शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकलमा बसिरहेको अवस्थामा शव : यसरी खुलायो रहस्य

आइतबार, १० साउन २०७८, २१ : २२
आइतबार, १० साउन २०७८

गत सोमबार साँझ विराटनगरमा सबै अचम्मित हुने गरी एउटा घटना बाहिरियो । आफैले चलाएको मोटरसाइकलमाथि सुतिरहेको अवस्थामा विराटनगरका सुदर्शन शर्मा न्यौपाने मृत फेला परे ।

साँझ ८ बजेको समयमा विराटनगर महानगरपालिका–५ स्थित नेपाल विद्युत प्राधिकरण अगाडि पार्किङ गरेर राखिएको मोटरसाइकलमाथि बसिरहेको अवस्थामा उनी मृत फेला परेका थिए । शरीरको बाहिरी भागमा कुनै चोटपटक समेत नदेखिएपछि घटना रहस्यमय बनेको थियो ।

न्यौपानेको शवको प्रकृति शंकास्पद देखिएपछि मोरङ प्रहरीले घटनाको अनुसन्धान अघि बढायो । प्रहरीका अनुसार ट्रकको ठक्करबाट न्यौपानेको मृत्यु भएको हो । प्रहरीले न्यौपानेलाई ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

यसरी खुल्यो रहस्य

‘हामीले घटनाको बारेमा धेरै कोणबाट अनुसन्धान अघि बढायौं,’ मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले भने, ‘गहिरो अनुसन्धानपछि घटनाको यथार्थ बाहिर ल्याउन सकेका छौं ।’

घटनाको दिन अर्थात् गत सोमबार साँझदेखि विराटनगरमा पानी परिरहेको थियो । न्यौपाने आफ्नो को४प २३१६ नम्बरको मोटरसाइकल चलाएर गन्तव्यतर्फ गइरहेका थिए । बिजुली अफिस अगाडि पुगेपछि को१क १३३३ नम्बरको ट्रकले न्यौपानेले चलाएको मोटरसाइकललाई पछाडिबाट  ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार सोही क्रममा न्यौपाने मोटरसाइकलसहित राजमार्गको छेउमा लड्न पुगेका थिए । उनी लडेको देखेपछि न्यौपानेलाई ठक्कर दिने ट्रक चालकले अलिक अगाडि ट्रक रोकेर उनलाई त्यहाँबाट उठाएर साइड लगाएका थिए । सोही क्रममा उनलाई अर्का मोटरसाइकल चालक मोरङ सुनबर्षीका अजय तिम्सिनाले न्यौपानेको उद्धारमा साथ दिएका थिए ।

ट्रक चालक रामशरण राई र अर्को मोटरसाइकलका चालक अजयले न्यौपानेलाई कस्तो छ भनेर सोधेका थिए । न्यौपानेले आफू ठिक रहेको जवाफ दिएपछि उनीहरु आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीको भनाइ छ ।

उनीहरु गएको केही समयपछि मोटरसाइकलमा बसिरहेकै अवस्थामा न्यौपानेको मृत्यु भएको बताइएको छ । स्थानीय मिडियामा मोटरसाइकलमा बसिरहेको अवस्थामा पुरुषको शव फेला परेको खबर सार्वजनिक गरेपछि उनको उद्धारमा संलग्न अजयले घटनाबारे आफूलाई जानकारी रहेको भन्दै प्रहरीलाई सबै कुरा बताएका हुन् ।

उनले नै दिएको हुलियाको आधारमा प्रहरीले घटनाको बारेमा थप अनुसन्धान अघि बढाउँदै दुर्घटनामा संलग्न ट्रक र चालकको खोजी अघि बढाएको थियो । प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार सीसी क्यामेरा फुटेजको समेत सहायतामा अनुसन्धानलाई अघि बढाइएको थियो ।

सोही आधारमा दुर्घटनामा संलग्न ट्रकको खोजी कार्य गरेको र चार दिनमै विराटनगर–१५ स्थित राधाकृष्ण मन्दिर छेउमा रहेको एक कोइला डिपोबाट सो ट्रकसहित चालक धरान उपमहानगरपालिका वडा नम्बर २०, देवीगाउँ बस्ने २८ वर्षीय राईलाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ ।

धनकुटास्थित निगाले सिमेन्ट उद्योगको कोइला ओसार्ने काममा प्रयोग हुँदै आएको सो ट्रक घटना भएको दिन पनि कोइला लिन विराटनगर आएको प्रहरीले जनाएको छ ।

ट्रक चालक राईले दुर्घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन् । उनले घाइते अवस्थामा उद्धार गरिएका न्यौपानेले आफू ठिक रहेको बताएको र त्यसपछि आफू पनि गन्तव्यतिर लागेको बयान दिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप