शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माधव नेपालप्रति कटाक्ष : अचम्म लाग्यो, कपाल र दाह्री फुलेर हुँदो रहेनछ !

आइतबार, १० साउन २०७८, २३ : ४९
आइतबार, १० साउन २०७८


मलाई क्षमा दिने भन्ने खालका अहङ्कार र दम्भ देखाउने, प्रतिक्रियावादीहरूको पुच्छर भएर पछिपछि हिँडेर आन्दोलनलाई अन्तरध्वंस गरेर कमजोर पार्ने त्यस प्रकारका क्रियाकलाप गरिरहेका छन् । तैपनि मैले त्यस्ता खास व्यक्तिबाहेक अरू साथीहरू जो अपराधकर्मको नेतृत्व गरिरहेका छन्, त्यस्ताहरूको सम्बन्धमा मैले धेरैपल्ट भनिसकेँ, तर अब म त्यति धेरै आशा गरिरहेको छैन । विश्वास पनि गरिरहेको छैन । र, त्यस्ता तत्त्वबाहेक देशलाई माया गर्ने एमालेका कार्यकर्ताहरू, पार्टीलाई माया गर्ने मान्छेहरू, सबैलाई म भन्न चाहन्छु– यो एक दुई जनाले बनाएको पार्टी होइन । हामी सबैको पसिना मिसिएको छ । केही व्यक्तिहरू आफ्ना स्वार्थका कारणले प्रतिक्रियावादीहरूको जालझेलको अङ्ग बनेर, प्रतिक्रियावादीहरूसँग भित्री साँठगाँठ गरेर, पार्टी र सरकार ढाल्ने खेलमा सामेल भएको हामी देखिरहेका छौँ ।

प्रतिक्रियावादीसँग मिलेर आफ्नो सरकार ढालेको देखिरहेका छौँ । आफ्नो पार्टी फुटाएर सजिलो बनाइदिएको देखिरहेका छौँ । आफ्ना सांसदहरूलाई झुुक्याएर वा प्रलोभनमा पारेर मतदानबाट बाहिर लगेको हामी देखिरहेका छौँ । आफ्नै सांसदहरूलाई भ्रममा पारेर देखिरहेका छौँ । कसरी उनीहरू राष्ट्रपतिकहाँ विरोधीका पछिपछि लागेर, एमालेको सरकार ढालेर विरोधीलाई प्रधानमन्त्री बनाउन गइरहेका छन् ? हामी देखिरहेका छौँ ।

फेरि त्यस्ता तत्त्वहरूका पछाडि लागेर आन्दोलनको भविष्य कमजोर पार्ने, आफ्नो भविष्य ध्वस्त पार्ने काम किन गर्ने ? त्यसकारण म अहिले पनि भन्न चाहन्छु– पार्टीले क्षमा गर्छ, साथीहरू गल्ती नगर्नुस् । पार्टीमा फर्किनुस् । पार्टी विरोधी गतिविधिहरू अहिलेसम्म त सफल भए । पार्टी फुटाउन सफल भए । पार्टीलाई सरकारबाट ढाल्न सफल भए । प्रतिगमन गराउन सफल भए ।

अब देश धेरै अप्ठ्यारोमा परेको छ । यो प्रतिगमन सच्चिन सजिलो छैन । गम्भीर अवस्थामा प्रतिगमन गइसक्या छ । देश अप्ठेरो मोडमा पुगिसकेको छ यस्तो अवस्थामा म सम्पूर्ण कार्यकर्तालाई गम्भीर हुन आग्रह गर्न चाहन्छु, पार्टीको पक्षमा उभिन र पार्टीविरोधी षड्यन्त्रका चक्रव्यूहबाट बाहिर निकाल्न आग्रह गर्न चाहन्छु । आजको अवस्था यो हो ।

​महिला दिदीबहिनीहरु त्यसैगरी यस पार्टीविरोधी चक्रव्यूहबाट, षडयन्त्रको यस भुमरीबाट, पार्टीविरोधी कुप्रचारको यस जालोबाट बाहिर निस्कनुस् । पार्टीको पक्षमा उभिनुस्, देशले तपाईंहरुलाई स्वागत गर्छ, कार्यकर्ताले स्वागत गर्छन् । होइन भने कोही पनि जनताबाट घृणाको पात्र भएर रहनेछन् ।

इतिहासले यस्ताखालका अपराधलाई कहिल्यै पनि स्वीकार गर्दैन । यो लोकतन्त्रविरोधी अपराध हो । यो राष्ट्रियताविरोधी अपराध हो । यो देशकाविरुद्धको अपराध हो, घात हो । पार्टी र वामपन्थीविरोधी घात मात्रै होइन यो देशविरुद्धकै घात हो । यस्तोमा कोही पनि नफसोस् ।

म अहिलेसम्म भ्रममा रहेका, बाटो बिराएकाहरूलाई पनि फर्केर आउन आग्रह गर्न चाहन्छु । जसले बाटो पहिल्याउनुभएको छ, बाटो बिराउनुभएको छैन । पार्टीको पक्षमा उभिनुभएको छ उहाँहरूको प्रशंसा गर्न चाहन्छु ।

म फेरि पनि दोहोर्‍याएर भन्छु–अहिले सामाजिक अभियान हाम्रो मुख्य विषय थियो । सामाजिक र जागरण अभियान सामान्यतया जनसंगठनहरुको मुख्य विषय हुन्छ । तर, कहिलेकाहीँ राजनीतिक विषय मुख्य बनेर आउँछ ।

यतिबेला राजनीतिक विषय फेरि एक पटक केही अवधिका लागि मुख्य विषय बनेको छ जबसम्म यो प्रतिगमन सच्याउन र प्रतिगमनकारी तत्त्वहरू र अन्तरघातीहरुलाई नङ्ग्याउन र जनतालाई स्पष्ट पारेर सच्याउन सफल हुँदैनौँ तबसम्म  राजनीतिक प्रश्न महत्त्वपूर्ण बन्नेछ ।

त्यस कारण यतिबेला हामीले राजनीतिबाट जनतालाई स्पष्ट पार्नु जरुरी छ । महिला दिदीबहिनीहरु पार्टीको अपेक्षा यो हो यही अभियान लिएर अघि बढ्नुस् । पार्टीलाई ध्वस्त पार्नेहरूबाट पार्टी जोगाउनु मुख्य उद्देश्य यही हो । पार्टीलाई जोगाऊँ । पार्टीलाई स्वार्थको किनबेचमा होइन ।

बिकाऊ मालहरूको झुन्ड होइन, सिद्धान्त, विचार आस्था र आदर्शहरूमा केन्द्रित भएको, अनुशासनमा बाँधिएको, त्यस्तो फराकिलो विचार भएको, जनपक्षीय,अग्रगामी र सक्रिय सङ्गठनको रूपमा अगाडि बढाउनुपर्ने आजको आवश्यकता बनेको छ । हरेक सङ्घसंस्थाको पनि आवश्यकता, हरेक बुद्धिजीवीको आवश्यकता बनेको छ । केही बहकिएका छन् । कविता भनेर लेखेको होला सायद ! एउटा लामो फेहरिस्त लेख्या रहेछ । माया लाग्यो, दया लाग्यो बिचरा – मैले केपी ओलीलाई बचाउन सकिनँ भनेर सत्तोसराप गरेर लेखेको रहेछ ।

माया लाग्यो, दाह्री जुँगा कपाल सबै सेतै फुलेको छ । बुद्धि, आक्रोश, विश्लेषण भने ? विश्लेषण होइन त्यो । आक्रोश छ ।  अचम्म लाग्यो कपाल र दाह्री फुलेर हुँदो रहेनछ मान्छे विवेकको परिपक्वता भएन भने । अरूका लहैलहैमा कुद्यो भने । साना स्वार्थमा कुद्यो भने ।

केपी ओलीका सुन्ड मुण्डहरूले घर अगाडि आएर चाख्लास् पख्लास् भने रे । यस्ता अफवाह, वाहियात कुरा नगरे पनि हुन्छ । केपी ओलीको साथमा रहेको कुनै दुई चार जनाको झुन्ड होइन । यहाँ देशको सबभन्दा बढी जनसङ्ख्या नेकपा एमालेको साथमा छ, केपी ओलीको साथमा छ । अनि एउटा दुइटा कसले ? कविता न सविता भनेर लेख्छ त्यस्ताका पछाडि नेकपा एमाले कुद्छ नेकपा एमाले ? नेकपा एमाले कुनै गण्डा दल होइन ।

नेकपा एमाले एउटा परिपक्व राजनीतिक पार्टी हो जसको काँधमा देशको मुहार फेर्ने अभिभारा छ । त्यो अभिभारा बोकेको पार्टी अनि एक जना दुई जना व्यक्तिले केपी ओलीलाई मुख छाड्यो । केपी ओलीलाई मुख छाडेर, लेखेर जीविका चलायो भने केपी ओली खुसी हुन्छ कमसेकम जीविका त चलेछ कसैको । त्यस कारण यो भ्रम नपाले हुन्छ । र यसरी बदनाम नगरे पनि हुन्छ थुप्रो तत्त्वहरू बदनामीमा लागेका छन् । छन् केही सङ्ख्या । थुप्रो भन्नाले त्यहाँ केही दर्जन भनेको मैले । तीन करोड जनसङ्ख्यामा केही दर्जन मानिसहरू यसमा लागेका छन् । उनले आफूलाई नै संसार ठानेका होलान् ।

कहिले–कहिले भ्यागुताले इनारको प्वालबाट जति देखिन्छ, त्यति धर्ती त्यतिलाई नै आकाश ठानेको हुन्छ । तर, धर्ती कुवाको तल बसेको भ्यागुताले इनारको मुखबाट देखिने जति मात्रै आकाश हुन्छ । उसले देखेको जति पानी मात्रै धर्तीमा पानी छ र उसले देखेको जति मात्रै धर्ती ठान्नु बेकार छ ।

नेकपा एमालेको दृष्टिकोण राष्ट्रव्यापी छ, विश्वव्यापी छ, यो राष्ट्रवादी छ यो जनतावादी छ र यो मानवतावादी छ । यो धर्तीवादी पनि छ । यसको दायरा फराकिलो छ, त्यो फराकिलो दायराअनुसार नेकपा एमाले चल्छ भन्ने कुरा सवैमा चेतना होस् भन्ने कुरा म आग्रह पनि गर्न चाहन्छु ।

(अखिल नेपाल महिला सङ्घको बैठकलाई ओलीले गरेको सम्बोधनको अंश )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केपी शर्मा ओली
केपी शर्मा ओली
लेखकबाट थप