मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्न थाल्यो कोरोना संक्रमण, के गर्दैछ सरकार ?

यस्तो छ, साउन लागेपछिको संक्रमण तथा मृत्यु दर
मङ्गलबार, १२ साउन २०७८, २१ : २१
मङ्गलबार, १२ साउन २०७८



विगतमा केपी ओली नेतृत्वको सरकारले कोरोना रोकथाममा ध्यान नदिएको भन्दै काँग्रेस र माओवादीका नेताहरुले आलोचना गर्दै आएका थिए । अहिले शेरबहादुर देउवाको नेतृत्वमा  गठबन्धन सरकार बनेको दुई साता बितेको छ । यो अवधिमा कोरोना संक्रमणको दर दिनानुदिन बढिरहेको छ ।

​साउन महिना लागेपछिको अवस्था हेर्ने हो भने संक्रमण दरमा खासै कमी आएको छैन । साउन महिना लागेपछिको संक्रमण दर औसतमा २० प्रतिशतको हाराहारीमा देखिएको छ । यो १२ दिनमा औसतमा २ हजार ७८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

साउन महिना लागेपछि सबैभन्दा धेरै साउन १२ गते मंगलबार ३ हजार ८९९ जनामा संक्रमण देखिएको छ । यो असार ८ मा निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेपछि हालसम्मै उच्च हो । साउन १० गते २ हजार २३७ संक्रमित रहेकामा साउन ११ गते एकैदिन ३ हजार ४२१ जनामा संक्रमण देखिएको थियो । मंगलबार त्यसमा पनि वृद्धि भएर एकैदिन ३ हजार ८९९ जना पुगेको छ ।

 

पछिल्लो समय काठमाडौं उपत्यकामा पनि संक्रमणको दर बढ्दै गइरहेको छ । काठमाडौंका अधिकांश व्यापार व्यवसाय खुला हुनु तथा सवारीसाधन पनि चलेको कारण संक्रमणको दर बढेको जनस्वास्थ्यविद्को विश्लेषण छ ।

यस्तो छ, साउन लागेपछिको संक्रमण तथा मृत्यु दर

९ हजार बढीको ज्यान गयो

साउन १२ गते अपरान्ह ४ बजेसम्मको सरकारी तथ्यांक हेर्ने हो भने नेपालमा हालसम्म ६ लाख ८२ हजार ९४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये ६ लाख ४५ हजार ३०१ जना निको भई घर फर्किएका छन् । कोरोना लागेर बिरामी भएका मध्ये २७ हजार ९०८ जना अझै पनि सक्रिय संक्रमित छन् भने कोरोनाकै कारण ९ हजार ७३८ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा पहिलोपटक २०७६ साल माघ ९ गते पहिलोपटक कोरोना संक्रमित व्यक्ति भेटिएको थियो । यो त्यसपछिको तथ्यांक हो ।

२०७६ माघ ९ गतेदेखि २०७७ साउन ३ गतेसम्म अर्थात् पहिलो लहरको अवस्था हेर्ने हो भने १७ हजार ५०२ जनामा कोरोना संक्रमण भयो भने त्यतिबेला कोभिड परीक्षण गरिएकामध्ये ५ दशलमब ६ प्रतिशतमा पोजेटिभ देखिएको थियो । त्यसपछि औसतमा १ सय जनाको हाराहारीमा कोभिड संक्रमण भएमा २०७७ साल चैतको पहिलो साताबाट दोस्रो लहर सुरु भयो ।

भारतमा कोरोना संक्रमितको सङ्ख्या बढेसँगै यसको सिधा असर नेपालमा पनि पर्यो । वैशाख १६ गतेबाट सरकारले लकडाउन गरे पनि कोरोना संक्रमणको दर भने घट्न सकेन । २०७८ वैशाख २८ गते एकैदिन ९ हजार ३१७ जनामा कोभिड संक्रमण देखियो भने वैशाख २७ गते कोभिड टेष्ट गरिएका ५१ दशमलब ८ प्रतिशतमा पोजिटिभ देखियो । त्यसपछि पनि लामो समयसम्म संक्रमण दर र मृत्यु दर पनि खासै घट्न सकेन ।

यद्यपि जनस्तरबाट व्यापक दबाव आएपछि काठमाडौं उपत्यकामा असार ८ गतेदेखि लकडाउन खुकुलो बनाइएको थियो । त्यसपछि लकडाउन नभनी निषेधाज्ञा भन्दै केही खुकुलो बनाइएको थियो । सुरुमा जोर बिजोर प्रणालीबाट सवारीसाधन चलाएकामा पछि बिस्तारै सबैजसो व्यापार व्यवसाय र पसलहरु खोल्न दिइयो ।

फिल्म हल, जिम हल, क्लब लगायतका रात्रीकालीन व्यवसाय र स्वीमिङ पोखरीहरु खोल्न नदिए पनि धेरैजसो अन्य व्यवसाय भने खुल्न थाले । सबै व्यापार र व्यवसाय खुल्न थालेपछि कोरोना संक्रमणको दरमा भने कमी आउन सकेन ।

असार ७ गते १० हजार ९०४ जनाको कोभिट टेष्ट गरिएकामा २ हजार २९७ जनामा पोजेटिभ देखिएको थियो । उक्त दिन ४६ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।

लकडाउनलाई खुकुलो बनाई निषेधाज्ञाको मोडल अपनाएको दिन नै १६ हजार ९१३ जनाको नमुना लिँदा ४ हजार ५२२ जनामा पोजेटिभ देखिएको थियो । यद्यपि सरकारले निषेधाज्ञामा जाने भन्दै बिस्तारै सबै कुरा खुकुलो बनाउन थाल्यो ।

भीडभाड बढ्यो, अर्को लहर चाँडै आउँछ : विज्ञ

सरकारले लकडाउन हटाएर निषेधाज्ञाको व्यवस्था गरेसँगै कोरोना संक्रमणको ग्राफ पनि घट्नुको साटो बिस्तारै बढ्दै गएको देखिन्छ । स्वास्थ्य मापदण्डको पालना नगरी भीडभाड र व्यवसाय सञ्चालन हुँदा संक्रमणको ग्राफ बढिरहेको जनस्वास्थ्यविद्को भनाइ छ ।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी कोरोना संक्रमणको जोखिम कायम रहेका बेला गरिने भिडभाडले अर्को लहर चाँडै आउने दाबी गर्छन् । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड पालना नगर्नेहरू बढेकाले संक्रमण दर बढ्ने र तेस्रो लहर पनि चाँडै आउने मरासिनीको चिन्ता छ । मरासिनीले भने, ‘जोखिम अझै घटेको छैन, कोरोना तीब्र रूपमा फैलिने तयारी अवस्थामा छ । यसैगरी भिड, प्रदर्शन, सभा सम्मेलन, जनस्वास्थ्यका नियम उल्लंघन आदिले महामारी झनै बढ्छ ।’

साउन ११ गते स्वास्थ्य मन्त्रालयले जारी गरेको वर्तमान अवस्था र आगामी कार्यदिशामा पनि असोजको पहिलो सातादेखि नै कोरोना संक्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरेको छ । तेस्रो लहरमा दैनिक कति जनासम्म संक्रमित हुन सक्छन् भन्ने नखुलाएको भए पनि त्यो अहिलेको भन्दा खतरनाक हुन सक्ने चिन्ता गरिएको छ ।

मृत्युदरमा कमी

पछिल्लो समय कोरोना संक्रमणमा वृद्धि हुन थालेको भए पनि बिरामीको मृत्युमा भने केही कमी आएको छ । कोरोना संक्रमणको दोस्रो लहरमा झण्डै २ प्रतिशत हाराहारीमा बिरामीको मृत्यु भएकामा अहिले भने त्यो १ प्रतिशतभन्दा तल झरेको छ ।

पछिल्लो १२ दिनमा ३३ हजार ३८० जना कोरोना संक्रमित हुँदा २९५ जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितको शुन्य दशमलब ८८ प्रतिशत हो । पछिल्लो समय अस्पतालमा बेडको उपलब्धता, अक्सिजन तथा औषधिको आपूर्ति लगायतका कारण पनि मृत्युदरमा कमी आएको हो ।

सरकारको पूर्वतयारी के छ ?

सरकारले कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि हालसम्म १४ अर्ब ५४ करोड खर्च गरिसकेको छ । यस आर्थिक वर्षमा खोप खरिद लगायतका अन्य रोकथामका कामका लागि भन्दै ३६ अर्ब ५७ करोड बजेट विनियोजन गरेको छ ।

कोरोना रोग रोकथाम र नियन्त्रणका लागि सरकारले खोपलाई नै पहिलो प्राथमिकतामा राखेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साउन १० गतेसम्मको तथ्यांक हेर्ने हो भने ३४ लाख ५ हजार १५४ जनाले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् । कुल लक्षित वर्गमध्ये १५ दशमलब ८ प्रतिशतले पहिलो मात्रा पाएका छन् । दुबै मात्राको खोप लगाउनेको सङ्ख्या १४ लाख ३० हजार ४१६ रहेको छ । जुन कुल लक्षित जनसङ्ख्याको ६ दशमलब ६ प्रतिशत हो ।

सरकारले आगामी असोज मसान्तसम्म लक्षित वर्गमध्ये ३३ प्रतिशत र चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाउने योजना बनाएको छ ।

त्यसैगरी उपचारतर्फ देशभरका निजी र सरकारी गरी १५७ अस्पतालमा कोरोना उपचार हुने सरकारले जनाएको छ । कोरोनाको दोस्रो लहर आउनुभन्दा अगाडि देशभर जम्मा २ हजार ६०० आइसियु बेड रहेकामा दोस्रो लहरपछि ४ सय आइसियु बेड थप गरी ३ हजार बेड पुराइएको छ । आगामी असोजभित्रै थप ६३० आइसियु बेड थप गर्ने गरी सरकारले काम गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसै हालसम्म ९०० को सङ्ख्यामा रहेको भेण्टिलेटर असोज १५ भित्रै १८० थप गरी १ हजार ८० पुराउने मन्त्रालयको तयारी छ ।

त्यसैगरी एचडियु युनिटको सङ्ख्या हाल २ हजार ८५३ रहेकामा अब १ हजार ४०० थप गरी ४ हजार २५३ पुराउने गरी सरकारले काम गरिरहेको छ ।

त्यस्तै तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै १ सय ८० वटा भेण्टिलेटर सहित २७५ आइसियु बेड थप गर्ने सरकारी लक्ष्य छ ।

त्यसैगरी पहिले प्रतिहप्ता १५ मेट्रिक टन अक्सिजन उत्पादन भइरहेकोमा अहिले प्रतिहप्ता १२० मेट्रिक टन उत्पादन भइरहेको र आगामी असोज १५ गतेभित्र अक्सिजन प्लान्ट थप गर्ने गरी काम गरिरहेको सरकारले जनाएको छ ।

त्यसैगरी सिमानाकामा कडाई गर्नका लागि होल्डिङ सेन्टरको स्थापना, एण्टीजेन टेष्ट लगायतका तयारी थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि हालसम्म कति होल्डिङ सेन्टर स्थापना भयो भन्ने एकिन तथ्यांक भने सरकारले उपलब्ध गराएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप