटार सडक : अब ६० मिटर बनाउन बाँकी

आइतबार, १० साउन २०७८, १३ : ४५
आइतबार, १० साउन २०७८

बिस्तारका क्रममा रहेको इमाडोलबाट सिद्धिपुर हुँदै लामाटारसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण शुरु भएको चार वर्ष बित्न लाग्दा सात किमी लम्बाइको सो सडकमा झण्डै ६० मिटर मात्रै बनाउन बाँकी छ । गोदावरी खोला नजिकै रहेको एउटा घर भत्काउन ढिलाइ हुँदा सो सडक सम्पन्न हुन नसकेको काठमाडौँ चक्रपथ बिस्तार आयोजनाले जनाएको छ । 

केही समय अगाडि महालक्ष्मी नगरपालिकाले सो घर हटाएको थियो ।  अहिले सो क्षेत्रमा सडक निर्माणका लागि पर्खाल लगाउने काम जारी रहेको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए । उनले भने, “अहिले अरु काम सकिएपछि वर्षापछि कालोपत्र गर्न सकिन्छ ।”

सो सडक २० मिटर चौडाइमा बिस्तार गर्ने गरी ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।  सडकमा पैदलयात्रु मार्ग र ढलसमेत निर्माण गर्ने सम्झौतामा उल्लेख थियो । तोकिएको मापदण्डअनुसार चौडाइमा सडक बिस्तार गर्ने निर्माणस्थल खाली गर्न नसकिएकाले लामो समयसम्म पनि निर्माण अघि बढ्न नसकेको हो । ठेक्का सम्झौता गरिएपछि नै निर्माणस्थल खाली गर्न थालिएको थियो । 

यसपछि निर्माणस्थलमा रहेका रुख, बिजुलीको खम्बालगायतका विभिन्न संरचना हटाउन नसकिएको आयोजनाले जनाएको छ । सर्वोच्च अदालतले विस्तारका सडकमा जतिजति सडक उपलब्ध हुन्छ त्यसैमा कालोपत्र गर्ने दुई वर्ष अगाडि आदेश दिएको थियो  । आयोजनाले यसैका आधारमा बिस्तार अघि बढाइरहेको प्रमुख अधिकारीले जानकारी दिए ।

यो सडक निर्माणको जिम्मेवारी डाँफे समानान्तर जेभी, आशिस सिएम ड्रागन जेभी र लामा समानान्तर जेभीले संयुक्तरुपमा पाएका थिए । आयोजनाले झण्डै पाँच वर्ष अगाडिदेखि काठमाडौँ उपत्यकाका १० सडक र दुई सडक पुलको विस्तारको काम शुरु गरेको थियो । तीमध्ये अधिकांश स्थानमा तोकिएको अवधिमा निर्माण सम्पन्न हुन सकेको थिएन ।

विस्तारका सडकमध्ये त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गासम्मको सडक मात्रै सम्पन्न भएर डिभिजन सडक कार्यालयमा हस्तान्तरण भएको छ । विस्तार शुरु भएका बिजुलीबजार र तीनकुने पुलमध्ये बिजुलीबजार पुल सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने तीनकुनेस्थित पुलको ठेक्का सम्झौता रद्द भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप