मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कुटाइ खाने श्याम घिमिरे भन्छन्– काँग्रेसमा जंगबहादुरभन्दा बढी सामन्ती छन्

‘बालकृष्ण बस्नेतले हात छोड्नुभयो, पछि सबैले हात छोडे’
मङ्गलबार, १२ साउन २०७८, ०९ : ४८
मङ्गलबार, १२ साउन २०७८

नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानविन अन्तिम चरणमा छ । छानविन समितिका संयोजक रमेश लेखक नेतृत्वको समितिले करिब ४० दिन गौशालास्थित धर्मशाला भवनमा डेरा जमाएर काम गरेको छ । यही धर्मशालामा गत साता छानविनका समितिका सदस्य श्याम घिमिरेमाथि कुटपिट भयो ।

धर्मशालामा जटिल समस्याका बाबजुद क्रियाशील सदस्यताको विवाद लगभग टुंगिएको छ । क्रियाशील छानविन समितिले महाधिवेशनको प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यता वितरण र नवीकरणको विषय टुङ्ग्याएर सभापतिले मंगलबार प्रतिवेदन बुझाउँदैछन् । केही विवादहरु नटुंगिँदै केन्द्रीय नेतृत्वलाई छानविन समितिले प्रतिवेदन बुझाउन लागेको हो ।

आखिर क्रियाशील सदस्यतासम्बन्धी विवाद मिलाइरहेका घिमिरेमाथि किन कुटपिट भयो ? यो घटनाले नेपाली काँग्रेसको  सांस्कृतिक स्तरमाथि के कस्तो प्रश्न उठेका छन् ? यिनै सन्दर्भमा केन्द्रित रहेर रातोपाटीले काँग्रेस नेता श्याम घिमिरेसँग कुराकानी गरेको छ । 

तपाईं नेपाली काँग्रेसको संस्थापन पक्षबाट छानविन समितिमा प्रतिनिधित्व गरिराख्नुभएको छ । तर, तपाईंमाथि संस्थापन पक्षबाटै कुटाइ खाने परिस्थिति कसरी बन्यो ?

हो, बुझ्नुस् न । काम गर्दा गुटमै आवद्ध भएर गुटको पक्षको पहाड भएर उभिएको भए मैले आफ्नै गुटबाट कुटाइ खान्थेँ होला ? अर्को गुटका मान्छेबाट कुटाइ खाएको भए त यसले गुटबन्दीमा पक्षको पहाड भएर उभिएछ, ठोकेछन् भन्न हुन्थ्यो होला, मैले त आफ्नै पक्षबाट कुटाइ खाएको हुँ ।

हामी गुटभन्दामाथि उठ्ने कोशिस गर्दा नै त्यो दुर्व्यवहार भोग्नुपर्यो होला । हामी गुटबन्दीबाट माथि उठेर जुन भूमिकामा छौं, त्यहाँ बसेर निर्णय लिन खोज्दा त्यो अवस्था सिर्जना भयो होला नि त ।

त्यो दिन खास भएको के थियो ?

सिन्धुपाल्चोकमा राप्रपाका सुनील थापा समूहका विश्वविक्रम थापाका १२ सयजति सदस्यता स्वीकृत भएको थियो । उहाँलाई १२ सय सदस्यता पनि दिइएन, तीन/चार सय मात्र दिइयो भन्ने कुरा छ । त्यहाँ भरिएका सदस्यता फारमप्रति हाम्रो समितिभित्र सहमति हुन सकेन ।

किन ?

यो गलत ढंगले बाँडिएको छ, यसलाई स्वीकार गर्न सकिँदैन भन्ने कुरा आयो । मापदण्ड विपरीत दिइएको भन्दै स्वीकार गर्न सकिँदैन भन्ने कुरा भयो । सर्वस्वीकृत भयो भने गर्ने, नभए नगर्ने मापदण्डमै व्यवस्था गरिएको छ । त्यसलाई स्वीकृत नगर्ने भन्ने कुरा आएपछि माथि केन्द्रीय नेतृत्वलाई पठाइदिने भन्ने कुरा भयो ।

त्यसदिन बिहान मोहनजी (केन्द्रीय सदस्य मोहन बस्नेत)सँग कुरा भयो । उहाँ मसँग रिसाउनु पनि भयो । मैले सम्झाउने कोशिस गरेँ । तर, उहाँ अलि आक्रोशित हुनुभयो । पछि हाम्रो संयोजक (रमेश लेखक)जीले पनि फोन गरेर सम्झाउनुभयो । संयोजकजीका अनुसार पछि उहाँ कुलडाउन पनि हुनुभएको थियो । त्यसको आधा घण्टापछि गेटमा २५/३० जनाको हुल आएको रहेछ ।

मलाई भक्तपुरबाट कागज दिन एकजना मान्छे आउनुुभएको थियो । त्यो कागज लिने सिलसिलामा गेटसम्म गइदिनुपर्‍यो  भनेर भक्तपुरका जिल्ला सभापतिले फोन गर्नुभयो । कागज लिन म गेटमा पुगेँ र कागज लिएँ । त्यहीबेला सिन्धुपाल्चोक साथीहरुले सम्मानजनक ढंगले ‘दाइ बाहिर आउनुपर्यो’ भन्नुभयो । त्यहाँ मैले चिनेका मान्छे तीनजना थिए । क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, हरिशरण श्रेष्ठ र प्रेमध्वज लामालाई मात्र मैले चिन्छु । उनीहरु पार्टीका जिम्मेवार सिनियर मान्छे हुन् भन्ने भयो । के गर्छन् र भनेर बाहिर निस्किएँ । बाहिर निस्किने बित्तिकै दुव्र्यहार सुरु भयो । बालकृष्ण बस्नेतले हात छोड्नुभयो । पछि सबैले हात छोडे ।

एउटा लोकतान्त्रिक स्कुलिङबाट हुर्केका नेता–कार्यकर्ताले पार्टीको छानविन समितिको काम गर्ने स्थलमै आएर यसरी दुर्व्यवहार गर्ने संस्कारलाई कसरी लिनुभएको छ ?

हामी काँग्रेस भयौं । लोकतन्त्रलाई झण्डामा बोक्यौँ । ब्यानरमा बोक्यौँ । तर, मनमा र मस्तिष्कमा बोक्न सकेनौँ । लोकतन्त्र मन र मस्तिष्कमा हुनुपर्छ । ब्यानर र झण्डामा मात्रै राष्ट्रियता, लोकतन्त्र, समाजवाद बोकेर लोकतन्त्रवादी भइँदैन ।

हामी पुरै सामन्ती सोचका मान्छेहरु हौं । कोही कोही त जंगबहादुर भन्दा पनि बढी सामन्ती शैलीका मान्छेहरु छन् । ममाथिको दुर्व्यवहार त्यसैको द्योतक हो । आफूलाई परिवर्तन गर्नुपर्यो नि । जेल बसेर मात्र लोकतन्त्रवादी भइँदैन । लोकतन्त्रका निम्ति जेल बसेर आउने, अनि घर आएर श्रीमती कुट्ने, छिमेकी तर्साउने ? कुनै उदारता छैन भने जति वर्ष जेल बसे पनि के अर्थ ? आफ्नै साथीभाइमाथि सहिष्णुता छैन । लोकतन्त्रवादी भनेको त चराचर जगतसँग उदार हुन सक्नुपर्छ ।

तपाईंमाथि भएको दुर्व्यवहारका विषयमा आकस्मिक रुपमा पदाधिकारी बैठक बसेर कारबाहीको निर्देशन गरेको थियो । कहाँ पुग्यो कारबाही प्रक्रिया ?

मेरो व्यक्तिगत घटना होइन ।  मेरो कारबाहीको माग पनि होइन । पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा भएको कुरा हो । छानबिन समितिले स्वामित्व ग्रहण गर्यो, म धन्यवाद दिन्छु । पार्टीका नेताहरुलाई धन्यवाद दिन्छु । उहाँहरुले पनि यसको स्वामित्व ग्रहण गर्नुभयो । प्रधानमन्त्रीको व्यस्तताका बाबजुद तुरुन्तै बैठक बसेर कारबाहीका लागि निर्देशन दिनुभयो । उहाँहरुलाई धन्यवाद छ ।

पार्टीको अनुशासन समितिलाई कारबाही गर्न निर्देशन दिएको थियो, तर दुर्व्यवहार गर्नेमाथि अहिलेसम्म किन कारबाही भएको छैन ?

मलाई केही जानकारी छैन । अनुशासन समितिका साथीहरु आएर मसँग कुराकानी गर्नुभएको थियो । त्यसपछि मलाई केही थाहा छैन ।

पार्टीले २४ घण्टाभित्र स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अगाडि बढाउन तीन दिनको समय सीमासहित निर्देशन दिएको हप्ता दिन बढी भइसक्यो । अब यो फासफुस भएको हो ?

यो विषयमा मैले कसैलाई प्रेसर गरेको पनि छैन । म प्रेसर पनि गर्दिनँ । किनभने यो श्याम घिमिरेमाथिको घटना होइन । मसँग बालकृष्ण बस्नेत र हरिशरणहरुसँग के दुस्मनी छ ? पार्टीको कामको सिलसिलामा त्यो घटना घट्यो । मैले व्यक्तिगतरुपमा ती मान्छेमाथि कारबाही हुनुपर्छ भनेर माग पनि गरेको छैन । हाम्रो समितिको बैठक बसेर सभापतिसँग कारबाहीको माग गर्यो । सभापतिले पदाधिकारी बैठक बोलाउनुभयो । पदाधिकारी बैठकले निर्देशन दियो । यो कुरामा म बाठो भएर फलानोलाई कारबाही गर भन्दिनँ ।

आफूमाथि दुर्व्यवहार गर्नेलाई कुन हदसम्मको कारबाहीको अपेक्षा गर्नु भएको छ ? 

कसैप्रति म प्रतिशोध मनमा राख्ने मान्छे होइन । तपाईंले मलाई यहाँ आएर दुई थप्पड हिर्काउनुभयो भने एकछिन नराम्रो लाग्ला । तर, भोलि त्यो मान्छेलाई सिध्याइदिऊँ, यसलाई म देखाएर छोड्छु भन्ने मेरो मनमा आउँदैन । यो मेरो व्यक्तिगत स्वभाव पनि हो ।

त्यसो भए उहाँहरूमाथि कारबाही भएन भने पनि तपाईंको गुनासो हुँदैन भनेर बुझ्ने हो ?

होइन, मैले अघि नै भनें । नेताहरुले यो मुद्दा छानविन समिति हुँदै पार्टीको मुद्दा बनाउनुभयो । मिडियाले पनि निकै स्पेस दियो । म सबैप्रति आभारी छु । अब योभन्दा पछाडि मैले भन्नुपर्ने कुरा केही छैन ।

अब काँग्रेसको क्रियाशील सदस्यता छानविन समितिले गरेका कामहरूबारे चर्चा गरौँ । छानविन समितिले समयमै काम नगरिदिँदा महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ । छानविन समितिले किन समयमै सदस्यता विवाद टुंग्याउन नसकेको ?

हाम्रो क्रियाशील सदस्यता वितरण नियमित प्रक्रिया हो । यसको व्यवस्थापन गर्ने एउटा संयन्त्र पनि छ । सभापति संयोजक र दुईजना महामन्त्री सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति छ । त्यो समितिले सधैं क्रियाशील सदस्यता वितरण र व्यवस्थापन गर्ने गर्नुपर्ने हो । तर, त्यो काम भइरहेको छैन । महाधिवेशनको मुखमा आएर क्रियाशील सदस्यता बाँड्ने हाम्रो परम्परा नै बन्यो । कोरोनाका कारण विगतमा जस्तो काम पनि भएन ।

२०७७ साल फागुन ५/६ गतेको केन्द्रीय समितिको बैठकबाट क्रियाशील सदस्यता छानविन समिति बनेपछि ७ गतेबाटै काम प्रारम्भ भयो ।

हामीले दुई महिनाको अवधिमा ८ लाख क्रियाशील सदस्यले हाम्रो सिस्टमभित्र इन्ट्री गराएका थियौं । त्यसपछि निषेधाज्ञा सुरु भयो । हाम्रा कामहरु अवरुद्ध हुन थाले । त्यसपछि हामीले डेढ महिना कामै गर्न सकेनौँ । जिल्लामा पनि काम हुने स्थिति रहेन र केन्द्रमा पनि काम हुन सकेन । भौतिकरुपमा मिटिङ गर्ने अवस्था पनि रहेन । असार लागेपछि मात्र हामीले काम सुरु गरौं ।

समितिमा करिब १० हजार बढी उजुरी थिए । त्यसलाई हामीले छानविन गर्नुपर्ने भयो । छानविन गर्दा यो अदालत होइन, न्यायालयमा जस्तो प्रमाणका आधारमा मात्र बोल्ने होइन, यो राजनीति पनि हो । दुवै पक्षका विवाद र द्वन्द्वहरूलाई भरसक मिलाइदिने हाम्रो काम हो । धेरै ठाउँमा मिल्यो पनि । कतिपय ठाउँमा मिलेन । त्यसैले केही समय लम्बिएको हो ।

निषेधाज्ञाका कारण निर्णयका प्रतिलिपि, फारम र कागजपत्र आइपुग्न पनि ढिलो भयो । केही सदस्य भएपछि ४० दिनदेखि हामी यहाँ (गौशालास्थित धर्मशालामा) काम गरिरहेका छौं । अब हामी कामको अन्तिम चरणमा छौं । राज्यपुनर्संचना अनुसारको पार्टी समायोजनका नहुँदा बारा र सप्तरी निकै ढिलो गरी क्रियाशील सदस्यताको सूची आयो । त्यसलाई हामीले चुनसक्ने अवस्था पनि रहेन । सिन्धुपाल्चोक अवस्था पनि त्यही नै थियो ।

बारा र सप्तरीको सम्बन्धमा हामीले निर्णय लिन सकेनौँ । त्यस्तै सिन्धुपाल्चोकमा राप्रपाको र रसुवाको नयाँ शक्तिका आएका साथीहरुको समायोजनको विषय हामीले समाधान गर्ने सकेनौँ । त्यसलाई पनि केन्द्रमा पठाउने निर्णय गरेका छौं । कैलालीको दुई नम्बर र धनुषा ४ को चार नम्बरमा पनि केही समस्या छ । केही वडा स्थगन भएका छन् केही वडाको विषयमाथि पठाउने निर्णय गरेका छौं । धेरै काम सकिइसकेको छ । मंगलबार हामी प्रतिवेदन बुझाउँदै छौं ।

निर्वाचन समितिले महाधिवेशन गर्न करिब दुई महिनाको समय मागेको अवस्था छ । भदौमा महाधिवेशन त नहुने भयो होइन ?

महाधिवेशन हुन्छ कि हुँदैन भन्ने कुराको जवाफ म दिन सक्दिनँ । मैले दिँदा उचित पनि हुँदैन । त्यसको म निर्णायक मान्छे पनि होइन । हामीले जुन जिम्मेवारी पाएका थियौं, त्यो जिम्मेवारीमा इमान्दारितापूर्वक काम गरेका छौं । ९ लाख क्रियाशील सदस्यलाई हामीले सिस्टमभित्र ल्याएका छौं । १० हजार बढी उजुरी टुंग्याउने क्रममा  कोभिडको महामारीका बीच हजारौं साथीहरुलाई भेटेर, गुनासो सुनेर समस्या समाधान गर्ने कोशिस गरेका छौं । हामीले हाम्रो तर्फबाट काम सिध्यायौं । अब महाधिवेशन हुने–नहुने कुरा हामीले भन्ने सक्ने अवस्था छैन ।

छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाउँदै गर्दा पार्टी कार्यालय सानेपामा जारी धर्ना र अनशनको कसरी सम्बोधन हुन्छ ?

त्यो हाम्रोतर्फबाट समाधान हुन सक्दैन । समायोजनसम्बन्धी विवादमा छानविन समितिमा सर्वसम्मत हुन्छ भने हुन्छ, त्यो हुन सकेन भने केन्द्रमा पठाउने हाम्रो मापदण्डले भन्छ । त्यो विषयमा हाम्रोबीचमा सर्वसम्मत हुन सकेन ।

धर्ना/सर्नालाई हेर्ने दृष्टिकोण एउटै छैन । हाम्रा ६ हजार  ७ सय ५३ वटा वडामध्ये त्यहाँ कतिवटा वडाका मान्छे धर्नामा बसेका छन् ? धेरै भए ५३ वडाका मान्छे बसेका होलान् । मलाई लाग्छ, त्यही पनि छैन । हामी ६ हजार ७ सय वडालाई सन्तुष्ट गर्न सक्यौं होला । शतप्रतिशत सन्तुष्ट कसैको पनि हुन सक्दैन । विवाद र झमेलामा कुनै पक्षको पक्षमा फैसला हुँदा अर्को पक्षले त्यहाँ अन्याय भएको देख्छ । दुवै पक्षले न्याय भयो भनेर स्वीकार गर्ने अवस्था हुँदैन ।

जिल्लाका पूर्वपदाधिकारी पूर्वसांसद समेत क्रियाशील सदस्यताबाट छुट्ने अवस्था कसरी बन्यो ?

कहाँ छ ? कुनै पूर्व पदाधिकारी क्रियाशील सदस्य पाउनबाट छुटेको छैन ।

पूर्वराष्ट्रपतिका छोरासमेत अनशनमा बस्नुभएको छ ....

उहाँको सदस्यता छुटेको होइन । उहाँका मान्छेहरु वा उहाँले भनेजस्तो भएन होला । केही ठाउँमा हामीबाट पनि त्रुटी पनि भयो होला । हामीले जे गर्यौं, बहुत राम्रो काम गर्‍यौं भन्ने कुरा पनि हुँदैन । यो दुनियाँमा सबै कुरा सही हुन्छ भन्ने पनि हुँदैन । तर, पूर्वराष्ट्रपतिका छोरा अनसन बस्नुभएको छ । उहाँको हकमा केही निर्णय पनि भएको छैन ।

अनशन बसिहाल्नुपर्ने आवश्यकता पनि थिएन । उहाँलाई केही निर्णय गर्लान् कि भन्ने लागेको हो । हाम्रो क्रियाशील सदस्यता वितरणबारे निर्लज्ज भन्न सक्छु, नेपाली काँग्रेसको सदस्यता आजको दिनमा सिन्डिकेटमा छ ।

जस्तै ?

वडामा सिन्डिकेट छ । वडाले सिन्डिकेट चलाएको छ । मन लागेको मान्छेलाई दिन्छ, मन नलागेको मान्छेलाई दिँदैन । त्यसमा वडा समिति वा वडाध्यक्षले सिन्डिकेट गरेको छ । त्यसपछि पालिका, प्रदेश र क्षेत्रको सिन्डिकेट छ । पालिका र प्रदेशलाई धेरै दोष दिन्नँ, उनीहरुको त्यति भूमिका छैन । तर, क्षेत्रीय समितिको सिन्डिकेट छ । वडाले एउटा निर्णय गरेर पठाउँछ । स्वाट्ट काटेर क्षेत्रले जम्मै मान्छे आफ्ना हाल्छ । अर्को हामी महाधिवेशनको अन्तिमसम्म क्रियाशील सदस्यताको काम गर्दैछौं । अधिवेशनमा सबैले आ–आफ्नो भोट गनेर बसेका छन् । हामीले सदस्यता बनाएको होइन, मतदाता बनाएको हो । त्यो पनि गनेका मतदाताले तलमाथि हुन सक्छ ।

यहाँ कसैसँग १२ भोट छ ।  मेरो १० भोट मात्र हुने भयो भने उसलाई जित्नका लागि १३ भोट बनाउन चाहन्छु नि ! त्यो मानवीय स्वभाव र चाहना हो । यस्तो हुनका पछाडि निर्वाचनको मुखमा आएर क्रियाशील सदस्यता वितरण गर्ने गर्दाको समस्या हो । साथै, पार्टीभित्र असहिष्णुता छ ।

हामीजस्ता लोकतन्त्रवादीहरु नाममा छौं, व्यवहारमा छैनौं ।  लोकतन्त्र वाद वा व्यवस्था वा सरकार चलाउने पद्दति मात्र होइन, यो जीवन पद्दति हो, संस्कृति हो । लोकतन्त्र पढ्न कुनै युनिभर्सिटी जानुपर्दैन ।

यो संसारमा ७ अर्ब मान्छे छन् । मलाई जे–जे कुरा राम्रो लाग्छ, सातै अर्ब मान्छेलाई राम्रो लाग्छ । मलाई नराम्रो लाग्ने कुरा सातै अर्ब मान्छेलाई नराम्रो लाग्छ । हामी लोकतन्त्रवादी भएर यति अनुदार भयौं, एउटा साथीले अर्को साथीलाई देख्न नसक्ने ।

पार्टीको वडादेखि केन्द्रीय सत्ता कब्जा गर्ने होडबाजीमा भोलिको निर्वाचन लड्नुपर्छ भन्ने कुरा पनि बिर्सिसक्यौँ । आफूसँग असहमत पक्षलाई सिध्याउँदै गर्दा भोलि त्यसले मलाई निर्वाचनमा सहयोग गर्ला कि नगर्ला भन्ने कुरा पनि हामीले बिर्सियौँ । आज हाम्रो एक मात्र होड भनेको आफूसँग असहमत पक्षलाई सम्पूर्ण रुपले सखाप पारेर आफूमात्र आउने र टिकट हत्याउने छ । भोलि टिकट हत्याएपछि जित्न तिनै साथीको साथ चाहिन्छ भन्ने सोच र चिन्तन हामीसँग भएन । समस्या यहाँनेर छ ।

छानविन समितिका सातजनाले आ–आफ्नो जिल्ला र क्षेत्रको सदस्यता वितरणमा बदमासी गरेको आरोप छ । छानविन गर्न बसेकामाथि नै छानविन गर्नुपर्ने अवस्था आएको हो ?

हामी छानविन समितिका सातैजना साथीहरूका आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा विवाद छैन । मेरो पनि छैन । विवाद नभएपछि झगडा गर्न परेन नि । कोही कसैले बदमासी गरेको मेरो नोटिसमा आएको छैन । आफ्नो हात जगनाथ हुनका लागि झगडा पनि त हुनुपर्यो । एकाध ठाउँमा भए मलाई थाहा छैन ।

तपाईं एकाध ठाउँको कुरा गर्नुहुन्छ । छानविन समितिका संयोजक रमेश लेखकले नै फर्जी क्रियाशील सदस्यता थपेको कुरा लुकाएर लुक्छ र ?

त्यो मिथ्या आरोप हो । तपाईंले रमेश लेखकलाई कति चिन्नुभएको छ, मैले सँगै बसेर काम गर्ने अवसर पाएँ । उहाँको स्वभाव पनि त्योखालको होइन । उहाँले सबैलाई आ–आफ्नो ठाउँमा पनि फर्जी काम नगर्ने स्पष्ट निर्देशन गर्नुभएको छ । उहाँले मेरो क्षेत्रमा त गर्दै नगर्नुस्, कुनै कुरा गर्न जरुरी छैन भन्ने भएको छ । उहाँले हेर्दा पनि हेर्नुहुन्न । एक र दुई नम्बर आनन्द ढुंगाना र जीवन परियारले हेर्नुहुन्छ । मैले र प्रदीप पौडेलजीले बागमती र गण्डकी हेर्छौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कल्याण गुरुङजी र योगेन्द्र चौधरीजीले हेर्नुहुन्छ ।

पार्टीले बनाइदिएको मापदण्ड कार्यान्वयन गर्ने कुरामा तपाईंलाई कहाँ के अवरोध आयो र बाँकी रहेकाको विवादित विषय केन्द्रमा पठाउने निर्णय गर्नुभयो ? मापदण्ड अनुसार बाँकी विवाद सटआउट किन गर्न सक्नुभएन ?

मापदण्ड सतप्रतिशत लागु हुने अवस्था नै थिएन । हामीले धेरै लागु गर्ने कोशिस गरेका छौं । कोरोनाका कारण समयमा डकुमेन्ट आउन सकेन र समयमा निर्णय पनि गराउन सकेनौं । नयाँ क्रियाशीलको हकमा चार तहको निर्णय गराउन ढिलो भयो । सय प्रतिशत मापदण्डमा जाने हो भने २० प्रतिशत सदस्य पनि बस्दैन थियो मत अहिले पनि भन्छु । मापदण्डमा अलिकति खुकुलो भएर नहेर्ने हो भने धेरै ठाउँमा समस्या उत्पन्न हुन सक्थ्यो ।

संस्थापन पक्षले मापदण्डमा खुकुलोपना अपनाएर पार्टी कब्जाको नीति लिएको यतिबेला संस्थापन इत्तर पक्षका आरोप छ । साँच्चै त्यस्तै नीतिका साथ काम भइरहेको हो ?

लुकाउनुपर्ने कुरा छ्रैन । यहाँ हामी सबै गुटका प्रतिनिधि छौं । ती प्रतिनिधिमध्ये संयोजकजी बाहिर बस्नुभएको छ । हामी एउटा–एउटा गुटबाट छौं । एउटा गुटका मान्छे बसेर हेरेका छौं । हाम्रो कमिटीबाट जति पनि निर्णय भए, सबै सर्वसम्मत भएका छन् ।  एक पक्षले कब्जा गरेको भनेर कसरी आरोप लगाउन सक्नुहुन्छ ? छानविन समितिका सात जनाले सर्वसम्मत गरेको निर्णयको स्वामित्व नलिनु बेइमानी हुन्छ ।

तर, छानविन समितिमाथि प्रश्न त बारम्बार उठिरहेको छ ?

बाहिरबाट हेर्दा सिध्याए कि, खत्तम पारे कि भन्ने हुन्छ । जस्तो– ४० लाख खाए भन्ने पनि आए । हामीले ४० लाख खाए नखाएको सारा मिडियाका साथीहरुलाई ल्याएर देखायौँ । त्यत्रो सामान ल्याएका थियौं । आशंका भरमा अभिव्यक्ति दिने हामी नेपालीको प्रचलन छ ।  यो मुलुकमा आशंका पनि धेरै गरिन्छ । तपाईं जति इमान्दार भए पनि यसले कति खायो होला । यो पत्रकार तेसै घुमेको होला र तलबको भरमा ? यो घरबार छोडेर कोभिडका बीचमा यहाँ आएर बसेको छ, कति भेटे छ र बसे छ ! त्यसै किन बसेको होला र यहाँ भन्दा हुन् मलाई पनि । यहाँ हरेक मान्छेमाथि आशंका बढी हुन्छ । तर, यहाँ बेइमानी पनि बढी हुन्छ । त्यसलाई म अस्वीकार गर्दिनँ ।

जहाँ बेइमानी अत्यधिक हुन्छ, त्यहाँ आशंका पनि ज्यादा हुन्छ । तर, हाम्रो समितिमा बस्ने साथीहरूबाट भुल बस त्रुटी भए होलान् । म अस्वीकार गर्दिनँ । मानवीय गल्ती हुन्छन् । तर, नियतबस गल्ती गरेका छौं । हामी यहाँ गुटगुटका प्रतिनिधि छौं । गुटगत पनि कसैमाथि अन्याय गरेजस्तो लाग्दैन । कसैले गलत देख्ने कुरा बेग्लै हो ।

किनभने मैले पढेको बायोग्राफीमध्ये सबैभन्दा असल मान्छे कोहो भन्दा महात्मा गान्धी भन्छु । धेरै मान्छेले पनि भन्दा होलान् असल भनेर । तर, गान्धीको मृत्यु गोली प्रहारबाट भयो । कसैले त देखे छ नि गान्धीलाई नमारी हुँदैन भन्ने । मान्छे अजात शत्रु पनि हुन सक्छ ।

तपाईं छानविन समितिबाट गल्ती भएको छैन भन्नुहुन्छ । तर पार्टीका शीर्ष नेताहरु नै सानेपा पुगेर घोर अन्याय भएको भन्दै धर्नामा बसेकाहरुलाई समर्थन गरिराख्नुभएको कुरालाई कसरी हेरिराख्नुभएको छ ?

यो विडम्वना हो । यसलाई मैले कसरी हेर्छु भने हलो अड्काएर गोरु कुट्ने उखानजस्तै हो । एकातिर हाम्रा कारणले महाधिवेशन हुन सकेन पनि भन्ने, अर्कोतिर कोही नेताहरु धर्नाका लागि प्रश्रय दिने र कोही नेता यहाँ समितिका मान्छे कुट्न पठाउने उदेकलाग्दो हर्कत देखिन्छ । यसले काममा डिस्टर्ब भइरहेको छ । ममाथि दुर्व्यवहार हुँदा दुई दिन काम हुन सकेन ।

यी सबै कुरा विडम्बनापूर्ण कुरा हुन् । उहाँको पनि यहाँ प्रतिनिधि छन् । ती गुटका पनि प्रतिनिधि छन् । आजसम्म सर्वसम्मत निर्णय भएको छ । कुनै पनि कुरामा अल्पमत बहुमत भएको छैन । त्यसको स्वामित्व ग्रहण गर्ने ? अनि दोष चाहिँ एक पक्षलाई मात्र लगाइदिने ? त्यो भए गुटगत प्रतिनिधि पठाउनु हुँदैन थियो यहाँ । दिनैपिच्छे गुट मिटिङ भएका हामीलाई पनि यहाँ थाहा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप