शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सभा, जुलुस र भीड नागरिकको हितमा छैन : तारादेवी भट्ट

मङ्गलबार, १२ साउन २०७८, १६ : ००
मङ्गलबार, १२ साउन २०७८

राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले अहिलेको समयमा जुनसुकै राजनीतिक दलले इगो, तागत र दम्भको भरमा विभिन्न ठाउँमा सभा, जुलुस र भीड गर्ने कुरा नागरिकको हितमा नभएको बताएकी छन् । मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै भट्टले यस्ता विविध कार्यमा हिँड्नु नागरिकहरूको हितमा नभएको थाहा हुँदाहुँदै शब्दहरूको दुरुपयोग गरी हिँड्नु समय र परिस्थिति नसुहाउँदो भएको बताएकी हुन् ।

उनले विधिको शासन भ्रष्टाचार मुक्त समाज लोकतन्त्र एवं प्रजातन्त्रको रक्षाका लागि सबैजना एक ठाउँमा उभिनुपर्ने बताइन् । संविधान एकजुट भएर पारित गरेको, मिलेरै गणतन्त्र स्थापित भएको तर कोरोना विरुद्ध किन एकजुट हुन नसकेको, आ–आफ्नो बाटो कि हिँडिरहेको ? भन्दै प्रश्न गरिन् । उनले अहिले जनसरोकारको हित विपरित् हिँड्नु भनेको कोभिड–१९ लाई बढाउनु भएको बताइन् । उनले सबैले दम्भ र घमण्ड त्यागेर मात्रै सफल बन्न सकिने धारणा राखिन् । उनले बाढी, पहिरो, भूस्खलन, अधिक वर्षा जस्ता प्राकृतिक प्रकोपहरूबाट धेरै जनधनको क्षति भएको बताउँदै यसतर्फ सरकार र गृह मन्त्रालयले गम्भीर ध्यान दिनुपर्ने बताइन् । स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको तेस्रो लहरको चेतावनी दिइरहेकोले झनै सतर्क रहनुपर्ने बताइन् ।

उनले भनिन्, “जुनसुकै राजनीतिक दलले इगो तागत र दम्भको भरमा विभिन्न ठाउँमा सभा, जुलुस र भीड गर्नु नागरिकको हितमा छैन, यी विविध कुराहरूमा शब्दहरूको दुरुपयोग गरी हिँड्न समय र परिस्थिति नसुहाउँदो हो, यसरी हिँड्नु कोभिड १९ लाई बढाउनु हो, त्यसैले भ्रष्टाचार मुक्त समाज, लोकतन्त्र एवं प्रजातन्त्रको रक्षाका लागि सबैजना एक ठाउँमा हुनुपर्छ ।”

उनले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ३ वर्ष बितिसक्दा पनि किन पत्ता लाग्न सकेन भन्दै प्रश्न गरिन् । साथै उनले कसको निर्देशनमा प्रमाणहरू नष्ट गरेको र २४ घण्टामै निर्मलाको शवलाई महाकाली लगेर दाहसंस्कार गर्ने काममा प्रहरीले किन हतार गरेको भन्दै प्रश्न गरेकी छन् । उनले अबको सरकारले सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न माग गरिन् । उनले भनिन्, “निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ३ वर्ष बितिसकेको छ, अहिलेसम्म किन हत्यारा पत्ता लाग्न सकेन, कसको निर्देशनमा प्रमाणहरू नष्ट गरियो र २४ घण्टा नबित्दै किन निर्मलाको शवलाई महाकालीमा लगेर पुलिसले दाहसंस्कार गर्‍यो ? यसको सत्य तथ्य कुरा अबको  सरकारले बाहिर ल्याएर दोषीलाई कारबाही गर्नुपर्छ ।”  

उनले यो बजेट अध्यादेशबाट आएको र राष्ट्रिय सभाजस्तो गरिमामय जनतासँग सरोकार राख्ने सदन हुँदाहुँदै सरकारले बाइपास गरेर बजेट ल्याएको र सदन पनि स्थगित गरेर आएकोले बजेटलाई संसदीय छलफलमा ल्याउन माग गरेकी छन् ।

उनले भनिन्, “यो बजेट अध्यादेशबाट आएको हो, राष्ट्रिय सभाजस्तो गरिमामय जनतासँग सरोकार राख्ने सदन हुँदाहुँदै सरकारले बाइपास गरेर र सदन स्थगित गरेर बजेट ल्याएको छ, अब यसलाई संसदीय छलफलबाट ल्याउन सरकारसँग माग गर्दछु ।”

उनले बजार व्यवस्थामा मनपरी भइरहेकोले खाद्य पदार्थको गुणस्तर तर्फ ध्यान दिन सरकारलाई आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप