मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सागका पदक विजेतालाई नगद पुरस्कार

सोमबार, ११ साउन २०७८, १६ : १६
सोमबार, ११ साउन २०७८

१३औँ दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई सोमबार नेपाल एथलेटिक्स सङ्घले नगद पुरस्कार प्रदान गरेको छ । सोमबार आयोजित कार्यक्रममा पदक विजेता आठ खेलाडीलाई सङ्घले पुरस्कृत गरेको हो ।

एथलेटिक्स सङ्घले १३औँ सागका स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरेको हो । पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव एकेन्द्र कुँवर, बागमती प्रदेशका सदस्यसचिव सूर्य भण्डारी, एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह र पूर्व सभासद् कल्पना चौधरी (बस्नेत) ले पुरस्कार प्रदान गरेका थिए ।

दुई वर्षअघि नेपालमा आयोजना भएको १३औँ सागमा नेपालले तीन स्वर्ण, एक रजत र चार कांस्य पदक जितेको थियो । सन्तोषी श्रेष्ठले १० हजार मिटर, गोपीचन्द्र पार्कीले पाँच हजार मिटर र किरणसिंह बोगटीले म्याराथनमा स्वर्ण पदक जितेका थिए । यसै गरी पुष्पा भण्डारीले महिलातर्फको म्याराथनमा रजत पदक जितेकी थिइन् । यसै गरी सोमबहादुर कुमालले आठ सय मिटर, टङ्क कार्कीले १५ सय मिटर, हरिकुमार रिमालले पाँच हजार मिटर र दीपक अधिकारीले १० हजार मिटर दौडमा कास्य पदक जितेका थिए ।

सोही कार्यक्रममा अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन जाने अजितकुमार यादवलाई पनि बिदाइ गरिएको थियो । उनले १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । यसै गरी केन्याको नैरबीमा आयोजना हुने वर्ल्ड यु–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा पनि अजितले सहभागिता जनाउने छन् । उनले तीन हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । अजितले सन् २०१८ मा हङकङमा आयोजना भएको एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिपको म्याराथनमा स्वर्ण पदक जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप