बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चार दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालन

मङ्गलबार, १२ साउन २०७८, ०९ : ४३
मङ्गलबार, १२ साउन २०७८

पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडक चार दिनपछि सोमबार साँझदेखि सञ्चालन भएको छ । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएपछि गत शुक्रबारदेखि अवरुद्ध भएको थियो ।

वर्षाका कारण ढुङ्गा, माटो र लेदोसहितको पहिरो  खसेर बन्द भएको सडकको अवरोधलाई हटाएपछि सोमबार साँझदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रे भिरलगायतका स्थानमा पहिरो गएकाले शुक्रबार बिहानैदेखि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङ र उत्तरी म्याग्दीका गाउँहरुमा जान हिँडेका यात्रु समस्यामा परेका थिए । सडक खुलेसँगै बीच बाटोमा अलपत्र परेका यात्रु र सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

बन्द सडक खुले पनि पहिरोका जोखिम भने कायमै रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए । वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँठाउँमा पहिरो जाने क्रम भने रोकिएको छैन ।

यात्रु तथा सवारी साधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको प्रहरी निरीक्षक गुरुङले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप