शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टोकियो ओलम्पिक - आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा

सोमबार, ११ साउन २०७८, २२ : २५
सोमबार, ११ साउन २०७८

 जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो ।  जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्य पदक प्राप्त गरेको छ भने चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौँथो स्थानमा रहेको छ । 

    बेलायत तीन स्वर्ण, तीन रजत र एक कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । यसैगरी दक्षिण कोरिया तीन स्वर्ण र चार कास्यसहित छैटौँ, अस्ट्रेलिया दुई स्वर्ण, एक रजत र तीन कास्यका साथ सातौँ, कोशोभो दुई स्वर्ण जित्दै आठौँ, इटाली एक स्वर्ण, तीन रजत र चार कास्यसहित नवौँ तथा फ्रान्स एक स्वर्ण, दुई रजत र दुई कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेभसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ५० देशले पदक प्राप्त गर्न सफल भएका छन् ।   

    नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तिमध्ये सुटिङकी  कल्पना परियार र जुडोकी सोनिया भट्टले खेलिसेका छन् । दुवै जना पराजित भए । परियारले महिला १० मिटर एयर राइफलमा तथा भट्टले महिला ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । 

    टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप