बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

सोमबार, ११ साउन २०७८, १६ : २१
सोमबार, ११ साउन २०७८

नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै असोज १५ देखि संक्रमणको तेस्रो लहर आउन सक्ने जनाएको हो ।

समितिको बैठकमा मन्त्रालयका सहसचिव गंगा लोहनीले जनाएअनुसार मंसिरमा पुनः संक्रमण बढ्न सक्ने सम्भावनालाई आँकलन गरिएको छ । यद्यपि भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालनाको स्तरले यसलाई अगाडि वा पछाडि धकेल्नसक्ने उनले जनाए ।

आगामी पाँच महिनामा करिब दुई लाख कोरोना संक्रमित थपिने

मन्त्रालयले आगामी पाँच महिनामा नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै दुई लाख पुग्ने अनुमान गरेको छ । 

मन्त्रालयका सहसचिव गंगा लोहनीले समितिमा जनाएअनुसार हालको स्थिर अवस्थालाई हेर्दा आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने सम्भावना छ । तीमध्ये ३८ हजार ७७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार ७९३ जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना औंल्याइएको छ ।

कोरोनाको सम्भावित तेस्रो लहरमा बालबालिका तथा खोप लगाउन नपाएका व्यक्तिहरु बढी जोखिममा पर्ने सम्भावना रहेको पनि मन्त्रालयले प्रस्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप