शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओलीका फेहरिस्त सुनाउँदै गगन थापाले भने– नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट छैन

मङ्गलबार, १२ साउन २०७८, २० : ००
मङ्गलबार, १२ साउन २०७८

 नेपाली काँग्रेसका नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका बेथिति औंल्याउँदै नयाँ सरकारलाई त्यस्तो कुनै पनि अपराध गर्ने छुट नभएको प्रस्ट पारेका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थापाले भने, ‘संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ । यो अध्यायको सुखान्तका लागि सरकार र संसद दुवैसँग नयाँ अपेक्षाहरु छन् ।’

उनले केपी ओली नेतृत्वको सरकारका बेथिति उजागर गर्दै अगाडि भने, ‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने, जनताको दुहाई दिने तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने, यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार ।’

उनले नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट नभएको बताए । ‘यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्छ,’ उनले भने, ‘न त यो संसदलाई बेवास्ता गर्न दिइने छ, न त कामविहीन बनाउन । न त मनोमानि ढङ्गले स्थगित गर्न दिइने छ न त छल्न । यो संसद सरकारसँग डराउने होइन । सरकार यो संसदसँग डराउनुपर्ने छ– सांसदको प्रश्नसँग, संसदको निगरानीसँग ।’ 

सांसद थापाले प्रधानमन्त्रीको मात्र नभएर सभामुख र यो संसद जोगाउन लाग्ने प्रत्येक सांसदको परीक्षाको घडी आएको बताए ।

‘संविधानको धाराले प्रतिनिधिसभा पुनर्स्थापना भयो अनि सांसदको अधिकारले सरकार,’ उनले भने, ‘अब सभामुख र हाम्रो कर्मले संसद र संविधानप्रति गुमेको जनविश्वास लाई पुनःस्थापित गर्नुपर्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप