शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा ४४ हजार जनसङ्ख्यालाई कोभिड– १९ विरुद्धको दुवै डोज खोप

सुर्खेतमा आजदेखि थप २८ हजारलाई खोप लगाइँदै
सोमबार, ११ साउन २०७८, ०९ : २५
सोमबार, ११ साउन २०७८


कर्णाली प्रदेशमा ४४ हजार जनसङ्ख्यालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्ध दुवै डोज खोप लगाइएको छ । कोभिडविरुद्धको खोप १८ वर्ष माथिको उमेर समूहलाई मात्र लगाउने गरिएको छ । कर्णालीमा झन्डै १८ लाख २४ हजार १३१ बराबर जनसङ्ख्या (अनुमानित) रहेको छ । त्यसमध्ये १८ वर्ष माथि उमेर समूहका झन्डै नौ लाख जनसङ्ख्यालाई खोप दिने प्रक्षेपण गरिएको छ।

पहिलो चरणमा कोभिड विरुद्धको खोप लगाएका १ लाख ३४ हजार नौ सय ८१ जनामध्ये ८२ हजार ६ सय ७० जनालाई कोभिसिल्डको दोस्रो मात्रा लगाउन अझै बाँकी छ । उनीहरूलाई पहिलो डोज खोप लगाएको झन्डै चार महिना बितिसकेको अवस्था छ । खोप आयातमा समस्या हुँदा उनीहरूलाई दोस्रो डोज दिन समस्या भएको स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर रविन खड्का बताउँछन्। प्रदेशमा अझै सात लाखको हाराहारीमा कोभिशिल्ड खोपको आवश्यकता छ।

त्यो अनुसारको कोभिशिल्ड खोप आयात हुन सकिरहेको छैन । कोभिसिल्डको पहिलो मात्रा एक लाख आठ हजार चार सय ८६ जनाले लगाएका छन् । ती मध्ये २५ हजार आठ सय १६ जनाले मात्रै दुवै डोज लगाएको डाक्टर खड्काले रातोपाटीलाई जानकारी दिए । भेरोसेल खोपको पहिलो डोज लगाएका २७ हजार ६ सय ६८ मध्ये, १८ हजार एक सय ३९ जनाले भेरोसेलको दोस्रो डोज लगाएका छन् भने बाँकीले दोस्रो डोज लगाउन बाँकी नै छ।

कर्णालीमा पहिलो चरणको खोप माघ २४ गते लगाइएको थियो । पहिलो चरणकै दोस्रो प्राथमिकतामा फागुनको २ गतेदेखि लगाइएको थियो । त्यसपछि फागुन २३ गतेदेखि खोप लगाइएको थियो भने  त्यो बीचमा एक पटक लगाइएको थियो । अब, पाँचौँ चरणको अभियान अन्तरगत भरोसेल जोन्सन एन्ड जोन्सन खोप लगाउने तयारी छ । 

पाँचौँ चरणमा २६ हजार बढीलाई खोप लगाउने तयारी  

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानको पाँचौँ चरणमा यहाँका ४६ हजार बढी नागरिकहरूलाई  खोप लगाइने तयारी थालिएको छ । त्यसका लागि शनिबार भेरोसेल र जोन्सन एन्ड जोन्सन गरी ६० हजार डोज खोप कर्णालीका लागि भनेर आइसकेको छ। 

स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर खड्काका अनुसार भेरोसेलको ४३ हजार डोज ल्याइएको हो भने एक पटक मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप १७ हजार डोज आएको छ । स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारयाण चौधरीका अनुसार केन्द्रबाट बाँकेको नेपालगञ्जमा खोप छोडिएको छ । दैलेख र सुर्खेतका लागि खोप ल्याइसकिएको  छ। सुर्खेतले सोमबार देखिनै खोप लगाउन सुरु गरिसकेको छ ।

सोमबार बिहान नेपालगञ्ज देखि सल्यान, रुकुम पश्चिममा पठाईएको  छ। भने जाजरकोटमा आइतबार नै पठाइसकिएको  छ। चौधरीका अनुसार डोल्पा, हुम्ला र मुगुको लागि सोमबार बिहान हवाई जहाज मार्फत छाडिसकेको छ। कालिकोट, जुम्लाका लागि पनि सोमबार नै पठाउने तयारी छ। जिल्लामा खोप समन्वय समिति अनुसार छलफल गरेर लगाउनेछन् । उनले भने,‘ केही पहिलाको बचेको डोज कति छ त्यसको विवरण पठाउन सम्बन्धित जिल्लाहरूलाई भनेका छौँ । त्यो आएपछि त्यही अनुसार हामीले यहाँबाट भ्याक्सिन पठाउने गरेका छौँ।’ 

सुर्खेतमा सोमबार (आज) देखि २८ हजारलाई खोप लगाइँदै

प्रदेश राजधानी सुर्खेतमा सोमबार (आज)देखि झन्डै २८ हजार ७ सय १२ जना नागरिकलाई खोप लगाउने तयारी सहित अभियान सुरु भएको छ। जनस्वास्थ्य कार्यालय सुर्खेतले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजदेखि ५५ वर्ष उमेर पुगेका र खोपको पहिलो मात्रासमेत नलगाएका नागरिकलाई खोप लगाइनेछ। 

खोप लगाउन जाँदा उमेर खुल्ने कागजात (नागरिकता, सवारी चालक अनुमति पत्र वा वडाको सिफारिस) अनिवार्य लिनुपर्ने छ ।  यस्तै १२ गते (भोली) विश्वविद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सहचालकहरूलाई खोप लगाइने भएको छ । 

खोप लगाउन जाँदा विश्वविद्यालयका कर्मचारीहरूले संस्थाको आधिकारिक परिचय पत्र र सार्वजनिक यातायातका चालक र सहचालकहरूले यातायात व्यवसायी सङ्घको सूची जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित गराइ परिचयपत्र लिनुपर्ने छ । आधिकारिक परिचय पत्र नभएकाहरूले भने खोप लगाउन पाउने छैनन् । सबै स्वास्थ्य संस्थामा एक साथ कोरोनाविरुद्धको खोप (भेरोसेल)को पहिलो मात्रा लगाइने छ । तर, कोरोनाको लक्षण भएका, सिकिस्त बिरामी र कोरोना भएको ३० दिन ननाघेका नागरिकलाई खोप नलगाउन सुझाव दिइएको छ ।

भेरोसेल खोप अभियान सकिएपछि थप २३ हजार नागरिकलाई अमेरिकी जोन्सन खोप लगाइने तयारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

वाग्लेका अनुसार सुर्खेतमा हालसम्म ३३ हजार चार सय ४९ जनाले कोरोनाको पहिलो मात्रा र १४ हजार दुई सय ७९ जनाले दोस्रो मात्रा खोप लगाएका छन्।  

प्रत्येक नागरिकलाई खोपको व्यवस्थापन गर्छौँ : मन्त्री बुढा

कर्णालीका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कोरोना कर्णालीका हरेक नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्थापन गर्ने बताएका छन्। 

सङ्घीय सरकारसँगको समन्वयनमा कोभिड १९ विरुद्धको खोप खरिद गरेर सम्पूर्ण कर्णालीवासीलाई खोपका लागि आवश्यक बजेटको व्यवस्था समेत गरिएको उनले बताए । 

यो कुरा प्रदेश सरकारको बजेटमा उल्लेख गरिए पनि बजेट तोकिएको छैन ।

महामारीको पहिलो र दोस्रो भेरिएन्ट पार गरिसकेपछि तेस्रो भेरिएन्टको तयारीमा प्रदेश सरकार जुटेको पनि बुढाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप