बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाको पहिलो बुँदा नै निष्क्रिय !

सर्वसाधारणलाई जरिवाना गराउने प्रशासन राजनीतिक दलसामु निरीह
सोमबार, ११ साउन २०७८, १७ : ०२
सोमबार, ११ साउन २०७८


आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले आजबाट लागू हुने गरी थप १० दिन निषेधाज्ञाको घोषणा गरेका छन् । उपत्यकामा निषेधाज्ञा घोषणा गर्दै पहिलो बुँदामा नै सबै प्रकारका सभा, सम्मेलन, यस्तै खुला स्थानमा मानिस भेला हुन, सभा जुलुस गर्न, नित्यकर्म बाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम आदि नगर्न प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आदेश दिएको छ ।

तर, आज साउन महिनाको दोस्रो सातामा सोमबार पशुपति मन्दिरसँगै उपत्यकाका शिव मन्दिरहरूमा पूजाआरधनामा सरिक हुनेको बाक्लो भिडले न त सामाजिक दूरी कायम गरेका छन् नत मास्कको सही रूपमा प्रयोग गरेका छन् ।

सोमबार नै ट्याक्सी चालकहरूले आफूहरूमाथि बारम्बार आक्रमण गरेको भन्दै पठाओ राइडरहरुको ठुलो सङ्ख्या सडकमा प्रदर्शनमा उत्रिए । ‘राइडर एकता जिन्दाबाद’ भन्दै उनीहरूले निकाल्न लागेको बाइक -यालीलाई प्रहरीले हस्तक्षेप गरेको थियो । यद्यपि प्रहरीले प्रदर्शनकारीलाई हस्तक्षेप गरे पनि सयौँ पठाओ राइडरहरु कोरोना सङ्क्रमणको जोखिमलाई वेवास्ता गर्दै ‘राइडर एकता जिन्दाबाद’ भन्न व्यस्त थिए । 

आज नै जनता समाजवादी पाटी (जसपा) को आधिकारिकता विवादबारे निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणीको सदस्यहरूको सनाखत भइरहँदा प्रायः जसो नेताहरूले पूर्ण रूपमा जनस्वास्थ्य मापदण्ड पालना गरेनन् ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच देखिएको पार्टी आधिकारिकताको विवादलाई ‘हेड काउन्ट’ नीति लिएर टुङ्ग्याउनका लागि आयोगमा पुगेका शिक्षित अर्थात् जनताका जनप्रतिनिधि आफैले कोरोना महामारीका बेला न त सामाजिक दूरी कायम गरे न त सही रूप मास्कको प्रयोग गरे । 

भिडभाड नगर्न, जनस्वास्थ्यका मापदण्ड उल्लघंन नगर्न पटक पटक आदेश दिने उपत्यकाका सिडिओ कार्यालयहरू आदेश कार्यान्वयन भए नभएको खासै ख्याल गरेको पाइँदैन । कोरोना महामारीको पहिलो लहर र दोस्रो लहरको सुरुवाती समय अर्थात् निषेधाज्ञा जारी गरेको वैशाख १६ गतेपछिका केही हप्तासम्म बाटोमा मास्कको प्रयोग गरेर हिँड्ने सर्वसाधारणलाई जरिवाना तिराउन तत्परता देखाउने सिडिओ कार्यालयहरू हाल निषेधाज्ञा उल्लङ्घन गर्ने विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता, व्यवसायी, धर्म संस्कृतिको नाममा जनस्वास्थ्यमा नियम उल्लङ्घन गर्नेलाई अनदेखा गरिरहेको छ । यद्यपि निषेधाज्ञा जारी छ भन्न भने छाडेको छैन ।   

काठमाडौँ उपत्यकामा कोरोना महामारीका कारण कुनै समूह, राजनीतिक दल कसैलाई पनि  सभा, जुलुस, प्रदर्शन आदि क्रियाकलाप गर्न अनुमति नदिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताउँछन् । सिडिओ कार्यालयले दिएको आदेश सरकारमा रहने तथा प्रतिपक्षमा बस्ने राजनीतिक दल, व्यापार व्यवसायी, तथा सर्वसाधारणले नमानेको उनले बताए ।

​‘कोरोना महामारी फैलिन नदिने दायित्व हामी सबै हो, त्यसैले जनस्वास्थ्यकाका मादण्ड पालना गर्न आवश्यक छ,’ उनले भने, ‘भिडभाड गर्ने सजगता नअपनाउनेलाई प्रहरीसँग निरन्तर समन्वय गरेर रोक्ने कोसिस गरिरहेको छौँ ।’

लगातार निषेधाज्ञा उल्लङ्घन गरी अर्को लहरलाई निम्ता दिइँदै ?  

कोरोना सङ्क्रमणको महामारी कायम हुँदाहुँदै सभा, प्रदर्शन, भेला, धार्मिक क्रियाकलापले तेस्रो लहरलाई निम्ता दिएको जनस्वास्थ्यविज्ञहरुले बताउन थालेका छन् ।

 निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड पालना नगर्नेहरू बढ्न थालेसँगै ५०० भन्दा बढी सङ्क्रमित हुने ११ जिल्ला छन् । क्रमशः सङ्क्रमण दर बढेर १९.२ प्रतिशत पुगेको छ । दैनिक कोरोनाकै कारण १८/२० जनाको मृत्यु हुन्छ । कोरोना सङ्क्रमणको जोखिम कायम रहेका बेला गरिने भिडभाडले अर्को लहर चाँडै आउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक बाबुराम मरासिनी बताउँछन् । 

​‘अझै जोखिम घटेको छैन, कोरोना तीव्र रूपमा फैलिन तयारी अवस्थामा छ,’ उनले भने, ‘अबको यो ‘भिड्, प्रदर्शन, सभा सम्मेलन, जनस्वास्थ्यका नियम उल्लङ्घन ले महामारी बढ्छ ।’

यस्तै स्वास्थ्य तथा मन्त्रालयले सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि साउन ७ गते प्रेस विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमणको तेस्रो लहर छिट्टै आउन सक्ने भन्दै स्वास्थ्य संस्थाहरूमा अक्सिजन, बेडलगायत पूर्वाधारहरू तयारी अवस्थामा राख्न निर्देशन दिएको थियो । 

आज संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ सङ्क्रमित थपिने सम्भावना रहेको जानकारी दिएको छ । मन्त्रालयका सहसचिव गंगा लोहनीले समितिका अनुसार हालको स्थिर अवस्थालाई हेर्दा आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ सङ्क्रमित थपिने सम्भावना छ । तीमध्ये ३८ हजार ७७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार ७९३ जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना रहेको उनले बताइन् ।

सङ्क्रमितको सङ्ख्या गणना गर्ने र प्रक्षेपण गर्नमा समय खेर फाल्न नहुने जनस्वास्थ्य विद्हरूले सुझाव दिएका छन् । 

डा. मरासिनी भन्छन्, ‘निषेधाज्ञा गर्ने, कार्यान्वयन भए नभएको थाहा नपाउने । यति समयमा यति सङ्क्रमित हुन्छन् भन्ने त्यहीअनुसार तयारी व्यवस्थापन गर्ने । अब बारम्बार सङ्क्रमित बढ्छन् भनेर भएन कसरी जोखिम कम गर्ने भन्ने तर्फ सबैले ध्यान पुर्‍याउन प-यो ।’   

खोप लगाए पनि मास्क लगाउन नभुलौँ

कोरोनाविरुद्धको खाप लगाउँदैमा कोरोना मुक्त भएको सम्झन नहुने चिकित्सकहरु बताउँछन् । कोरोनाविरुद्धको खोप लगाए पनि अनिवार्य रूपमा जनस्वास्थ्यको नियम पालना गर्नुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

कोरोनाविरुद्धको खोप लगाएर जनस्वास्थ्यका नियम पालना नगर्दा अन्य व्यक्तिलाई सङ्क्रमण गराउन सक्ने सम्भावना बढी हुने भएकाले मास्क प्रयोग, हातको बेलाबेलामा सफाइ, सामाजिक दूरी कायम गर्न कति पनि नहुने उनी बताउँछन् ।

खोप लगाएका कतिपयमा एन्टिबडीको विकास हुन पनि सक्ने, खोप लगाएर सुरक्षित ठान्न भएन, त्यसैले जनस्वास्थ्यका नियम अनिवार्य पालना गर्नुपर्ने उनले सुनाए ।

 पूर्ण खोप लगाएका सङ्क्रमित भइहाले स्वास्थ्यमा जटिल अवस्था सृजना हुने अवस्था कम हुन्छ । तर, सङ्क्रमण जोखिम कायम रहेकाले खोप लगाएका र नलगाएका नागरिकले अनिवार्य रूपमा मास्कको प्रयोग तथा जनस्वास्थ्यका नियम पालन गर्न उनको आग्रह छ ।  

यस्तै अमेरिकामा हालसम्म ४९ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । अमेरिकामा नलगाएका क्षेत्रमा डेल्टा भेरिएन्टको बढेको अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले बताएका छन् । कोरोना नियन्त्रणका लागि मास्क अनिवार्य गर्नेबारे छलफल भइरहेको फाउचीले बताएका हुन् । त्यहाँ गत अप्रिलदेखि खोप लगाउने दर केही घटेको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप