शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागमतीका प्रदेश प्रमुख फेरिन्छन्, सरकार पनि परिवर्तन हुन्छ : नेता बानियाँ

मङ्गलबार, १२ साउन २०७८, ११ : ०७
मङ्गलबार, १२ साउन २०७८

नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं चाँडै पदमुक्त हुने बताएका छन् । उनले बागमती प्रदेश सरकार समेत परिवर्तन हुने दावी गरे । 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न प्रदेशका प्रदेश प्रमुख फेर्न लागेको र सोही क्रममा बागमतीका प्रदेश प्रमुख प्रसाई पनि पदमुक्त हुने उनको भनाइ छ ।

रातोपाटीसँग कुराकानी गर्दै नेता बानियाँले चाँडै प्रदेश प्रमुखलाई पदमुक्त गरी  गठबन्धनको तर्फबाट प्रदेश प्रमुख नियुक्त गरिने बताए । 

उनले केन्द्र सरकारमा अब जनता समाजवादी पार्टी पनि समावेश भई मन्त्रिपरिषद विस्तार हुने र केही दिनमा नै विभिन्न प्रदेशका प्रदेश प्रमुख फेरिने उल्लेख गरे । 

उनले भने, ‘केन्द्रमा नेपाली काँग्रेसको नेतृत्वमा, नेकपा माओवादी केन्द्रसहित अन्य दलको सहकार्यमा सरकार विस्तार हुँदैछ । प्रधानमन्त्रीज्यूले केही दिनमा नै विभिन्न प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरि नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गर्नुभएको छ । बागमती प्रदेशमा पनि चाँडै नयाँ व्यक्तिलाई प्रदेश प्रमुखको रुपमा पाउनुहुनेछ ।’

सोही क्रममा उनले बागमती सरकार पनि परिवर्तन हुने बताएका हुन् । त्यसपछि केन्द्रमा जस्तै गठबन्धन सरकार बन्ने उनको भनाइ छ ।

उनले छिट्टै नेपाली काँग्रेसको क्रियाशिल सदस्यताको विवाद पनि समाधान हुने र निकास निस्कने पनि दावी गरे । 

स्वास्थ्य राज्यमन्त्रीप्रति भरोसा 
नेता बानियाँले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जनतालाई छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्ने र लामो समयदेखि कोरोना पीडित बनेका नेपाली जनताले उनकै कार्यकालमा खोप लगाउन पाउने बताएका छन् । 

उनले राज्यमन्त्री श्रेष्ठको नियुक्तिको सन्दर्भमा विभिन्न टिकाटिप्पणी भएपनि अहिले देखिएको भ्रमलाई गलत साबित गरेर देखाउने विश्वास व्यक्त गरे ।  श्रेष्ठले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरी जनताको जीवन रक्षा गर्ने उनको भनाइ छ ।
श्रेष्ठले संघर्ष गर्दै स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सफलता हासिल गरेकाले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीलाई सफलतापूर्वक पुरा गर्ने उनले विश्वास व्यक्त गरे । 

नेपाली समाजमा गरिखाने र ठगी खाने बर्ग रहेको बताउँदै बानियाँले श्रेष्ठ गरिखाएको व्यक्ति भएकोले स्वास्थ्य क्षेत्रमा रहेका अहिलेका समस्या समाधान गर्न सक्षम रहेको तर्क गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप