शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली प्रदेशका तीन मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

सोमबार, ११ साउन २०७८, १६ : ३५
सोमबार, ११ साउन २०७८

कर्णाली प्रदेशका तीन मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । गत  जेठ ३ मा माओवादी केन्द्रबाट रुकुम पश्चिमका गोपाल शर्मा र सुर्खेतकै सीताकुमारी नेपाली मन्त्रीमा नियुक्त भएकी थिइन् भने जेठ २३ मा नेपाली काँग्रेसबाट दीनबन्धु श्रेष्ठ र यज्ञ बहादुर विसी मन्त्री बनेका थिए ।

यस्तै यस्तै ‘फ्लोरक्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका सांसद अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले वैशाख १५ मा मन्त्रीको सपथ लिएका थिए ।  जसमध्ये तीन जना मन्त्रीहरु गोपाल शर्मा, कुर्मराज शाही र सीताकुमारी नेपालीले ‘भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा १ को बमोजिम मुख्यमन्त्री कार्यालयलाई सम्पत्ति विवरण बुझाएका हुन् ।

कसको सम्पत्ति विवरण कति ? हेर्नुहोस्ः

गोपाल शर्मा, आर्थिक मामिला तथा योजना मन्त्री

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले पेश गरेको सम्पत्ति विवरणमा पुख्र्यौली थलो भन्दा बाहिर दुईवटा घर, चार ठाउँमा जग्गा, एउटा फर्निचर उद्योग उल्लेख गरिएको छ । शर्माले आफ्नो नामबाट एउटा बैँकमा केही रकम बाहेक  अन्य सम्पूर्ण सम्पत्ति आफ्नी श्रीमती अन्जु दहितको नाममा रहेको विवरण पेश गरेका छन् ।

मन्त्री शर्माले पेश गरेको सम्पत्ति विवरणमा अन्जु दहितको नाममा बाँकेको कोहलपुरमा ४०६.३५ वर्गमिटर र बर्दियाको बारबर्दियामा ३३८.६३ वर्गमिटर क्षेत्रफल जमिनमा घर रहेको छ । उनले कोहलपुरको घर घडेरीविक्री गरेर जोडिएको उल्लेख गरेका छन् भने बाबर्दियाको घर व्यवसायीक आय तथा तलवभत्ताबाट जोडेको उल्लेख गरेका छन् ।

यसबाहेक बारबर्दियामै दहितको नाममा ३४० वर्ग मिटर र १२५५ वर्गमिटर क्षेत्रफलको जग्गा आमाको बकसपत्रबाट प्राप्त गरेको र सोही ठाउँमा ३९३८.४८ क्षेत्रफलको जग्गा ९ लाख ६० हजारमा खरिद गरिएको उल्लेख गरिएको छ । 

बारबर्दिया–५ मा ३३८६.३० वर्गमिटरमा ऋण सापटी गरी ५ लाखमा अर्को जग्गा खरिद गरिएको उल्लेख छ । अञ्जुकै नाममा २ तोला सुन रहेको पनि उल्लेख गरिएको छ । उक्त, सुन माइतीबाट प्राप्त भएको पनि उल्लेख गरेका छन् ।

मन्त्री शर्माले एनआइसी बैँक वीरेन्द्रनगरमा रहेको आफ्नो नामको खातामा रु १ लाख ५२ हजार ४२५ पारिश्रमिक वापतको रकम मौज्दात रहेको उल्लेख गरेका छन् भने श्रीमतीको नाममा साइन रेसुङ्गा डेभलमेन्ट बैँक मगरागढीमा सेवा सुविधा, जग्गा बिक्री र व्यवसायीक आयबाट ५ लाख ३९ हजार ४५५ र सेवा सुविधा र व्यवसायी आयबाटनै राष्ट्रिय वाणिज्य बैँक कोहलपुरमा १ लाख ३३ हजार मौज्दात सम्पत्ति रहेको उल्लेख छ ।

उनले आफ्नो नामबाट कुनै पनि संघसंस्थाबाट शेयर नलिएको र श्रीमतीको नाममा आस्था बहुउद्देश्यीय संस्था कोहलपुरमा १० हजार बराबरको शेयर रहेको उल्लेख गरेका छन् । अन्य सम्पत्ति विवरणमा बर्दियाकै बारबर्दिया–५ मा एउटा काष्ठ तथा फर्निचर उद्योग रहेको छ । उक्त, उद्योग ५ लाख ५० हजारमा ०६७ सालमा खरिद गरिएको र अन्जु दहितकै नाममा रहेको छ ।

शर्माले आफ्नो कुनै पनि सवारी साधन नभएको उल्लेख गरेका छन् ।

शर्माले आफ्नो पुख्र्यौली सम्पती रुकुमपश्चिमको चौरजहारीमा रहेको सम्पत्ति परिवारका अन्य सदस्यको नाममा रहेकाले सार्वजनिक नगरेको बताएका छन् । २०४६ सालदेखिनै राजनीतिमा होमिएका उनी नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् ।

कुर्मराज शाही भुमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री

गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोरक्रस’ गरेर विश्वासको मत दिएका भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आफुले पाउने पारिश्रमिक वापत बाट ३ लाख बराबरको रकम मौज्दात रहेको उल्लेख गरेका छन्।

उनले कृषि विकास बैँकको ऋण ४ लाख रहेको समेत उल्लेख गरेका छन् । यद्यपि, कुन प्रायोजनमा ऋण लगेको भन्ने कुरा उल्लेख गरेनन् ।

यस्तै कालिकोटको मान्ममा एक सय वर्गमिटर घडेरीमा दुई तलाको घर बनाईएको बताएका छन् । त्यो घर आफुले प्रदेशसभा सदस्य हुनुभन्दा अगावै जोडेको उनी बताउँछन् ।

शाहीले कुनै पनि संघसंस्थामा सेयर लगानी नरहेको र सवारी साधनमा एउटा मोटरसाईकल मात्र रहेको उल्लेख गरेका छन् ।

यसैगरी श्रीमती कसुमकला शाहीको नाममा डेढ तोला बराबरको सुन दाइजो स्वरुप माइतीले दिएको कुरा उल्लेख गरेका छन्। मन्त्री शाहीले सुर्खेत लगायत अन्य शहर क्षेत्रमा कुनै घर घडेरी नभएको उल्लेख गरेका छन् भने पुख्र्यौली सम्पत्ति खुलाएका छैनन्। उनी नेकपा एमालेबाट प्रदेशसभा सदस्य हुँदै मन्त्री बनेका हुन् । 

 सीताकुमारी नेपाली , आन्तरिक मामिला तथा कानुन मन्त्री

आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीसँग सुर्खेतको लेकबेसी नगरपालिका–४ मा श्रीमान रामबहादुर चपाईको नाममा ८ कट्ठा जमिन, अर्धपक्की सहितको दुईतले घर, आफ्नै नाममा लेकबेसी नगरपालिका–१ मा २६२३.४१ वर्गमिटर क्षेत्रफलमा फैलिएको जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

यस्तै एनआईसी एसिया बैँकमा १ लाख ५० हजार र प्राईम सहकारीमा ६ लाख ६१ हजार २१२ रुपैयाँ बराबरको मौज्दात सम्पत्ति छ ।  उक्त, सम्पत्ति तलव भत्ताबाट आर्जन गरेको मन्त्री नेपालीले उल्लेख गरेकी छन् ।

चलसम्पत्तिमा नेपालीसँग ६ तोला सुन र १४ तोला चाँदी पैतृक सम्पत्ति छ भने  तीनवटा सहकारी तथा कम्पनीहरूमा उनको लाखौँ रकम सेयर रहेको पनि खुलेको छ। मन्त्री नेपालीको नाममा प्राइम सहकारीमा १ लाख ४० हजार ५ सय, नयाँ कृषि नामक सहकारीमा १० हजार र जलविद्युत तथा विकास कम्पनीमा ५६ हजार बराबरको सेयर रहेको देखिन्छ । उनले यो सेयर पनि तलव भत्ताबाट नै गरेको उल्लेख गरेकी छन् ।

उनले १ लाख ६० हजारका १० वटा बोयर जातका बाख्रा पालन पनि गरिरहेकी छन् भने श्रीमानको नाममा साढे एक लाख भन्दा बढी रकमको एउटा फर्निचर उद्योग र  ५ लाख ५० हजार बराबर मुल्यमा खरिद गरिएको टेक्टर (सोनालीका) पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप