शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोशी अस्पतालमा अक्सिजन प्लान्ट जडान, दैनिक एक सय सिलिन्डर ग्यास उत्पादन हुने

मङ्गलबार, १२ साउन २०७८, १५ : ४५
मङ्गलबार, १२ साउन २०७८

विराटनगरको कोशी अस्पतालमा मंगलबार अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्ट जडानसँगै परीक्षणसमेत सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालमा जडान गरिएको प्लान्टबाट उत्पादित अक्सिजन पाइपलाइनको माध्यमबाट अस्पतालमा उपचाररत बिरामीका लागि पठाउने कार्य थालिएको अस्पतालले जनाएको छ । 

नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसनको १ करोड ७ लाख रुपैयाँ सहयोगमा कोशी अस्पताल परिसरभित्र अक्सिजन प्लान्ट जडान गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले अक्सिजन प्लान्टबाट दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन हुने बताए ।

उनले कोभिड–१९ का बिरामीको उपचारका लागि छुट्टै युनिटसमेत सञ्चालन गर्दै आएको अस्पतालमा अक्सिजन प्लान्ट निर्माणसँगै अक्सिजनको व्यवस्थापनमा केही सहज हुने बताए ।

उनका अनुसार अहिले सो अस्पतालमा दैनिक २ सय सिलिन्डर अक्सिजन ग्याँस खपत हुँदै आएको छ । पछिल्लो समय गम्भीर र कडा लक्षण भएका कोरोना सङ्क्रमितको उपचारमा अक्सिजन अत्यावश्यक हुँदै आएको छ ।

कोशी अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि काठमाडौंस्थित डाइनोक्यामले ठेक्का पाएको थियो । गएको मंसिरमा सम्झौता भई वैशाख २५ गतेभित्र प्लान्ट जडान गर्ने गरी निर्माण कम्पनीसँग समझदारी भए पनि सम्झौता अवधि सकिएको तीन महिना ढिलो प्लान्ट निर्माण भई सञ्चालनमा आएको हो ।

अक्सिजन प्लान्ट जडानको कार्यमा संलग्न ठेकेदार कम्पनीका इन्जिनियर विजय आचार्यका अनुसार अस्पतालमा जडान गरिएको  अक्सिजन प्लान्टबाट प्रतिमिनेट ५ लिटर अक्सिजन उत्पादन हुन्छ ।

कोरोनाको दोश्रो लहर चलेपछि सङ्क्रमितको चाप बढ्दै जाँदा अस्पताल प्रशासनलाई अक्सिजनको व्यवस्थापन गर्न हम्मेहम्मे पर्दै आएको थियो । यसबाहेक अन्य गम्भीर बिरामीलाई पनि अक्सिजनको आवश्यकता पर्दा व्यवस्थापन गर्न समस्या भइरहेको समयमा अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट निर्माण भएसँगै कोशी कोभिड युनिटमा भर्ना भएका सङ्क्रमितको उपचारमा सहज हुने अस्पतालले जनाएको छ ।

केन्द्र सरकारको मातहतमा रहेको पाँच सय शय्याको कोशी अस्पतालमा दैनिक १ हजार बिरामी उपचारका लागि आउने गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप