शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् माओवादीका सम्भावित मन्त्री

बुधबार, १३ साउन २०७८, १२ : २०
बुधबार, १३ साउन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत साता पेरिसडाँडामा आयोजित एक कार्यक्रममा आफ्नो पार्टीका ४९ जनै सांसदलाई मन्त्री चाहिएको र यसले गर्दा आफू बेचैन भएको बताएका थिए ।

अन्ततः माओवादीले ४९ सांसद मध्येबाट मन्त्री बन्ने सम्भावित नामहरूको ‘सर्ट लिस्ट’ तयार पारेको छ । सर्ट लिस्टमा १३ जना नेताको नाम छ । माओवादीले ६ जनासम्म मन्त्री पाउने सम्भावना छ । दुई जना, पम्फा भुसाल र जनार्दन शर्मा यसअघि नै मन्त्री बनिसकेका छन् ।

माओवादी स्रोतका अनुसार प्रदेश १ बाट सुरेशकुमार राई, सुदन किराती र अमनलाल मोदीमध्ये एक जनालाई मन्त्री बनाउने तयारी छ ।

प्रदेश २ बाट मात्रिका यादवको नाम आएको छ ।

बागमती प्रदेशबाट हरिबोल गजुरेल, शशी श्रेष्ठ र अञ्जना बिसंखेमध्येबाट एकजना मन्त्री हुने माओवादी स्रोतले बतायो । हरिबोललाई पठाइएको अवस्थामा उनले पार्टीका तर्फबाट सरकारको नेतृत्व गर्ने माओवादीका नेताहरू बताउँछन् । त्यो अवस्थामा उनी उपप्रधानमन्त्री पनि बन्न सक्छन् ।

तर, सरकारमा पार्टीको नेतृत्वमा हरिबोलले गर्ने कि नारायणकाजी श्रेष्ठले गर्ने भन्ने टुङ्गो लागिसकेको छैन ।

​गण्डकीको प्रतिनिधित्व हुने गरी नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल र हरि अधिकारीको नाम सर्ट लिस्टमा परेको छ । उनीहरूमध्ये एकजना मन्त्री बन्ने स्रोतले बतायो । यी तीन नाममध्ये नारायणकाजी श्रेष्ठलाई माओवादीबाट उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्ने गरी पठाउने सम्भावना बढी देखिएको माओवादी नेताहरू बताउँछन् । तर, बागलुङका सांसद देवेन्द्र पौडेलले एकपटक पनि मन्त्री नबनेको स्थायी कमिटी सदस्य भएकाले आफूले अवसर पाउनुपर्ने बताउँदै आएका छन् ।

लुम्बिनीबाट महेश्वर गहतराज र जयपुरी घर्तीको नाम चर्चामा छ । उनीहरूमध्ये एकजना मन्त्रीमा पर्ने भएका छन् । महिला र दलितको कोटा मिलाउँदा दुई मध्ये एकजना पर्न सक्ने स्रोतले बतायो ।

कर्णालीबाट जनार्दन शर्मा मन्त्री बनिसकेका छन् । सुदूरपश्चिमबाट थारु समुदायका हरिराम चौधरीको नाम चर्चामा छ ।

वर्षमान पुन, शक्तिबहादुर बस्नेत ओली सरकारका पालामा मन्त्री बनिसकेको हुनाले उनीहरु सर्ट लिस्टमा परेका छैनन् । त्यस्तै शशी श्रेष्ठ र जयपुरी घर्ती संसदीय समितिको सभापति रहेका छन् । उनीहरुको हैसियत पनि राज्यमन्त्रीको सरह हुन्छ ।  

बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडो मन्त्रीहरूको नाम टुङ्गो लगाउन प्रचण्डलाई आग्रह गरेका थिए । प्रचण्डले एक–दुई दिनमै मन्त्रीहरूको नाम पठाउने बैठकमा बताए ।

गठबन्धनका शीर्ष नेताहरूले आजै बैठक बसेर थप छलफल गर्ने बालुवाटारमा सहमति भएको स्रोतले बतायो । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप