शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेपाटाइटिस रोग र निदानका उपाय

बुधबार, १३ साउन २०७८, ११ : १२
बुधबार, १३ साउन २०७८

हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्छ । अन्य मौसमभन्दा वर्षातको समयमा बढी देखा पर्छ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एड्सभन्दा पनि खतरनाक मानिन्छ । हेपाटाइटिसबाट मर्नेको सङ्ख्या एड्सबाट मर्नेको सङ्ख्याभन्दा १० गुणा बढी छ । मानव शरीरमा कलेजो महत्त्वपूर्ण अङ्ग हो । यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको सङ्क्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । मुख्य रूपमा हेपाटाइटिस भाइरस ‘ए’ ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ पछन् । संसारमा १४ लाख व्यक्तिलाई प्रत्येक वर्ष हेपाटाइटिस ‘ए’ले आक्रमण गर्छ भने २ करोड हेपाटाइटिस ‘बी’ को शिकार भएको पाइन्छ । हेपाटाइटिस ‘सी’ले भने १५ करोडलाई आक्रमण गरिसकेको छ । प्रत्येक वर्ष करिब १० लाखको मृत्यु हेपाटाइटिसबाट भइरहेको छ भने ७८ प्रतिशत कलेजोको क्यान्सरको कारण हेपाटाइटिस ‘बी’ र ‘सी’ देखिएको छ ।

हेपाटाइटिस ‘ए’

हेपाटाइटिस ‘ए’ (पहिले सङ्क्रामक हेपाटाइटिसको रूपमा परिचित) एक जीर्ण सङ्क्रामक रोग हो । यो हेपाटाइटिस ‘ए’ भाइरस ९ज्ब्ख्० को कारणले गर्दा कलेजोमा हुने गर्छ । धेरै मामिलाहरूमा केही मात्र लक्षणहरू देखिन गर्छ वा नदेखिनसमेत सक्छ, विशेषगरी भर्खरका बच्चाहरूमा । लक्षण देखिने व्यक्तिहरूमा, सङ्क्रमण भएको दुईदेखि छ हप्ताको बीचमा लक्षण देखापर्ने गर्छ । लक्षण देखिँदा सामान्यतया तिनीहरू आठ हप्तासम्म देखा परिरहन्छन्, जसमा निम्न पर्न सक्छन्– वाकवाकी लाग्ने, वान्ता हुने, पखाला लाग्ने, छाला पहेँलो हुने, ज्वरो आउने र पेट दुख्ने । लगभग १० देखि १५ प्रतिशत मानिसले प्रारम्भिक सङ्क्रमणपछि छ महिनासम्म यी लक्षण बारम्बार अनुभव गर्छन् । जीर्ण कलेजो खराबी (कलेजोले काम गर्न छाडेको अवस्था) पनि हुन सक्छ । तर यो बिरलै रूपमा हुने गर्छ र प्रायः वृद्धवृद्धाहरूलाई हुने गर्छ ।

यो सामान्यतया सङ्क्रमित दिसा मिश्रित खाना वा पानीले फैलिने गर्छ । पर्याप्त रूपमा नपकाइएका सिपदार माछा तुलनात्मक रूपमा यसको सामान्य स्रोत हो । यो सङ्क्रमित व्यक्तिसँग नजिकबाट सम्पर्क गर्नाले पनि फैलन सक्छ । सङ्क्रमित बालबालिकामा प्रायः लक्षणहरू नदेखिने भए तापनि उनीहरूबाट यो सङ्क्रमण अन्यमा सर्न सक्छ । एक पटक सङ्क्रमित भएपछि उक्त व्यक्ति जीवनभर यसबाट फेरि सङ्क्रमित हुँदैन । यो रोग लागेको पत्ता लगाउन रगत परीक्षण गर्न आवश्यक हुन्छ किनभने यसका लक्षण अन्य केही रोग लाग्दा देखिने लक्षण जस्तै हुन्छन् । पाँचवटा ज्ञात हेपाटाइटिस भाइरसमध्ये एक हो– ए, बी, सी, डी, र ई ।

रोकथामका लागि हेपाटाइटिस ‘ए’ खोप प्रभावकारी हुन्छ । केही देशहरूमा पहिले खोप नलगाएका बालबालिकाहरू र उच्च जोखिममा रहेकाहरूका लागि यसलाई नियमत सिफारिस गरिएको हुन्छ । यो जीवनभरका लागि प्रभावकारी रहेको देखिएको छ । यो रोग रोकथामका अन्य उपायमा हात धुने र खानेकुरालाई राम्ररी पकाउने आदि पर्छ । यसको कुनै निश्चित उपचार छैन । वाकवाकी वा पखाला लागेमा आवश्यकताअनुसार विश्राम र औषधिको सिफारिस गरिन्छ । सङ्क्रमण सामान्यतया कलेजोको रोगसहित पूर्ण रूपमा निको हुन्छ । कलेजोमा खराबी भयो भने पनि प्रत्यारोपण हो ।

प्रत्येक वर्ष विश्वभर लगभग १५ लाख मानिसमा यो रोगका लक्षण देखिने गर्छ । सम्भवतः सयौँ लाख सङ्क्रमण हुने गर्छ । यो रोग सरसफाइको अवस्था एकदमै नाजुक भएका र शुद्ध पिउने पानी उपलब्ध क्षेत्रमा बढी देखिने गर्छ । विकासशील मुलुकका लगभग ९० प्रतिशत बालबालिका दस वर्षको उमेरसम्ममा यो रोगबाट सङ्क्रमित भइसकेका हुन्छन् । त्यसकारण वयस्क हुँदा उनीहरूमा यो रोगको प्रतिरक्षा प्रणाली विकास भइसकेको हुन्छ । सामान्य रूपमा विकसित देशहरूमा यसले प्रकोपको रूप लिने गर्छ, जहाँ बालबालिकहरू सानै छँदा यसको सम्पर्कमा आउँदैनन् र व्यापक रूपमा खोप लगाइएको पनि हुँदैन । सन् २०१० मा, जीर्ण हेपाटाइटिस ‘ए’को कारणले गदा एक लाख दुई हजार जनाको मृत्यु भएको थियो । भाइरल हेपाटाइटिसको बारेमा जागरुकता फैलाउन प्रत्येक वर्ष जुलाई २८ का दिन विश्व हेपाटाइटिस दिवस मनाइने गरेको छ ।

हेपाटाइटिस ‘बी’

हेपाटाइटिस ‘बी’ मानिसमा मात्र लाग्ने हेपड्ना समूहको डीएनए भाइरसबाट सर्ने रोग हो । विश्वमा ४० करोड व्यक्ति यस रोगका सिकार भइरहेका छन् । यीमध्ये १५ देखि ४० प्रतिशत मानिस सिरोसिस वालिभर क्यान्सरबाट पीडित छन् भने कसैको अकालमा मृत्यु भइरहेको छ । विकसित देशहरू अमेरिका र युरोपमा एक्युट लिभर फेलरका बिरामीको समयमा लिभर ट्रान्सप्लान्टेसनले गर्दा मृत्यु घटेर गएको छ र बृहत् खोप कार्यक्रमले गर्दा नयाँ बिरामीको सङ्ख्या घटेको छ भने क्रोनिक हेपाटाइटिस ‘बी’ र लिभर क्यान्सरका बिरामी बढिरहेका छन् ।

सन् १९८० को सुरुबाट हेपाटाइटिस ‘बी’विरुद्ध प्रभावकारी खोप कार्यक्रम थालेपछि यो रोगको महामारीमा कमी आएको छ । यो रोग संसारभर फैलिएको छ । सबभन्दा बढी दक्षिण पूर्वी एसिया (जापानबाहेक) को चाइना र अफ्रिकी मुलुकका मानिस बढी प्रभावित छन् । त्यहाँ करिब ८ प्रतिशतभन्दा बढी जनसङ्ख्या यो रोगबाट ग्रस्त छन् । जसलाई क्रोनिक हेपाटाइउिटस ‘बी’ क्यारियर भनिन्छ । त्यस्ता क्यारियरहरु ६० देखि ८० प्रतिशत मानिसको जीवनको कुनै पनि समयमा सिकार बन्छन् ।

त्यस्तै, नेपालमा पनि ०.८ प्रतिशत जनसङ्ख्या क्रोनिक हेपाटाइटिस बीबाट सङ्क्रमित छ ।  यहाँ गरिएका केही अध्ययनले हिमाली भेगमा बस्ने बहुसङ्ख्यक तिब्बतीयन समुदायका मानिस, लामा, भोटेहरु करिब ५ देखि १० प्रतिशत यो भाइरसबाट सङ्क्रमित फेला परेका छन् । अफ्रिका, पूर्वी युरोप, मध्यपूर्वी एसिया र इन्डियन सबकन्टिनेन्टमा बस्ने मानिसमा जीवनको कुनै पनि समयमा यो रोग सर्ने खतरा २० देखि ६० प्रतिशतसम्म रहेको छ र नेपाल पनि त्यसभित्र पर्छ ।

सर्ने माध्यम 

हेपाटाइटिस ‘बी’ मुख्यगरी तीन किसिमको माध्यमबाट सर्छ ।

प्रत्यक्ष सम्पर्क

प्रमुख माध्यम भनेको प्रत्यक्ष सम्पर्कबाट हो । जस्तै यौन सम्पर्क (पुरुष–पुरुष, महिला–पुरुष) त्यस्तै बिरामीको शरीरबाट निस्कने विभिन्न तरल पदार्थहरूको सम्पर्कबाट (वीर्य, ¥याल, पसिना, आँसु, पेटभित्रका रसहरु आदि) बाट सर्छ ।

रगतको माध्यम 

दोस्रो तरिका रगतको माध्यम हो । जस्तैः दूषित र ब्लड प्रोडक्ट ट्रान्सफ्युजनले गर्दा, ड्रगको कुलतमा फसेकाहरूले एउटै सुई धेरैले प्रयोग गर्दा, दाह्री काट्ने ब्लेड, दाँत माझ्ने ब्रस सेयर गर्दा पनि सर्न सक्छ । हेपाटाइटिस क्यारियर अङ्गदान (मिर्गाैला, मुटु, कलेजो आदि) बाट पनि सर्न सक्छ ।

रोगी आमाबाट 

   तेस्रो माध्यम भनेको रोगी आमाबाट जन्मेका बच्चाहरूमा सर्छ । यो भाइरस एचआईभी भाइरसभन्दा ५० देखि १०० गुणा र हेपाटाइटिस सीको भाइरसभन्दा १० गुणा बढी सङ्क्रमण गर्ने क्षमता हुन्छ ।

क्लिनिकल कोर्स

हेपाटाइटिस ‘बी’ भाइरस मानव शरीरभित्र प्रवेश गरेपछि यसले आफ्नो उपस्थिति जनाउन वा लक्षण देखाउन चार हप्तादेखि छ महिनासम्म लाग्छ । वयस्क अवस्थामा रोग प्रवेश गर्दा ९० देखि ९९ प्रतिशत एक्युट एबीभीका रूपमा देखापर्छ । त्यसमध्ये लक्षण देखाउने २५ प्रतिशत मात्र बिरामी हुन्छन् र त्यसको १ प्रतिशतको लिभर फेलर भएर मृत्यु हुन्छ । ६५ प्रतिशतले रोगको कुनै लक्षण देखाउँदैन । लक्षण र बिनालक्षणबाट प्रभावित बिरामी ९९ प्रतिशतभन्दा बढी आफैँ निको भएर जान्छन् र शरीरमा भाइरस देखिँदैन । इन्फेक्सन भएकामध्ये १ देखि १० प्रतिशत बिरामी क्रोनिक हेपाटाइटिस बीमा परिणत हुन्छन् र तीमध्ये १० देखि ३० प्रतिशत २० वर्षपछि मात्र लिभर सिरोसिस र लिभर क्यान्सरबाट ग्रसित हुन्छन् । ७० देखि ९० प्रतिशत व्यक्ति केवल हेपाटाइटिस ‘बी’को क्यारियर (अरूलाई सार्न सक्छन् तर आफूमा देखिँदैन) भएर लामो समयसम्म जिउन सक्छन् । राम्रो जीवनशैली र उपचार नगर्दा अन्तिम अवस्थामा उनीहरूमा पनि सिरोसिस र लिभर क्यान्सर हुन सक्छ ।

लक्षण  

हेपाटाइटिस ‘बी’ रोग दुई किसिमको हुन्छ । एक्युट र क्रोनिक एक्युट हेपाटाइटिस ‘बी’को ६५ प्रतिशत सङ्क्रमण सुषुप्त हुन्छ र बिरामीले आफूमा कुनै रोगको महसुस गर्दैन भने ३५ प्रतिशत सङ्क्रमितमा हेपाटाइटिस एजस्तै लक्षणहरु शरीर दुख्ने, घुँडा दुख्ने, अति साह्रो ज्वरो आउने, खानामा अरुचि हुने, माथिल्लो पेट फुलेर आउने, दायाँपट्टि असजिलो महसुस हुने, वाकवाकी लाग्ने, बान्ता आउने, आँखा पहँेलो हुने लक्षण देखा पर्छन् । यीमध्ये १ प्रतिशत बिरामीको एक्युट लिभर फेलिएर भएर मृत्यु हुन्छ ।

क्रोनिक हेपाटाइटिस ‘बी’ भनेको बिरामीको शरीरमा हेपाटाइटिस ‘बी’का भाइरस नगन्यदेखि प्रशस्त मात्रामा हुन्छन् र सुरु २० देखि ४० वर्षसम्म कुनै लक्षण देखिँदैन । अन्त्यमा गएर लिभर सिरोसिस लिभर काम नलाग्ने भई काठजस्तो कडा भएर जम्ने अवस्था, लिभर क्यान्सर र लिभर फेलर भएर मृत्युशय्यामा पु¥याउँछ । लिभर सिरोसिस हुँदा हाम्रो शरीरलाई दैनिक चाहिने प्रोटिन, महत्त्वपूर्ण इन्जाइम र को–फ्याक्टरको उत्पादन घटेर जान्छ र भिटामिन, आइरन, मिनरल्सको भण्डारण घट्छ । हामीले खाएका खानेकुरा र औषधि सबैको मेटाबोलिजम र निष्कासन लिभरबाट हुने भएकाले यो नै कमजोर भई काम नलाग्ने भएपछि शरीरको सबै प्रणालीमा असर गर्छ । शरीरलाई चाहिने चिजहरूको कमी हुन्छ र विशालु चिजहरु शरीरमा सङ्कलित भइरहन्छ ।

जसले दिमागमा असर परी अर्धचित्त र बेहोसी अवस्थामा बिरामीलाई पु¥याउँछ । अहिलेको एन्टिभाइरल औषधि पत्ता लगाउनुभन्दा पहिला कलेजोको सिरोसिस भइसकेपछि ५ वर्षसम्म बाँच्ने क्षमता जम्मा ५५ प्रतिशत थियो र सिरोसिस नभएर हेपाटाइटिस मात्र हुँदा ९७ प्रतिशत भएको केही अध्ययनलाई देखाएका छन् । हेपाटाइटिस बी भाइरस डीएनए भाइरस हो । एक्युट इन्फेक्सन हुँदा ६ हप्तादेखि ३ महिनासम्म एचबीएसएजी देखिन्छ र पछि हटेर जान्छ । एचबीएसएजी सुरुमा निकै बढ्छ र तुरुन्तै हटेर जान्छ । शरीरमा एन्टी एचबीएसएबी इन्फेक्सन भएको धरै समयपछि पैदा हुन्छ र हेपाटाइटिस बीका विरुद्ध रोग निरोधक शक्ति पैदा भएको छ भन्ने जनाउँछ । शरीरमा पैदा हुने पहिलो एन्टिबडी एन्टी एचबीसी हो  ।

आईजीएम एन्टी एचबीसीले एक्युट इन्फेक्सन भएको छ र शरीरमा भाइरस निकै बढिरहेका छन् भन्ने कुरा जनाउँछ र धेरै महिनासम्म रहन्छ । आईजीएम एन्टी एचबीसीले लगत्तै हेपाटाइटिस ‘बी’को सङ्क्रमण भएको छ भन्ने सङ्केत दिन्छ र यो समयमा एचबीएसएजी हटिसकेको हुन्छ र सिरममा एन्टी एचबीसी बनिसकेको हुँदैन । एन्टी एचबीई एन्टिबडी एन्टी एचबीसी एबी बनिसकेपछि मात्र बन्छ र यसले हेपाटाइटिस बीको सङ्क्रमण घटेर गएको र सङ्क्रमण गर्ने शक्ति कम भएर गएको जनाउँछ ।

क्रोनिक हेपाटाइटिस बीको रगत परीक्षण गर्दा एचबीएसएजी सधैँ देखिन्छ र यो दीर्घकालीन सङ्क्रमण (क्यारियर) हो भन्ने जनाउँछ । एचबीईएजी पोजिटिभ देखिएमा यसको सङ्क्रमण शक्ति बढी छ र रोगले महामारीको रूप लिन सक्छ । यसले कलेजो खराब हुँदैछ भन्ने जनाउँछ । यति बेला लिभर इन्जाइमको मात्रा बढेर जान्छ र एचबीभी डीएनए भाइरसहरूको वृद्धि भइरहेको हुन्छ ।

हेपाटाइटिस ‘बी’का १० वटा जिनोटाइप (ए–जे) छन् र भौगोलिक आधारमा यिनीहरूले आफ्नो विशेषता जनाउँछन् । दक्षिणपूर्वी एसिया, जापान, इन्डिया र नेपालमा जिनोटाइप बी र सी पाइन्छ । जिनोटाइपअनुसार हेपाटाइटिस बीले आफ्नो रोगको स्वरूप जनाउँछ । जेनोटाइप बीले जेनोटाइप सीले भन्दा एचबीईएजीको परिवर्तन र एचबीएसएजी बिरामीको शरीरबाट हटाएर जाने क्षमता कम राख्छ तापनि कलेजोको खराबी ‘सी’कोे तुलनामा ‘बी’ले कम गर्छ । लिभर क्यान्सर हुने खतरा ‘बी’मा ‘सी’भन्दा बढी देखिन्छ ।

उपचार 

क्रोनिक हेपाटाइटिस बीको औषधि उपचारको मुख्य उद्देश्य भनेको कलेजोलाई नष्ट हुन दिनबाट बचाउने हो । यसको जटिल रूपमा परिवर्तन हुन, जस्तै लिभर सिरोसिस, लिभर फेलिएरबाट बचाउनु र बिरामीको आयु बढाउनु हो । यसमा प्रयोग हुने औषधिले हेपाटाइटिस बीका भाइरसलाई वृद्धि हुनबाट रोक्छ । एचबीईएजीलाई नेगेटिभ बनाउँछ र एबीभी डीएनए भाइरल लोड घटाउँछ । केही प्रतिशत बिरामीमा भाइरसलाई निर्मूल पार्छ ।

रोकथाम

हेपाटाइटिस बीको रोकथामको सबैभन्दा राम्रो उपाय हेपाटाइटिस बीको भ्याक्सिन लगाउनु हो । उच्च रिस्क ग्रुपमा पर्ने समुदायहरु जसले हेपाटाइटिस बीका बिरामीलाई दैनिक सेवा दिनुपर्छ, सम्पर्कमा रहनुपर्छ साथै उनीहरूलाई सेवा दिँदा उनीहरूकोे शरीरबाट निस्केको तरल पदार्थ साथै रगतसँग काम गर्नुपर्छ । साधारण तया हेपाटाइटिस बी भ्याक्सिन तीन डोजमा लगाइन्छ । ०, १ र ६ महिनाको अन्तरमा लिइन्छ । अहिलेको विस्तारित खोप कार्यक्रमअनुसार बच्चालाई डीपीटी र पोलियो भ्याक्सिनसँगै हेपाटाइटिस बी भ्याक्सिन दिइन्छ । एचआईभीका बिरामी, क्यान्सर र अन्य रोगबाट इम्युनो कम्प्रोमाइज्ड व्यक्तिमा चार डोज हेपाटाइटिस बीको खोप लगाउँदा उपयुक्त हुन्छ । 

लेखक भेटेरिनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वरका सेवा निवृत्त वरिष्ठ पशु चिकित्सक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. केदार कार्की
डा. केदार कार्की
लेखकबाट थप